धनगढी : सुदूरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ र स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा (JSR) गोष्ठीमा भेटिनुभयो यौनिक अल्पसंख्यक भित्रको ‘तेस्रो लिङ्गी सरस्वती राना’ । गोष्ठीमा उहाँले लैङ्गिक समता तथा सामाजिक समावेशीकरण बिषयगत समूहमा सक्रिय पूर्वक भाग लिएर तेस्रो लिङ्गीले घर समाजमा खानेपानी र सरसफाइ सम्बन्धी भोग्नुपर्ने समस्याहरु र समाधानका उपायहरु पनि सुझाउनुभयो ।
महिलाको शौचालयमा जाँदा ‘तपाई पुरुष भएर पनि किन यहाँ आएको ?’ भनेर गाली खाईने र पुरुषको शौचालयमा जाँदा पनि उस्तै दुर्व्यवहारको सामना गर्नुपरेको बताउनुभयो ।
संयुक्त क्षेत्रगत समीक्षा (JSR) अन्तर्गतको ‘लैङ्गिक समता तथा सामाजिक समावेशीकरण’ कार्य समूहको समन्वयमा आयोजना भएको गोष्ठी भएकाले पनि सबै लिङ्ग र सामाजिक रुपमा असमावेशीमा परेकाहरुलाई अझ बढी सहभागिताका लागि प्रोत्साहित गरिएको थियो ।
गोष्ठीमा लैङ्गिक तथा सामाजिक रुपमा सबैको समावेशीतालाई जोड दिएका हुनाले पनि तेस्रो लिङ्गी सरस्वती रानाको उपस्थिति सम्भव भएको थियो । उहाँ जस्तै सामाजिक रुपमा अग्रपङ्तिमा आउन नसकेका दलित महिला, सरसफाइकर्मी, अपाङ्गता भएका व्यक्ति लगायतको सहभागिता समेत सुनिश्चित गरिएको थियो ।
तेस्रो लिङ्गी, दलित महिला तथा अपाङ्गता भएका व्यक्ति लगायतको सहभागितामा ‘लैङ्गिक समता तथा सामाजिक समावेशीकरण’ समूहले यौनिक, अल्पसंख्यक, दलित समुदाय, विपन्न वर्ग, अपाङ्गता समुदायका व्यक्तिलाई हुने विभेदको निराकरण गर्नुपर्ने, यौनिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्तिलाई शौचालय र सरसफाइमा सहज पहुँच हुनुपर्ने लगायत बिषयको उजागर गरेका छन् ।
उक्त समूहको सहजीकरण गर्नुभएकी वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की सिनियर वास अफिसर एवं जेसी विशेषज्ञ सिर्जना कार्की भन्नुहुन्छ ‘खानेपानी तथा सरसफाइ सम्बन्धी हुने कुनै पनि कार्यक्रममा यौनिक रुपमा अल्पसंख्यक व्यक्तिहरुलाई कहीं कतै पनि सहभागिता गराएको पाएन ।’ दलित महिलाहरुलाई सहभागिता गराएको भए पनि उनीहरुको आवाजलाई स्थान नदिएको अवस्था भेटिएको उहाँले बताउनुभयो ।
यसैको आधारमा आफूहरुको समूहले दलित महिला, यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, विपन्न वर्गलाई नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता गराईनुपर्ने बुँदा राखेको उहाँले बताउनुभयो ।
सरसफाइको मुद्दा, यौनिक अल्पसंख्यकका लागि छुट्टै चर्पी भए ढुक्क
संयुक्त क्षेत्रगत समीक्षा (JSR) मा सहभागी तेस्रो लिङ्गी सरस्वती पुनसँग हामीले सोध्यौं ‘खानेपानी तथा सरसफाइ सम्बन्धी के कस्ता समस्या भोग्दै आउनुभएको छ ?’ उहाँले आफूहरुका लागि छुट्टै शौचालयको व्यवस्था नहुँदा यौनिक रुपमा अल्पसंख्यकहरुले शौचालयमै दुर्व्यवहार बेहोर्नुपरेको बताउनुभयो । नेपालगञ्जमा भएको एउटा घटना सुनाउँदै उहाँले महिलाको शौचालयमा जाँदा ‘तपाई पुरुष भएर पनि किन यहाँ आएको ?’ भनेर गाली खाईने र पुरुषको शौचालयमा जाँदा पनि उस्तै दुर्व्यवहारको सामना गर्नुपरेको बताउनुभयो ।
यसको समाधानको लागि यौनिक रुपमा अल्पसंख्यकहरुका लागि छुट्टै शौचालयको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । खानेपानीमा पनि उस्तै समस्याहरु भोग्नुपरेको उहाँको भनाइ छ ।
सार्वजनिक कार्यक्रममा पहिलो पटक सहभागी
सार्वजनिक रुपमा हुने विभिन्न बैठक, तालिम, गोष्ठी, सभा, समारोहमा आफूहरुलाई अहिलेसम्म कसैले पनि सहभागी नगराएकोमा उहाँले दुखेसो गर्नुभयो । तालिम, गोष्ठीमा सहभागी हुने मन भए पनि औपचारिक रुपमा नबोलाए पछि अहिलेसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा भाग नलिएको उहाँको भनाइ छ ।
यौनिक अल्पसंख्यकलाई सहभागिताको लागि खबर गरेको संयुक्त क्षेत्रगत समीक्षा (JSR) नै पहिलो मञ्च भएको र यस्ता सार्वजनिक कार्यक्रममा पहिलो पटक भाग लिन पाएको सरस्वतीले सुनाउनुभयो ।
हामीले खानेपानी तथा सरसफाइको क्षेत्रमा यौनिक अल्पसंख्यक मध्येको तेस्रो लिङ्गीले भोग्नुपर्ने समस्या र समाधानका उपाय लगायत विविध बिषयमा सरस्वती पुन मगरसँग कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
सुदुरपश्चिम प्रदेश जेएसआरको अगुवाई जेएसआर अन्तर्गतको ‘लैगिक समता तथा सामाजिक समावेशीकरण’ कार्य समूहले गरेको हो । कार्य समूहको टिम लिडर सरकारको तर्फबाट शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारी र उप टिम लिडर वाटर एडकी नीति तथा पैरवी प्रमुख सीमा रजौरिया हुनुहुन्थ्यो ।
प्रादेशिक खानेपानी तथा सरसफाइ संयुक्त क्षेत्रगत समीक्षा (JSR) लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशमा सम्पन्न भएका छन् । बाँकी चार वटा प्रदेशमा आयोजना गर्न बाँकी छ ।
त्यसपछि राष्ट्रिय स्तरमा संयुक्त क्षेत्रगत समीक्षा हुनेछ । JSR आगामी अगष्टमा आयोजना गर्ने भनिए पनि अहिलेसम्म मिति भने तय भईसकेको छैन । यसअघि सन् २०११ र सन् २०१४ मा संयुक्त क्षेत्रगत समीक्षा (JSR) आयोजना गरिएको थियो ।