वास फिट कार्यक्रमको समीक्षा र सिकाइ आदानप्रदान, चार स्वास्थ्य संस्थाले पाए नगद पुरस्कार

  वास खबर सम्वाददाता  668 पटक हेरिएको
🔗
76
Shares

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिकामा सञ्चालित Implementation of Water and Sanitation for Healthcare Facility Improvement Tool (WASH FIT) वास फिट कार्यक्रमको समीक्षा गरिएको छ । दुवै नगरपालिकाका प्रमुख, स्वास्थ्य संस्था रहेको वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संस्थाहरुको प्रमुख तथा प्रतिनिधीको उपस्थितिमा कार्यक्रमको समीक्षा गरिएको हो ।

वास फिट कार्यक्रम सञ्चालन भएपछि स्वास्थ्य संस्थाहरुमा पानीको सहज उपलब्धता भएको, जोखिमयुक्त फोहोर उचित व्यवस्थापन भएको, सरसफाइका लागि सहज वातावरण भएको र स्वास्थ्य सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि भएको स्वास्थ्य संस्थाका प्रमुख एवं वडाध्यक्षहरुले बताएका छन् ।

यस्तै दिगोपनका लागि स्थानीय तह, स्वास्थ्य संस्था र वास फिट कार्यक्रम कार्यान्वयन गर्ने संस्था बीच समन्वय हुनुपर्ने, कार्यक्रमको चौमासिक समीक्षा गोष्ठी गर्नुपर्ने, वास फिट समूहको नियमित बैठक हुनुपर्ने सुझाव दिएका छन् ।


यस्तै स्वास्थ्य संस्थामा मर्मत सम्भार कोषको व्यवस्था हुनुपर्ने, सबै कर्मचारीले सरसफाइ सम्बन्धी जिम्मेवारी लिनुपर्ने, कम्पाउण्ड पर्खाल हुनुपर्ने, विद्युत अनिवार्य हुनुपर्ने लगायत सुझाव पनि दिएका छन् ।

कार्यक्रमको समीक्षा तथा सिकाई आदान प्रदान कार्यक्रममा हंसपुर नगरपालिकाका प्रमुख प्रदीप कुमार यादवले वास फिट कार्यक्रमले छोटो समयमा उपलब्धीमूलक काम भएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाहरुमा संक्रामक फोहोरहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराको उदाहरण वास फिट कार्यक्रमले देखाएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका ५ वटा स्वास्थ्य संस्था र हंसपुर नगरपालिकाको ५ वटा गरी १० वटा स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालन भईरहेको छ । युनिसेफ नेपाल, जनकपुर उपमहानगरपालिका र हंसपुर नगरपालिकाको आर्थिक सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) ले कार्यान्वयन गरिरहेको वास फिट कार्यक्रम स्वास्थ्य संस्थाहरुको लागि एकदमै प्रभावकारी भएको सहभागीले बताएका छन् ।

एनसीभीले सन् २०२२ को नोभेम्बर अन्तिममा वास फिट कार्यक्रम कार्यान्वयनका लागि युनिसेफ नेपालसँग सम्झौता गरेको थियो । सरोकारवाला सबै पक्षले आ आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोटो समय र थोरै बजेटमा पनि धेरै काम गर्न सकिन्छ भन्ने राम्रो सिकाई भएको एनसीभीकी स्वास्थ्य तथा खानेपानी र सरसफाइ विज्ञ स्मृति शाहले बताउनुभयो ।


उहाँले नगरपालिकाहरुसँग लागत साझेदारीमा काम गर्दाको अनुभव सुनाउँदै वास फिट अन्तर्गत निर्माण भएका पूर्वाधारहरुको बेला बखत अनुगमन गर्न नगरपालिका सँग आग्रह गर्नुभयो । ‘हरेक स्वास्थ्य संस्थामा वास फिट समिति बनेको छ, तपाईहरुको बैठक हुन जरुरी छ, बनाएको संरचनाको उचित तरिकाले सदुपयोग गर्न पनि म आग्रह गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।

कार्यक्रममा युनिसेफ नेपालका खानेपानी र सरसफाइ अधिकृत बोध नारायण श्रेष्ठले स्वास्थ्य संस्थामा निर्माण भएका संरचनाहरुको समुचित प्रयोग र संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले कठपुल्ला स्वास्थ्य चौकीमा वडाध्यक्ष उदय कुमार सिंहले झाडु लगाएको प्रसंग निकाल्दै काम गर्दा आफ्नो कद र पद नघट्ने बरु सम्मान बढ्ने बताउनुभयो ।


यस्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आफ्नो जिम्मेवारी के हो भन्ने बोध गर्ने हो भने अरुको सहयोग लिईरहनु पर्ने आवश्यकता नरहेको बताउनुभयो । ‘स्वास्थ्य चौकीमा बस्ने म हुँ, मेरो कर्तव्य यो हो र म बस्ने ठाउँको सरसफाइ पनि मैले नै गर्नुपर्छ भन्ने चेत नखुलेसम्म सधैं अरुको भर पर्नु शिवाय अरु उपाय छैन’ उहाँले भन्नुभयो ।

४ स्वास्थ्य संस्था पुरस्कृत


कार्यक्रममा हंसपुर नगरपालिका भित्रका २ वटा र जनकपुर उपमहानगरपालिका भित्रका २ गरी चार वटा स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गरिएको छ । हंसपुरको कठपुल्ला स्वास्थ्य चौकीलाई १० हजार सहित पहिलो पुरस्कार र मानसिंहपट्टि स्वास्थ्य चौकीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाको कुर्था स्वास्थ्य चौकीलाई १० हजार रुपैयाँ र आधारभूत स्वास्थ्य सेवा केन्द्र, रामपुरलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

स्वास्थ्य संस्थामा वडाध्यक्षको संलग्नता, स्वास्थ्य संस्थाका कर्मचारीहरुद्वारा सम्पादन गर्ने आ आफ्नो जिम्मेवारी, स्वास्थ्य संस्थाको नियमित अनुगमन, सहयोगी कर्मचारीको कार्यसम्पादन, वास फिट कमिटिको अर्थपूर्ण सहभागिता र सम्बन्धित स्वास्थ्य संस्था प्रति मिस्त्री, पेन्टर, प्लम्बर, स्टाफ, एनसीभी र युनिसेफले गरेको अनुगमनको आधारमा अंकन गरी पुरस्कृत गरिएको एनसीभीकी स्वास्थ्य तथा खानेपानी र सरसफाइ विज्ञ शाहले बताउनुभयो ।


पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित नगरपालिकाका प्रमुखहरुले नमुना चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अनवरत रुपमा खटिने कर्मचारीहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापति एवं एनसीभीका कार्यसमिति सदस्य यादव गौतमले वास फिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट प्रदान गरिएको योगदानको प्रशंसा गर्दै सबैलाई धन्यबाद व्यक्त गर्नुभयो । मधेस प्रदेशमा एनसीभीले सन् २०१७ देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराउँदै उहाँले आगामी दिनमा पनि मधेस प्रदेशमा विभिन्न कार्यक्रमहरु सचित उपस्थित हुने वाचा गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार