काठमाडौ : स्वयम्भुको बुद्धपार्क स्थित एरोसानद्वारा सञ्चालित अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षरोपण गरिएको छ । अन्तराष्ट्रिय युवा दिवशको उपलक्ष्यमा “दिगो लक्ष्य प्राप्तिमा युवाको साथः नव प्रवर्तन र उघमशीलतामा हरित सीप विकास” नाराका साथ काठमाडौं महानगरपालिका वडा नं. १५, एरोसान, युवा रेडक्रस सर्कल त्रि–चन्द्र क्याम्पस, परिवर्तक, नमस्ते बागमती तथा गैर सरकारी संस्था गुथिको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा काठमाडौ महानगरपालिकाको वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले देश विकासका लागि युवाहरुको भुमिका निक्कै महत्वपूर्ण रहेको र युवाहरुकै केही गरौ भन्ने भावनाले देशमा आमुल परिवर्तन आउन सक्ने बताउनुभयो । समाजसेवी तथा वातावरणविद स्व. प्रकाश अमात्यले अत्याधुनिक शौचालय निर्माणको क्रममा गरेको सघर्ष स्मरण गर्दै उहाँको खानेपानी तथा सरसफाइ र वातावरण प्रति रहेको दुर दृष्टिले हाल सार्वजनिक शौचालय प्रति रहेको नकारात्मक सोचलाई परिवर्तन गरेको बताउनुभयो ।
‘विश्व सम्पदा क्षेत्रमा रहेको अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा गरिएको वृक्षरोपण कार्यक्रमले उहाँ प्रति सच्चा श्रद्धाञ्जली दिन सकेको अनुभुति भएको छ’ वडाध्यक्ष डंगोलले भन्नुभयो ।
काठमाडौंको सौन्दर्यता बढाउनका लागि हरियाली विकास गर्नु निक्कै आवश्यक रहेको सरसफाइ क्षेत्रमा आवद्ध रामेश्वर पोखरेलले बताउनुभयो । ‘काठमाडौं महानगरपालिकाद्वारा विभिन्न स्थानहरुमा वृक्षरोपण कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा युवाहरुद्वारा अत्याधुनिक शौचालय परिसरमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमले महानगरको सौन्दर्य तथा वातावरणमा थोरै मात्र भएपनि सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो ।
यस्तै त्रि–चन्द्र क्याम्पस, रेडक्रस सर्कलकी पूर्व अध्यक्ष प्रतिभा दवाडीले स्व. प्रकाश अमात्यले खानेपानी तथा सरसफाइ र वातावरणको क्षेत्रमा हुने हरेक कार्यक्रमहरुमा त्रि–चन्द्र कलेजका युवाहरुलाई आमन्त्रण गर्नुभएको स्मरण गर्दै उहाँकै प्रोत्साहन तथा अभिभाकत्वबाट मार्ग निर्देशित भएको बताउनुभयो । ‘उहाँकै सोचमा निर्माण भएको वातावरणमैत्री, महिलामैत्री तथा अपाङ्गमैत्री यस अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षारोपण गर्न पाउँदा खुसी लागेको छ’ उहाँले भन्नुभयो ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल स्व. प्रकाश अमात्यको गहन अध्ययन र अनुसन्धानबाट निर्मित महिलामैत्री, अपाङ्खमैत्री तथा वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालयहरु एरोसान हव नाममा सञ्चालित छन् । काठमाडौ उपत्यकाभित्र हालसम्म यस्ता ८ वटा शौचालयहरु सञ्चालनमा छन् ।
एरोसानका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले स्वर्गीय अमात्यकै सोच अनुसार फोहोर श्रोतमै व्यवस्थापन गर्ने नविनतम प्रविधिको प्रयोग भएको वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालयमा हरित वातावरणका लागि वृक्षरोपण गरिएको बताउनुभयो । ‘यस कार्यले सार्वजनिक शौचालयमा अर्को नयाँ आयाम थपेको छ भने हरियाली हुँदा एउटा पार्कमा आए जस्तो आनन्दले समय व्यतित गर्न सकिनेछ’ कार्यक्रम अधिकृत श्रेष्ठले भन्नुभयो ‘उहाँको सपनालाई साकार पार्न तथा समाजमा सार्वजनिक शौचालय प्रति आम जनमानसको मनमा रहेको नकारात्मक सोचलाई परिवर्तन गर्न सकिनेछ ।’
उहाँले स्वर्गीय अमात्यको निर्देशनको कमी एरोसानलाई सदैव रहिरहने बताउनुभयो ।