
रुपन्देही : रुपन्देही जिल्लाको सैनामैना नगरपालिका-४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नै प्रयासमा भूमिगत पानीको पुनर्भरण गर्न थालेको छ । भूमिगत पानीको एकोहोरो प्रयोग मात्र गर्दा भविश्यमा आउन सक्ने संकटलाई मध्यनजर गरी अहिले देखि नै भूमिगत पानीको पुनर्भरण गर्न थालेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाले बताउनुभयो ।
उहाँका अनुसार यसका लागि रिचार्ज पोखरीहरु निर्माण गरिएका छन् । चुरे पहाड र नदि खोलाहरुको प्राकृतिक दोहनले गर्दा भूमिगत पानीको सतह घट्दै जाने भएकाले खानेपानी वितरण प्रणालीमा आउन सक्ने समस्या बारे सजग गराउँदै आफ्ना उपभोक्ताहरुलाई वातावरणमैत्री बन्न सचेत गराउदै आएको छ ।
चुरे भावर नजिकैको बस्ती सम्म संस्थाको सेवा क्षेत्र रहेको र त्यस क्षेत्रमा पानीको रिचार्ज नहुने, धेरै गहिराईमा मात्र भूमिगत पानीको सतह भेटिने तथा सतहमा बहने पानीको स्रोतको अभाव भएकाले भूमिगत पानीको पुनर्भरणको काम अहिले देखि नै सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यसबाहेक संस्थाले हरियाली प्रबर्द्वनका लागि एक घर एक विरुवा लगाउने कार्यलाई जोड दिदै आएको छ । संस्थाले आफ्ना उपभोक्तालाई आँपको विरुवा वितरण गरिएको छ ।
यस्तै घरमै उत्पादित फोहोरको व्यवस्थापनका लागि कम्पोष्ट विन वितरण प्रदान गरिएको छ । यसले गर्दा जैविक फोहोरलाई कम्पोष्ट बनाई घरमै कौसी खेती गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ ।
संस्थाले खानेपानी वितरण गर्ने कार्यलाई नियमित र व्यवस्थित बनाउनका लागि विभिन्न नीति नियम निर्माण गरी त्यसको कार्यान्वयन समेत गर्दै आएको छ । हामीले मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रेम बहादुर बानियासँग संस्थाले बनाएको नीति नियम र आगामी योजनाका बिषयमा कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सैनामैना नगरपालिकाको वडा नं. २ देखि ५ सम्मका ३ हजार ९ सय २० घरधुरीका करिब ३० हजार जनसंख्यालाई सुरक्षित खानेपानी सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले खानेपानी सेवा विस्तार गर्न चौधरी टोलमा ४ लाख ५० हजार लिटर क्षमताको र मुर्गिया ३ गंगानगरमा ३ लाख लिटर क्षमताको खानेपानी आयोजना निर्माण गरिरहेको छ ।
बुटवल उपमहानगरपालिका देखि १४ किलोमिटर पश्चिम र कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका देखि १४ किलोमिटर पूर्व सैनामैना ४ मुर्गिया बजारमा मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अवस्थित छ ।


889 पटक हेरिएको 

