भूमिगत पानीको उपयोगबारे विज्ञले दिएका सुझाव, जसले ल्याउन सक्छ यस क्षेत्रमा सुशासन (भिडियो)

  वास खबर सम्वाददाता  1517 पटक हेरिएको

काठमाडौ : भूमिगत पानीको उपयोगबारे नियमनकारी निकायको अभाव र पर्याप्त अनुसन्धानको कमीका कारण न्यायोचित तरिकाले उपयोग गर्न नसकेको विज्ञले बताएका छन् । भूमिगत पानीको सुशासन सम्बन्धी International Water Management Institute (IWMI) ले आयोजना गरेको कार्यक्रममा भूमिगत पानीको सुशासनका लागि नीति नियम, निर्देशिकाको आवश्यकता रहेको, राष्ट्रिय स्तरमा नियमनकारी निकायको खाँचो रहेको र सरोकारवाला पक्षहरुबीच भरपर्दो सञ्चार रणनीति अवलम्बन हुनुपर्ने विज्ञले बताएका हुन् ।

कार्यक्रममा जमिन मुनिको पानीको नक्साङ्कन हुन नसकेको, बर्षेनी कुन क्षेत्रमा कति पानी प्रयोग भईरहेको छ भन्ने तथ्याङ्क नभएको, भौगोलिक अवस्थितिको आधारमा भूमिगत पानीको सतह कहाँ कस्तो छ भन्ने अध्ययनको खाँचो समेत औल्याएका छन् ।

कार्यक्रममा वाटर रिसोर्स रिसर्च एण्ड डेभेलप्मेन्ट सेन्टरका सिनियर डिभिज्नल इन्जिनियर जिओलोजिष्ट अनन्तमान सिंह प्रधानले विभिन्न कम्पनीले आफूखुसी भूमिगत पानीको दोहन गर्दा पर्यावरणीय असन्तुलनको स्थिति पैदा भएको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका सल्लाहकार पद्म सुन्दर जोशीले काठमाडौ उपत्यकामा भूमिगत पानीको अत्यधिक दोहनले जमिन भासिन थालेको समेत बताउनुभयो । काठमाडौ उपत्यकामा रिचार्जको लागि कुनै ठाउँको पहिचान गर्नै नपर्ने र केही स्थान बाहेक सबै क्षेत्रमा रिचार्ज गर्न सकिने बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् भिडियो :

यस्तै खानेपानी विभागको पूर्व महानिर्देशक समेत रहेका स्मार्ट वास सोलुसन्स्का अध्यक्ष रामदीप साहले सर्लाहीको कुनै स्थानका ९० प्रतिशत स्यालो ट्यूबेलहरु सुकेको र यसको लागि अध्ययन हुनुपर्ने बताउनुभयो ।

यस्तै त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पूल्चोकका प्राध्यापक विष्णु प्रसाद पाण्डेयले चुरे क्षेत्रको भौगर्विक पानीको बिषयमा वृहत अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

यस्तै वाटर एडका आनन्द गौतमले सामूहिक छलफलबाट आएको निष्कर्ष प्रस्तुतीकरण गर्दै जमिनमुनिको पानी निकाल्नका लागि उपयुक्त प्रविधिहरुको प्रयोग गर्नुपर्ने, बालीनाली लगाउँदा समेत पानीको उपलब्धताको आधारमा बालीनाली लगाउन किसानहरुसँग पनि छलफल तथा अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा International Water Management Institute (IWMI) का देशीय प्रतिनिधि डा. मनोहरा खड्काले भूमिगत पानीको सुशासनको एउटै औजार सबै देशका लागि उपयोगी नहुने भएकाले विज्ञले दिएको सुझावको आधारमा नेपालको लागि उपयुक्त औजारको विकास र प्रयोग गरिने बताउनुभयो । उहाँले भावी दिनमा भूमिगत पानीको विभिन्न पक्षमा International Water Management Institute (IWMI) ले अध्ययन अनुसन्धान समेत गर्ने बताउनुभयो ।

गोष्ठीमा हाईड्रोजिओलोजिष्ट सुरेन्द्रराज श्रेष्ठले नेपालमा भूमिगत जलस्रोतको अवस्था बारेको कार्यपत्र प्रस्तुतीकरण गर्नुभयो । यस्तै सिँचाई विभागका सहसचिव पुश्करनाथ घिमिरेले तराईमा भूमिगत पानीको अपार जलभण्डार रहेकाले बढी भन्दा बढी उपयोग गरी सिँचाई गर्न सकिने बताउनुभयो । उहाँले काठमाडौ उपत्यका जस्तो ठाउँमा भूमिगत पानीको जलभण्डार क्रमशः रित्तिदै गएको बताए पनि यसबारे अनुसन्धान भई नसकेको बताउनुभयो ।

गोष्ठीमा भूमिगत पानीको प्रयोग सम्बन्धीको खेल समेत खेलाईएको थियो ।

कार्यक्रमको थप फोटा :

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार