सिविसानको ११ औं पूर्ण बैठक सम्पन्न, सिकाई आदानप्रदान बैठक आलोपालो गर्ने

  वास खबर सम्वाददाता  583 पटक हेरिएको
🔗
62
Shares


काठमाडौ : सिविसान (CWIS Alliance Nepal) मा आवद्ध सदस्य संस्थाहरुको सिकाई आदान प्रदान बैठक हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुने भएको छ । सिविसानको एघारौं पूर्ण बैठकले हरेक सदस्य संस्थाहरुले पालैपालो हरेक महिनाको अन्तिम शुक्रबार दुई बजेपछि सिकाई आदानप्रदान बैठक आयोजना गर्ने निर्णय गरेको हो । आगामी सेम्टेम्बर महिनाको सिकाई बैठक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले गर्ने भएको छ ।

बैठकमा सिविसानको विधानलाई बुँदागत छलफल गरी टुङ्ग्याईएको छ । सिबिसानका दुई तिहाई सदस्यहरुले समर्थन गरेमा विधान स्वीकृत हुने र संशोधनका लागि पनि दुई तिहाई बहुमत आवश्यक पर्ने विधानमा उल्लेख गरिएको छ । सन् २०२२ को डिसेम्बरमा गठन भएको सिबिसानमा शहरी सरसफाइमा क्रियाशील विकास साझेदार सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र र मिडिया गरी १८ वटा संघसंस्थाहरु सदस्य छन् ।

हाल सिविसानको सचिवालयको रुपमा युएन् ह्याबिटाटले काम गर्दै आएको छ । विधानमा सचिवालयको कार्यकाल ३ बर्ष राख्ने वा ५ बर्ष राख्ने भन्ने बिषयमा समेत सिविसान सदस्यहरु बीच लामो छलफल भएको थियो ।

यस्तै सिविसानका तीन वटा मुख्य विषयगत क्षेत्रहरुको कार्ययोजनाका बिषयमा पनि समीक्षा गरिएको छ । नीति तथा अनुगमन, वकालत र क्षमता विकास सिबिसानले कार्य गर्ने मुख्य बिषयगत क्षेत्र हुन् ।


बैठकमा एन वास आई.एम.एस सिस्टममा सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइका सूचकहरुका बिषयमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाले जानकारी गराउनुभयो ।

यस्तै वाटर एड नेपालको तर्फबाट अधिवक्ता राजेश हमालले हाल विद्यमान खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित ऐन, कानुन, नीति निर्देशिकाका बिषयमा जानकारी गराउनुभयो । हालै मन्त्रीपरिषदबाट स्वीकृत राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० र खानेपानी तथा सरसफाइ ऐन २०७९ मा भएका प्रावधानहरु, यसको कार्यान्वयनमा आउन सक्ने जटिलता र अवसरका बिषयमा पनि जानकारी गराउनुभयो ।

यस्तै वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम म्यानेजर आश कुमार खाईतुले ‘नगरव्यापी समावेशी सरसफाइ’ सम्बन्धी निर्माण भएका तालिम प्याकेज र यसको अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले हालसम्म १२ वटा तालिम प्याकेजहरु निर्माण भईरहेको र ती मध्ये ५ वटा तालिम प्याकेज निर्माण सम्पन्न भई खानेपानी तथा ढल व्यवस्थापन विभागलाई स्वीकृतिका लागि हस्तान्तरण भईसकेको जानकारी गराउनुभयो ।

बैठकका अन्य एजेण्डाहरुका बिषयमा छलफल गर्न समय अपुग भएकाले अर्को बैठकमा छलफल गर्ने गरी सिविसान सचिवालयका सदस्य सचिव सुधा श्रेष्ठले बैठकको अन्त्य समापन गर्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार