काठमाडौ : चुढामणि सुवेदी, सुर्खेतको बराहताल गाउँपालिका ५ मा रहेको जनज्योति मावि बड्डीचौरको शिक्षक हुनुहून्छ । उहाँ त्यहीको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गतको खानेपानी सुरक्षा योजना टोलीको समेत सदस्य हुनुहुन्छ ।
खानेपानी सुरक्षा योजना टोलीको सदस्य हुनुको नाताले उहाँको पहिलो ध्यान खानेपानीमै जान्छ । शिक्षक सुवेदी भन्नुहुन्छ ‘कहिलेकाहीं विद्यार्थी बिरामी परेमा पनि कतै दुषित पानीको कारणले पो हो कि भन्ने तर्फ ध्यान जाने रहेछ ।’ विद्यार्थीलाई स्वास्थ्य शिक्षा बिषय अन्तर्गत पानी शुद्धिकरण गर्ने घरायसी तरिका, दुषित पानीका कारण लाग्ने रोगहरुबारे पढाउनुपर्ने र खानेपानी सुरक्षा योजना टोलीको सदस्य भएपछि विद्यार्थीलाई यसबारे राम्रो सँग बुझाउन आफ्नो लागि पनि सहयोगी भएको उहाँले बताउनुभयो ।
खानेपानी सुरक्षा योजना टोली गठन गर्दा कम्तीमा ५ जना सदस्य हुनुपर्ने प्रावधान छ । टोलीको सदस्यहरुमा खानेपानी प्रणालीको दैनिक सञ्चालनमा संलग्न कर्मचारी, सेवा क्षेत्र भित्रका उपभोक्ताहरू र शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रवाट समेत प्रतिनिधित्व हुनुपर्र्ने र टोलीमा कम्तीमा पनि एक तिहाइ महिला समावेश गरी लैङ्गिक समानतालाई समेत विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।
यिनै आधारहरुमध्ये शिक्षा क्षेत्रबाट शिक्षक सुवेदी सदस्य हुनुभएको हो । खानेपानीको मुहान देखि उपभोक्ताको धारासम्म पुग्दा विभिन्न चरण पार गरेर पुग्ने भएकाले ती सबै संरचनाको अनुगमन गर्न, खानेपानी प्रणालीमा पानी प्रदुषण हुनसक्ने अवस्था पत्ता लगाउन र तिनको रोकथाम गर्ने उपायहरू औल्याउन खानेपानी सुरक्षा टोली गठन गर्नु पर्दछ ।
सुरक्षा टोलीले खानेपानी आपूर्ति प्रणालीमा आउन सक्ने जोखिम पहिचान गरी त्यसको समयमै व्यवस्थापन गरी नियमित सुरक्षित खानेपानी आपूर्ति गर्न र खानेपानी प्रणाली सन्चालन गर्दा जनस्वास्थ्यमा देखापर्न सक्ने असरहरू निराकरणका लागि समितिलाई जानकारी गराउनुपर्छ ।
यसका अलावा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको क्रममा समेत घर घरमा पुगेर सुरक्षित खानेपानीको महत्वबारे बताएको उहाँले बताउनुभयो । ‘मैले पढाउन थालेको दुई दशक वितिसक्यो, घरघरमा पुग्दा त्यहाँका गृहिणी, घरमूली मेरै विद्यार्थीहरु हुने रहेछन् । यही कुरा हिजो स्कुलमा भन्ने गर्नुहुन्थ्यो, आज घरमै भन्न आउनुभएछ भन्ने प्रतिक्रिया पनि पाएँ । उहाँले भन्नुभयो ।
शिक्षकले भनेको कुरा आफ्ना विद्यार्थीले मान्ने र समाजमा शिक्षकको छाप राम्रो भएकाले पनि खानेपानी सुरक्षा योजना टोलीमा बसेर समुदायका लागि केही सन्देश प्रवाह गर्न सकिने उहाँको अनुभव छ । विद्यार्थीहरु मार्फत खानेपानी शुद्धिकरणका उपायहरुबारेको सन्देश घरघरसम्म पु¥याउन पनि सजिलो हुने उहाँले बताउनुभयो ।
हामीले शिक्षक सुवेदीसँग खानेपानी सुरक्षा योजना टोलीमा शिक्षकको प्रतिनिधित्वले सुरक्षित खानेपानीको महत्व घरघरसम्म पुर्याउन मिलेको सहजता, सुरक्षित पानी वितरणमा शिक्षकको भूमिका र सुरक्षित खानेपानीका बिषयमा शिक्षक आफैले हासिल गरेको ज्ञान र यसको उपयोगका विषयमा कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
खानेपानी सुरक्षा योजनामा खानेपानी प्रणालीको विश्लेषण, प्रदुषण पहिचान र जोखिम विश्लेषण सुधार, कार्य योजना तर्जुमा.र कार्यान्वयन तथा खानेपानी सुरक्षा योजनाको प्रमाणीकरण लगायत ७ चरण छन् । यस्तै खानेपानी सुरक्षा योजनालाई टेवा पु¥याउने अन्य कार्य तथा व्यवस्थापन, उपभोक्ता (ग्राहक) को सन्तुष्टि पहिचान, दस्तावेज तयारी र खानेपानी सुरक्षा योजनाको पुनरावलोकन गरी तीन वटा सहयोगी क्रियाकलापहरु पर्दछन् ।


763 पटक हेरिएको 

