ललितपुर : गोदावरी खोलामा भैरहेको निरन्तरको सफाइ अभियानका कारण फोहोर फ्याँक्ने क्रम घटे पनि खोला वरपरका उद्योगले रासायनिक पदार्थ मिसिएको फोहोरपानी फ्याँक्दा खोला थप प्रदुषित भएको छ । उद्योग तथा कलकारखाना बाट उत्पादित पानीको प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि गोदावरी क्षेत्रका उद्योगहरुले प्रशोधन नगरी सीधै खोलामा विसर्जन गर्दै आएका छन् ।
गोदावरीको मुहानमा पानी खान योग्य भएपछन तल्लो क्षेत्रमा उद्योगहरुले मिसाएको रसायनयुक्त पानीका कारण खोलामा प्रदुषण बढेको गोदावरी खोला क्षेत्र सरसफाइअभियानकी अभियन्ता बेबी राजभण्डारीले बताउनुभयो । अभियन्ता सधै खोलामा पसेर फोहोर संकलन गर्दा समस्या समाधान नहुने देखेर छलफल बहस र सचेतनामूलक कार्यक्रमहरुले नतिजा दिन थालेको उहाँले बताउनुभयो ।
सरसफाइ अभियान विगत २ सय ४२ हप्तादेखि जारी छ । अभियान कर्मनासा र नल्लु खोलामा समेत विस्तार भएको छ । स्थानीयहरु गोदावरीमा कारखानाबाट दुर्गन्धयुक्त फोहोर मिसिएको पानी फ्याँक्दा बस्तीमा समस्या भएको बताउछन् ।
गोदावरी नगरपालिकाको वडा नं. का अध्यक्ष राज घिमिरेले वियर कारखानालाई रसायुक्त पानी विसर्जन नगर्न सचेत गराएको र प्रशोधित पानी मात्रै फ्याँक्ने व्यवस्था गराएको बताउनुभयो । गुनासो गर्ने व्यक्तिले वडामा निवेदन दिए कारवाही अघि बढाउने अध्यक्ष घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।