
भरतपुर : सरसफाइकर्मीहरुको लागि सञ्चालित “स्वास्थ्य, सुरक्षा, स्वच्छता र संक्रमण रोकथाम तथा नियन्त्रण” सम्वन्धी तालिम सम्पन्न भएको छ । एकिकृत विकास समाज नेपाल र नेपाल वाातवरणीय समूहको सयुक्त आयोजनामा सञ्चालित एक दिने तालिम सम्पन्न भएको हो । उक्त तालिम भरतपुर महानगरपालिकामा हरेक दिन फरक फरक समूहका गरी सात दिनमा २०० भन्दा वढी सरसफाइकर्मीहरुलाई दिईएको छ ।
तालिममा फोहर स्वच्छता र पेशाजन्य स्वास्थ्य, सर्ने रोग र पेशाजन्य स्वास्थ्य जोखिम तथा संक्रमण रोकथाम प्रक्रिया, हात धुने कुराको महत्व, व्यक्तिगत सुरक्षा सामाग्री (PPE) को प्रयोग विधि, महत्व र यस्को सफाइ/निर्मलीकरण, सफाईकर्मीका निमित्त सान्दर्भिक कानुन, नियम र प्रावधानहरु जस्ता विषयमा प्रस्तुतीकरण, खेल अभ्यास र समूह कार्य तथा छलफल विधि मार्फत प्रशिक्षण गरिएको थियो ।
तालिममा मूख्य सहभागीको रुपमा चितवन कृषि तथा सुरक्षा टङ्की व्यवसायिक संघ, विद्यालय, सार्वजनिक शौचालय, भरतपुर महानगरपालिका, हस्पिटल, डम्पिङ्ग क्षेत्रमा फोहर छुट्टाउने अनौपचारिक कामदार, र निजि क्षेत्र (फोहर व्यवस्थापन समूह र वातावरणीय सुन्दर नेपाल) वाट रहेका थिए भने सहभागी सफाइकर्मीमा फोहरका गाडी चालक, स्वीपर, फोहर छुट्टाउने, हेल्पर, सफाई गर्ने रहेका थिए ।
भरतपुर महानगरपालिकासंगको सहकार्यमा संचालित तालिममा भरतपुर महानगरपालिका सरसफाइ शाखा प्रमूख जानुका केसी, एकिकृत विकास समाज नेपाल/नेपाल वाातवरणीय समूहका कार्यक्रम समन्वय विज्ञ संजय देवकोटा र नेपाल विकास समाजका परियोजना प्रमूख गीता साहले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रम संयोजन तथा संचालन तारा वहादुर खातीले गर्नुभएको थियो ।

भरतपुर महानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमूख ओमप्रसाद पाण्डेद्धारा समापन भएको उक्त कार्यक्रममा सहभागी/सरसफाइकर्मीहरुलाई नेपाल विकास समाजले आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (PPE) वितरण गरेको थियो ।
एशियाली विकास वैकको सहयोगमा, एकिकृत विकास समाज नेपाल र नेपाल वाातवरणीय समूहद्धारा भरतपुर महानगरपालिका र नेपालगंज उपमहानगरपालिकामा सरसफाईकर्मीहरुको पेशागत स्वास्थ्य, सुरक्षा र सम्मानका लागि परियोजना सञ्चालित छ ।


1161 पटक हेरिएको 

