फोहोर वर्गीकरण बारे घरदैलो गर्दै भेरीगंगाको टोल विकास संस्था

  वास खबर सम्वाददाता  518 पटक हेरिएको


सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट बजारका तीन वटा टोल विकास संस्थाहरुले फोहोर वर्गीकरण बारे घरदैलो अभियान सुरु गरेका छन् । स्थानीय बजारलाई सफा र नमुना बनाउन स्रोतमै फोहोर छुट्याउन र फोहोरको उचित व्यवस्थापन अभ्यासलाई जोड दिन टोल विकास संस्थाले घरदैलो अभियान सुरु गरेको हो । यसले फोहोर व्यवस्थापन र वातावरणीय सरसफाइमा ठूलो मद्दत पुग्ने वास दिगो विकास लक्ष्य कार्यक्रमका परियोजना संयोजक अनिल महर्जनले बताउनुभयो ।

भेरीगंगा नगरपालिकाले “ग्रीन भेरीगंगा, क्लीन भेरीगंगा’ भन्ने नारा सहित २०८० साललाई सरसफाइ अभियान बर्ष घोषणा गरिसकेको छ । यो अभियानलाई सफल बनाउन वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को पहलमा फोहोर विभाजनको महत्त्व र वातावरणमा यसको सकारात्मक प्रभावका बारेमा बजारका विक्रेता र पसलहरू बीच चेतना जगाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो । प्रभावकारी फोहोर व्यवस्थापन रणनीतिहरू लागु गरेर, टोल विकास संस्थाले यो अभियान मार्फत स्वच्छ, सफा र आकर्षक बजार सिर्जना गर्न अभियान सन्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष सीता शाहीले बताउनुभयो ।


स्थानीय बजारमा व्यावसायिक गतिविधिहरूमा बृद्धि भए सँगै फोहोर उत्पादनमा उल्लेखनीय वृद्धि भएको हुँदा फोहोरको अनुचित विसर्जनले अस्वच्छ अवस्था, दुर्गन्ध र बिभिन्न रोगहरु निम्त्याउने भएकोले बजारमा रहेका फोहोर व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्न तत्काल कदम चाल्न आवश्यक रहेको यस अभियानलाई नेतृत्व गर्ने हाटबजार टोल विकास संस्थाका अध्यक्ष शाहीले बताउनुभयो ।

यी समस्याहरूलाई सम्बोधन गर्न, बजार विक्रेताहरू र पसलहरूलाई सक्रिय रूपमा संलग्न गर्न यस अभियानलाई सुरु गरिएको उहाँले बताउनुभयो । यस अभियानले स्थानीय बजारमा फोहोर पृथकीकरण र व्यवस्थापनको लागि घर–घर सम्मको अभियानले सफा र थप दिगो भविष्यको दिशामा महत्त्वपूर्ण कदम देखाउने अपेक्षा गरिएको छ ।

यस अभियानको सफलताको लागि बजार विक्रेताहरू, बासिन्दाहरू र सम्बन्धित अधिकारीहरूको समर्थन र सक्रिय सहभागिता महत्वपूर्ण रहने उहाँले बताउनुभयो । यो अभियानले फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा प्रभाव सिर्जना गर्दै अन्य बजार र समुदायलाई अनुकरण गर्न नमुनाको रूपमा काम गर्ने अपेक्षा गरिएको भेरीगंगा नगरपालिका खानेपानी सरसफाइ तथा स्वच्छता शाखाका प्रमुख चित्रबहादुर के. सि. ले बताउनुभयो ।


भेरीगंगा नगरपालिकाले समग्र नगरपालिकाको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापन सम्बन्धी नीति नियमका साथै कार्यबिधिहरु निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ । साथै नगरपालिकाले वडा नं. १२ स्थित झिङेनारा सामुदायिक बन क्षेत्रमा फोहोर संकलन तथा पुनःस्थापना केन्द्र निर्माण भैरहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार