सरकारको धरपकडले सेप्टिक ट्याङ्क सफाइ व्यवसायी हतोत्साहित

सेवा बन्द हुँदा सेप्टिक ट्याङ्क भरिएका घरधनीलाई समस्या

  वास खबर सम्वाददाता  906 पटक हेरिएको
🔗
77
Shares

काठमाडौ : सेप्टिक ट्याङ्क सफा गरेर ल्याएको फोहोर विसर्जन गर्ने स्थल पनि नबनाउने र ल्याएको फोहोर ढलमा विसर्जन गर्दा पनि पक्राउ गरेर जरिवाना तिराउने कार्यले आफूहरु दिक्क भएको व्यवसायीहरु बताउँछन् । ‘यो काम कि सरकारले गरोस्, होइन भने हामी जस्ता निजी व्यवसायीले स्वतः स्फुर्त रुपमा गरेको काममा सघाउन नसके पनि बाधा पुर्‍याउने काम नगरोस्’ व्यवसायी गोकुल बहादुर बुढाथोकीले बताउनुभयो ।

कर तिर्छौ, तर विसर्जन गर्ने उचित ठाउँ देउ : व्यवसायी

सरकारले उचित विसर्जन स्थल वा प्रशोधन केन्द्र बनाई दिएको खण्डमा आफूहरु कर तिर्न तयार रहेको व्यवसायी बुढाथोकीले बताउनुभयो । कैयन पटक पक्राउ पर्दै जरिवाना बुझाउँदा बुझाउँदा आफ्नो व्यवासायबाटै हार खाईसकेको उहाँले सुनाउनुभयो । ‘महिना भरि कमाएको रकम एक पटकको जरिवानामै सकिन्छ, अनि के का लागि काम गर्नु ?’ उहाँले दुःखेसो गर्नुभयो ।

सरसफाइलाई अति आवश्यक सेवा भित्र राखे पनि सरकारको धरपकटले आजित भएको अर्का व्यवसायी हर्क बहादुर खत्रीले सुनाउनुभयो । आफूहरुलाई अपराधीको झैं व्यवहार गरेर सफाइको काममा अवरोध पुर्‍याएको बताउनुभयो । ‘हाम्रो विसर्जन गर्ने ठाउँ खोई ? विसर्जन गर्ने ठाउँ हुँदा हुँदै पनि ढल वा खोलामा विसर्जन गरेको भए हामी सजाय भोग्न तयार थियौं, तर यहाँ विसर्जन गर्ने कुनै ठाउँ नै बनाएको छैन त, हामीले ढलमा विसर्जन नगरेर कहाँ गर्ने ?’उहाँले गुनासो गर्नुभयो ।

आफूहरु करको दायरामा आउन तयार रहेको पटक पटक जानकारी गराउँदै आए पनि यस तर्फ सरकारले कुनै चासो नदिएको व्यवसायीहरु बताउँछन् । सरकारको सबै तमाशा हेर्दा संसारमा कसैले नगरेको व्यवसायी आफूहरुले मात्र गरेको हो कि भन्ने भान हुने व्यवसायीको गुनासो छ ।

सरसफाइको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न लगानीको वातावरण बनाई दिनुपर्नेमा उल्टै हतोत्साहित गर्ने कामले नागरिकको स्वच्छ वातावरणमा जिउन पाउने हक समेत कुण्ठित भएको व्यवसायीको तर्क छ ।

‘नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनेर संविधानमा उल्लेख गरिएको छ । हामीले सेवा बन्द गर्दा अहिले कयौं मानिस सेप्टिक ट्याङ्क भरिएर रुनु परिरहेको अवस्था छ, हामीलाई दैनिक फोन आउँछ । हामी सँग कुनै उपाय छैन भन्ने गरेका छौं’ व्यवसायी खत्रीले भन्नुभयो ।

करिब सय परिवारका ४५० जना प्रत्यक्ष प्रभावित 

व्यवसायीहरु अनुसार काठमाडौ उपत्यकाको ८० गाडी सेप्टिक ट्याङ्कको फोहोरपानी दैनिक खाली गरिदै आएको छ । यस क्षेत्रमा करिब ३५ जना व्यवसायी छन् ।

काठमाडौ र ललितपुर महानगरपालिकाले धरपकड गर्दै भारी जरिवाना असुल्न थालेपछि व्यवसाय बन्द गरेका छन् । केहीले लुकिछिपी सञ्चालन गर्दै आए पनि अधिकांशले ट्याङ्कर थन्काए छन् । व्यवसायी बन्द हुँदा व्यवसायी र श्रमिक गरी करिब १ सय परिवारका ४५० जना प्रत्यक्ष प्रभावित भएका छन् ।

आफूहरु व्यवसाय बन्द हुँदा ठूलो मारमा परेको र जहान बच्चा पाल्न पनि धौ हुने अवस्था आएको श्रमिकहरु बताउँछन् । व्यवसायीहरु भने गाडीको किस्ता, बालबालिकाको स्कुल कलेजको शुल्क कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको बताउँछन् ।

गत जेठ २४ गते मनोहरा खोलामा दिसाजन्य फोहोर फालेको भन्दै बा ३ ख २८० र बा ३ ख ९४०३ नम्बरको ट्याङ्करलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिई असार ३ गते ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । त्यसको २० दिन पछि काठमाडौं महानगरपालिकाले काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीलाई पनि  सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाएको भन्दै ५० हजार रूपैयाँ जरिवाना तिराइएको थियो ।

त्यसपछि समस्या समाधानका लागि खानेपानीमन्त्री महिन्द्र राय यादव समक्ष ज्ञापन पत्र बुझाए पनि हालसम्म कुनै सुनुवाई नभएको व्यवसायी गोकुल बहादुर बुढाथोकीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार