२५ लाख अनुदान सहित निजी क्षेत्रलाई दिक्तेलको फोहर व्यवस्थापनको जिम्मा

  वास खबर सम्वाददाता  428 पटक हेरिएको

प्रतिनिधिमूलक तस्बिर

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिका आफैँले व्यवस्थापन गर्दा महँगो पर्ने भएपछि नगरपालिकाले २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको हो ।

नगरपालिकाको वार्षिक ७२ लाख रुपैयाँभन्दा धेरै खर्च फोहोर व्यवस्थापनमा हुने गरेको रहेछ । डम्पिङ साइडमा जाने बाटो बनाउँदा, कर्मचारी, ट्याक्टर खर्च, इन्धन आदि गर्दा अत्याधिक खर्च भएको महसुस गरी २५ लाख रुपैयाँ अनुदान दिएर निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिईएको नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले बताउनुभयो । टेन्डर आह्वान गरेर फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई उपलब्ध गराएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दिक्तेल बजार, बाम्राङ, मुडे, मुन्थला, सोल्मान आदि बजार क्षेत्रबाट नगरपालिकामा सबैभन्दा धेरै फोहोर उत्पादन हुन्छन् । बजार क्षेत्रमा हप्ताको एक देखि दुई पटक फोहर संकलन हुने गरेको उहाँले बताउनुभयो । सबै क्षेत्रबाट संकलित फोहोरलाई वडा नं ४ को खाल्डेमा रहेको डम्पिङ साइटमा विसर्जन गर्दै आएको छ ।

फोहर व्यवस्थापनलाई थप व्यवस्थित गर्न निजी क्षेत्रलाई जिम्मा दिईएको मेयर भट्टराईले बताउनुभयो । कम्पोष्ट मल उत्पादन गरेर फोहर व्यवस्थापन गर्ने र फोहोर संकलनबाट प्राप्त हुने प्लाष्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्नका लागि खोलिने उद्योगका लागि निजी क्षेत्रलाई प्रोत्साहन सहयोग गर्न नीति बनाउने पालिकाको योजना छ ।

दिक्तेल बजार लगायत बजार क्षेत्रका विभिन्न स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने नगरपालिकाको योजना छ । बजार केन्द्रको सरसफाइमा जोड दिँदै सफा र सुन्दर नगर बनाउने अभियान सञ्चालन गर्ने योजना रहेको नगरप्रमुख भट्टराईले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार