
काठमाडौ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सेप्टिक ट्याङ्क सफाइ व्यवसायको नियमन गर्ने भएको छ । सेप्टिक ट्याङ्क सफाइ व्यवसायको इजाजत लिने निकायको अभाव र सेप्टिक ट्याङ्कबाट खाली गरेको मलमूत्र बिसर्जन गर्ने स्थानको समस्या झेल्दै आएका व्यवसायीको समस्या सम्बोधन गर्न नियमन गर्ने तयारी गरिरहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणाले बताउनुभयो ।
ठेक्का रद्द भएका फोहोरपानी प्रशोधन केन्द्रहरुको टेण्डर प्रक्रिया अगाडि बढेपछि काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली संशोधनको प्रस्ताव मन्त्रीपरिषद पठाउने र त्यसपछि नियमनको काम सुरुवात हुने उहाँले बताउनुभयो ।
नियमावली संशोधन भएर आएपछि सेप्टिक ट्याङ्क सफाइ व्यवसाय सञ्चालनको इजाजत दिने र सेप्टिक ट्याङ्कबाट संकलित दिसाजन्य लेदो विसर्जन गर्ने स्थल पनि निर्माण हुने उहाँले बताउनुभयो । ‘इजाजत कहाँबाट लिने र संकलित मानवमूत्र कहाँ विसर्जन गर्ने भन्ने समस्या छ, यी दुवै समस्या सम्बोधन गर्न बोर्डले काम सुरु गरिसकेको छ’ उहाँले भन्नुभयो ।
‘हामी यसका लागि ठाउँ पनि निर्माण गरिरहेका छौं । लाइसेन्सको अधिकार पनि हामीले नै लिने गरी नेपाल सरकार मन्त्रीपरिषदमा प्रस्ताव लैजाने तयारी गरिरहेका छौं, प्रक्रिया पूरा गरेर लाइसेन्स प्रदान गर्ने तहसम्म पुग्न तीन महिना जत्ति समय लाग्न सक्छ’ उहाँले भन्नुभयो ।

खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्री, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणा र शहरी सफाइ सेवा प्रा.लि.का प्रबन्ध निर्देशक प्रदीप ढुङ्गाना वक्ता रहेको टेलिभिजन कार्यक्रम ‘टक अफ द टाउन’ मा प्रा.लि.का प्रबन्ध निर्देशक ढुङ्गानाले सफाइ व्यवसायलाई इजाजत दिने व्यवस्था नहुँदा आफूहरुले खुलेर व्यवसाय गर्न नपाएको बताउनुभयो । उहाँले व्यवसायीले झेल्दै आएका समस्या समाधानको लागि चाँडो भन्दा चाँडो पहल गर्न समेत आग्रह गर्नुभयो ।
हालै ललितपुर महानगरपालिकाले एक जना सफाइ व्यवसायबाट ५० हजार जरिवाना असुलेको बिषयको ध्यानाकर्षण गराउँदै उहाँले उचित विसर्जन स्थलको व्यवस्था गरेर मात्र जरिवाना गर्ने व्यवस्था लागु गर्न आग्रह गर्नुभयो ।
हिजो (आइतबार) मात्र काठमाडौ महानगरपालिकाले पनि ढलमा सेप्टिक ट्याङ्कको मानव मलमूत्र विसर्जन गरेको भन्दै ५० हजार जरिवाना लिएको छ ।
काठमाडौ उपत्यकामा करिब ६० वटा ट्याङ्करले सेप्टिक ट्याङ्क सफाइको काम गरिरहेको प्रारम्भिक अध्ययनले देखाएको छ । यो व्यवसायले वैधानिकता पाउन नसक्दा यस क्षेत्रका सफाइकर्मीहरु अहिलेसम्म संगठित हुन समेत सकेका छैनन् ।
ललितपुरको लुभुमा सानो क्षमताको प्रशोधन केन्द्र बाहेक काठमाडौ उपत्यकामा कतै पनि दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएको छैन । ललितपुरको धोबीघाट र कोड्कुमा निर्माण भईरहेको फोहोरपानी प्रशोधन केन्द्रमा भने दिसाजन्य लेदो पनि प्रशोधन गर्न मिल्ने प्लान्ट निर्माण भईरहेको कार्यकारी निर्देशक डा. राणाले बताउनुभयो ।


607 पटक हेरिएको 

