पालिकालाई दिगो सरसफाइतर्फ लैजादै वास च्याम्पियनहरु

  विनोद धौलागिरि/सुनसरी  812 पटक हेरिएको
🔗
76
Shares

सन्तोषी चौधरी गढी गाउँपालिकाकी वास च्याम्पियन हुनुहुन्छ । उहाँको दैनिकी आफ्नो घरको सफाइबाट सुरु हुन्छ । त्यसपछि उहाँ गाउँपालिकाले तोकेका वडामा पुगेर घरधुरीको खानेपानी, सरसफाइ तथा स्वच्छताको तथ्यांक अद्यावधिक गर्नुहुन्छ । समुदायसँग छलफल गर्नुहुन्छ र समुदायमा देखिएका सुधारात्मक कुराहरुमा सुझाव दिनुहुन्छ ।

यस्तै दैनिकी छ, बर्जू गाउँपालिकाकी लीला अधिकारीको । लीला अधिकारी समेत गाउँपालिकाको वास च्याम्पियन हुनुहुन्छ । “बर्जू गाउँपालिकामा माथिल्लो संरचना कच्ची भएका चर्पीहरु भत्किने क्रम समेत बढी नै छ”, अधिकारी भन्नुहुन्छ, “त्यसैले, चर्पी बिग्रिए भत्किएका घरमा चर्पी मर्मत सम्भार तथा स्तरोन्नति गर्न लगाउनुका साथै व्यक्तिगत एवम् घरायसी सरसफाइ, पानीको स्वच्छता, वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन लगायतका विषयमा समुदायलाई जागरुक गरिरहनुपर्छ ।”

सरसफाइलाई गति दिन वास च्याम्पियन

स्पष्ट कार्ययोजना, आवश्यक साधन श्रोतको व्यवस्थापन, नागरिक सहभागिता र प्रभावकारी परिचालन हुन सकेमा सरसफाइ अभियान सफल हुन्छ भन्ने उदाहरण नेपालमा खुला दिसामुक्त अभियान र त्यसपछिका पूर्ण सरसफाइ अभियानले देखाइसकेको छ ।

यसैलाई आधार मान्दै सुनसरीका स्थानीय तहहरुले आफ्नो पालिकाको वास योजना तयार गरेपश्चात् त्यसको कार्यान्वयनका लागि वास च्याम्पियनहरु भर्ना गरेका छन् । “उहाँहरुले हिजोका दिनमा परियोजनामा रहेर पनि पूर्ण सरसफाइ अभियानलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो”, बराहक्षेत्र नगरपालिकाका नगर उपप्रमुख नन्दकुमारी सुनुवार भन्नुहुन्छ, “त्यसैले, खानेपानी, सरसफाइ र स्वच्छताको दिगो विकास लक्ष्य हासिल गर्नका लागि उहाँहरुलाई नै नगर कार्यपालिकाले निर्णय गरी निश्चित कार्यभारसहित नियुक्ति दिएर परिचालन गरिएको छ ।”

सुनसरी जिल्लामा हालसम्म तीन वटा स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना प्रणालीको स्थानीयकरण र दिगो विकास लक्ष्य हासिल गर्नका लागि अतिरिक्त मानव संसाधनको व्यवस्था गरेका हुन् । हाल बराहक्षेत्र नगरपालिकाले १२ जना, गढी गाउँपालिकाले १० जना र बर्जू गाउँपालिकाले ६ जना वास च्याम्पियन भर्ना गरी पूर्ण सरसफाइ प्रवद्र्धनमा उनीहरुको परिचालन गरिरहेका छन् ।


खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना सञ्चालन गरिरहेको प्लान इन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्रले यसअघि वास च्याम्पियनहरुलाई परिचालन गरेका थिए ।

“यसअघि उहाँहरु हाम्रो परियोजनाको स्वयंसेवक कर्मचारीको रुपमा हुनुहुन्थ्यो”, सामुदायिक समाज उत्थान केन्द्रका वास एसडिजी परियोजना संयोजक हरि बूढाथोकीको भनाइ छ, “परियोजना अवधिमा वास योजना तयार गर्नुका साथै सफा र स्वच्छ क्षेत्र विकास गर्नका लागि आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरणमा हामीले सहयोग गरेका थियौं । अहिले परियोजना समाप्त हुने भएपछि वास च्याम्पियनहरुलाई नगरपालिकाले नै आवश्यकता अनुसार निरन्तरता दिनुभएको छ ।”

संस्थाको सहजीकरणमा हाल सुनसरी जिल्लाका पाँच स्थानीय तहमा वास योजना तयार भई कार्यान्वयनको चरणमा रहेको छ भने दुई वटा स्थानीय तहमा पूरा हुने चरणमा रहेको छ । यसैगरी, सातवटै स्थानीय तहका केही टोलहरु सूचकका आधारमा अनुगमन गरी सफा र स्वच्छ क्षेत्र घोषणा गरिएका छन् ।

 

सबै घरधुरीको तथ्यांक अद्यावधिक गरिने

संघीय खानेपानी मन्त्रालयले तयार गरेको एनवास एप्लिकेशनको माध्यमबाट पालिकाको वास योजना तयार गर्दा घरायसी खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जानकारी १० प्रतिशत घरधुरीको मात्र लिए पुग्ने र अन्य सबै जानकारी सतप्रतिशत लिनुपर्ने छ । त्यसैले, वास योजना तयार गर्दा सार्वजनिक सरसफाइ, संस्थागत सरसफाइ, ढल प्रणाली, खानेपानी प्रणाली, स्वास्थ्य संस्था आदिको जानकारी सतप्रतिशत लिइएको छ, तर घरधुरीको जानकारी अधिकांशमा १० प्रतिशत लिइएको छ ।

“अब, बाँकी ९० प्रतिशत घरधुरीको जानकारी लिने कार्यमा पालिकाले नियुक्त गरेका वास च्याम्पियनहरुले सहयोग गर्नुहुन्छ”, प्लान इन्टरनेशनल नेपालका सुनसरी जिल्ला संयोजक केदार खतिवडाको भनाइ छ, “यसैगरी, सबै सूचकमा जानकारी अद्यावधिक गरी वास सूचना प्रणालीलाई मजबूतीकरण गर्ने कार्यमा समेत उहाँहरुको महत्वपूर्ण भूमिका रहन्छ ।”


स्थानीय तहहरुले पहिलो चरणमा वडाहरु निर्क्यौल गरी सबै घरधुरीको तथ्यांक अद्यावधिक गरिरहेका छन् । प्लान इन्टरनेशनल नेपालको वास एसडिजी परियोजनाले स्थानीय तहबाट नियुक्त गरिएका वास च्याम्पियनहरुलाई एनवास सफ्टवेयरको माध्यमबाट सूचना अद्यावधिक गर्ने तालिम प्रदान गरिसकेको छ ।

स्थानीय तहले नियुक्त गरी परिचालन गरेका वास च्याम्पियनहरुले घरधुरीको तथ्यांक अद्यावधिक गर्ने कार्यको थालनी गरिसक्नुभएको छ । “उहाँहरुले अहिले वडा विभाजन गरी तथ्यांक अद्यावधिक गर्नुका साथै खानेपानी, सरसफाइ तथा स्वच्छतामा व्यवहार परिवर्तनका लागि सहजीकरण गरिरहनुभएको छ”, गढी गाउँपालिकाका वास फोकल पर्सन सरिता राईको भनाइ छ, “पालिकाको वास प्लान कार्यान्वयनमा उहाँहरुको भूमिका निकै महत्वपूर्ण रहन्छ ।”

लक्ष्य २०३०

स्थानीय तहहरुले नियुक्त गरी परिचालन गरेका वास च्याम्पियनहरुको कार्यादेश र लक्ष्य स्पष्ट छ : अबको ६ वर्षभित्र आफ्नो स्थानीय तहलाई सफा र स्वच्छ क्षेत्रमा पु¥याउनु ।

“देशले दिगो विकास लक्ष्य हासिल गर्न सक्ला नसक्ला, हामीले अहिल्यै भन्न सकिदैन, तर हामीले आफ्नो जिम्मेवारीमा परेका स्थानीय तहलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको दिगो विकास लक्ष्य हासिल गराउनका लागि प्रतिवद्ध भएर योजनावद्ध रुपमा कामको थालनी गरेका छौं”, बराहक्षेत्र नगरपालिकका वास च्यामिपयन सुनिता राईको भनाइ छ, “जसरी यसअघि केही टोलहरुलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको थियो, त्यसैगरी, सिंगै पालिकालाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने हाम्रो लक्ष्य र प्रतिवद्धता छ ।”

सन् २०३० भित्र हासिल गर्नुपर्ने खानेपानी, सरसफाइ तथा स्वच्छताको लक्ष्य स्थानीय सरकारसँगमात्र सम्बन्धित छैन, यो विषय सबै तहका सरकारको अधिकारको साझा सूचीको विषय समेत हो ।

“संविधान र संघीय खानेपानी ऐनले निर्दिष्ट गरेका विषयलाई समेट्नेगरी स्थानीय खानेपानी ऐन तथा अन्य आवश्यक कानुन निर्माण गरी हाम्रो जिम्मेवारी पूरा गर्न हामी तयार छौं”, बर्जू गाउँपालिकाका अध्यक्ष जीवछकुमार राय भन्नुहुन्छ, “हाम्रो योजनालाई कार्यान्वयनमा ल्याउनका लागि प्रदेश र संघीय सरकारले आवश्यक कानुन, नीति र योजना तयार गर्नुका साथै आवश्यक बजेटको सुनिश्चितता गर्नुपर्छ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार