
दैलेख : प्राविधिकले खानेपानीको सर्भे गर्दा साउन गैसकेको थियो । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार, गाउँपालिका सँग परियोजना कार्यान्वयन र लागत साझेदारी सम्बन्धी चरण चरणको छलफल, खानेपानी उपभोक्ता समिति गठन र योजना कार्यान्वयन सम्बन्धी त्रिपक्षीय सम्झौता लगायत प्रशासनिक काम सकिँदा माघ सुरु भैसकेको थियो ।
अनुभवी र कुशल नेतृत्वकर्ता, सवल र सक्षम विकास साझेदार र जिम्मेवारी प्रति बफादार जनशक्ति भएमा छोटो समयमै ठूलो खानेपानी योजना सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य यो योजनाले प्रमाणित गरेको छ ।
२०७९ माघ २ गतेदेखि पूर्वाधार निर्माणको काम सुरुवात गरेको खानेपानी उपभोक्ता समितिले २०८० असार मसान्त अघि नै योजना निर्माण सम्पन्न गरी फरफारक समेत गर्न भ्यायो ।
कुरा हो दैलेखको महाबु गाउँपाालिका स्थित टुनिगैरा खानेपानी तथा सरसफाइ योजनाको । निर्माण थालनी गरेको पाँच महिनाकै अवधिमा सम्पन्न भएको यो योजनाबाट अहिले ११ सय १० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
चारवटा मूलको पानीलाई एकाकार गरी साढे १० किलोमिटर टाढाबाट दुई ठाउँमा खोला क्रसिङ् गरी ल्याएको खानेपानी ६ हजार ४ सय ७५ मिटर वितरण लाईनको माध्यमबाट करिब १२ किलोमिटर परिधिमा फैलिएर रहेको २ सय ५ घरधुरीमा धारा निर्माण गरी वितरण गर्ने काम चानचुने पक्कै थिएन ।

बर्षौ बर्ष एउटै खानेपानी योजनामा रकम खन्याईरहने र अधुरो छोड्नेहरुका लागि यो योजनाले एउटा सबक सिकाएको छ । अनुभवी र कुशल नेतृत्वकर्ता, सवल र सक्षम विकास साझेदार र जिम्मेवारी प्रति बफादार जनशक्ति भएमा छोटो समयमै ठूलो खानेपानी योजना सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य यो योजनाले प्रमाणित गरेको छ । टुनीगैरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर सुनार यसका प्रत्यक्ष साक्षी मात्र नभई श्रमदाता समेत हुनुहुन्छ ।
‘असार भित्र काम नसके गाउँपालिकाको रकम फ्रिज हुन्छ, रकम फ्रिज भए यो योजना अर्को बर्ष पनि सम्पन्न गर्न गाह्रो हुन्छ र हामी स्वच्छ पानी पाउनबाट वञ्चित हुन्छौं भन्ने कुरा दिमागमा गढेर बसेको थियो’ अध्यक्ष सुनार भन्नुहुन्छ ‘यसैका कारण बिहान ६ बजेदेखि राती ९ बजेसम्म टर्चलाइट बालेर पनि काम गर्यौं ।’

हेल्भेटास नेपालको वस्तुगत तथा नगद सहयोग, गाउँपालिकाको नगद अनुदान र समुदायले गरेको श्रमदान सहित कुल १ करोड २७ लाख ७ हजार ४ सय २३ रुपैयाँ लागतको योजनामा महाबु गाउँपालिकाले २९ लाख ८२ हजार ७ सय ९७ रुपैयाँ अनुदान सहयोग गरेको थियो ।
अध्यक्ष सुनार भन्नुहुन्छ ‘स्थानीय सरकारको भूमिका पनि राम्रो रह्यो, बेलैमा पैसा निकासा दियो । बेलैमा पैसा नआएको भए हामीले किन्नुपर्ने सामान किन्न पाउँदैनथ्यौं, बजेट फ्रिज जान्थ्यो अनि हामी असफल हुन्थ्यो ।’
प्राविधिकले क्याम्प नै खडा गरे
यस अघि पनि गाउँमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्नुभएका सुनारले यसपाली जस्तो कडा काम कहिल्यै नगरेको सुनाउनुभयो । आफू समाजका लागि केही गर्छु भनेरै अध्यक्ष भएकाले उमेर र समयको समेत पर्वाह नगरी रातीसम्म पनि काम गर्नुभएको र त्यसमा आफूहरुलाई प्राविधिकले पूर्ण साथ दिएको बताउनुभयो ।
‘छोटो समयमा गुणस्तरीय काम गर्न समितिले मात्र सम्भव नहुने र यसमा संलग्न सबैको भूमिका अहं रहेको अध्यक्ष सुनार बताउनुहुन्छ । ‘आफूले जिम्मा लिएको कामलाई जसरी पनि राम्रो सँग सम्पन्न गर्छु भन्ने ध्येयले काम गरें, रिसाएर होइन, तिनलाई मनभित्र पसेर सबैको सहयोग लिएँ, संस्थाका कर्मचारीहरुको भूमिका त भनिसाध्य छैन’ उहाँले भन्नुभयो ‘‘प्राविधिकहरुले हामीलाई एक पाइला पनि छोडेनन् भन्दा पनि हुन्छ, उहाँहरु अड्डा नै जमाएर बस्नुभयो । अध्यक्ष सोझा सीधा छन्, तोकिएको समयमा सम्पन्न गर्न गाह्रो पर्छ कि भनेर होला ? हेल्भेटास र सोसेक नेपालका प्राविधिक सरहरुले यो योजनालाई विशेष ध्यान दिनुभयो ।’

हामीले टुनीगैरा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष इन्द्र बहादुर सुनारसँग छोटो समयमै ठूलो खानेपानी योजना सम्पन्न गर्न कस्तो तरिकाले काम गर्नुपर्दो रहेछ ? यसका लागि क कसको भूमिका कस्तो भयो भने छोटो समयमै जटिल कामहरु पनि सम्पन्न गर्न सकिँदो रहेछ भनेर सोधेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
खानेपानी योजनामा निर्माणको चरणमा विभिन्न पक्षबाट भएको अनुगमनले संरचनाको गुणस्तर सुधारमा मद्दत पुगेको उहाँको भनाइ छ । ‘अनुगमनले बिग्रेको कुरा सुधार्ने मौका दिने रहेछ, कार्यस्थलमा दिइने सुझावले निर्माणकै चरणमा सुधार ल्याउन सकिएको मैले अनुभव गरेको छु’ उहाँले भन्नुभयो ।
महाबु गाउँपालिकाको वडा नं. १ का २०५ घरपरिवार स्वच्छ पानी उपलब्ध गराउन वस्तुगत तथा नगद गरी हेल्भेटास नेपालले ६७ लाख १७ हजार ७५ रुपैयाँ लगानी गरेको छ भने समुदायले ३० लाख ७ हजार ५ सय ४९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । लाभान्वित घरपरिवार मध्ये ५४ घर दलित, ४१ घर जनजाति र ११० घर अन्य छन् ।



857 पटक हेरिएको 

