
काठमाडौ : सार्वजनिक शौचालय पूर्वाधार मात्र नभई जनस्वास्थ्य सँग प्रत्यक्ष सम्बन्ध राख्ने बिषय पनि भएकाले सार्वजनिक शौचालय सुरक्षित र व्यवस्थित हुनुपर्नेमा जोड दिईएको छ । विश्व शौचालय दिवसको अवसरमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको ‘सार्वजनिक शौचालयको व्यवस्थापन’ विषयक गोष्ठीमा वाटर एड नेपालका कन्ट्री डाइरेक्टर तृप्ति राईले सार्वजनिक शौचालय निर्माण गरेर सेवा प्रवाह गर्ने काम सार्वजनिक सेवाको बिषय भएको र यो जनस्वास्थ्य सँग सम्बन्धित रहने बताउनुभयो ।
सार्वजनिक शौचालयहरु शहरी सरसफाइको लागि एक अभिन्न पूर्वाधार त हो नै, यसको सम्बन्ध मानव स्वास्थ्य सँग जोडिएको बिषय हो । सार्वजनिक शौचालय सुरक्षित नभएमा जनस्वास्थ्यका विभिन्न समस्याहरु सिर्जना हुने उहाँको भनाइ थियो । त्यसैले सार्वजनिक शौचालय सधैं सफा राख्नुपर्ने, सबैको प्रयोगकर्ताको लागि उपयुक्त हुनुपर्ने र प्रयोगयोग्य हुनुपर्ने उहाँले बताउनुभयो ।
वाटर एड नेपालले सार्वजनिक शौचालय निर्माणको क्षेत्रमा बर्षौदेखि काम गर्दै आएको र यस क्रममा थुप्रै सिकाईहरु आर्जन गरेको उहाँले बताउनुभयो । ‘सार्वजनिक शौचालय निर्माणको काम गर्दा विविध अवरोधहरु आउने रहेछ । मुख्यतः प्रभावकारी भूमिका र जिम्मेवारीको बाँडफाँट नहुनु र जवाफदेहिताको अभाव नै चुनौती रहेछ’ उहाँले भन्नुभयो ।
शौचालय निर्माणको चरणमा जस्तै सञ्चालन गर्ने क्रममा पनि धेरै चुनौतीहरु आउने उहाँको भनाइ छ । ‘जग्गा प्राप्ति, पानीको नियमित उपलब्धता, मानिसको सोचाई, व्यवहार र दृष्टिकोणले पनि शौचालय सञ्चालनमा समस्या पार्ने रहेछ’ उहाँले भन्नुभयो ।
शौचालय फोहोर हो भन्ने मानसिकता रहेको ठाउँमा यसलाई सफा राख्ने दायित्व हामी सबैको हो र यसलाई सफा सुग्घर राखेर सञ्चालन गर्न सकिन्छ भन्ने सोचाईको विकास गराउन निक्कै मुश्किल परेको उहाँको अनुभव छ ।
उहाँले मानव जीवनको लागि सरसफाइ महत्वपूर्ण छ भन्दा भन्दै पनि प्रगतिको गति एकदम ढिला भएकाले यसलाई गति दिनुपर्ने आवश्यकता औल्याउनुभयो । संयुक्त राष्ट्र संघको आव्हानमा सन २०१३ देखि हरेक बर्षको नोभेम्बर १९ तारिख लाई विश्व शौचालय दिवसको रुपमा विश्वभरि मनाउँदै आएको छ । यस बर्षको नारा परिवर्तनको गति बढाउँदै (Accelerating Change) भन्ने रहेको छ ।
सन् २०१५ देखि २०२२ को बीचमा नेपालले आधारभूत सरसफाइमा उल्लेख्य प्रगति हासिल गर्दै विश्वका देशहरुमा दोस्रो र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको छ ।
नेपालले भने ७ बर्षको अवधिमा २२ प्रतिशत बढाएर विश्वको दोस्रो देश बन्न सफल भएको हो । नेपाल भन्दा अगाडि अर्थात पहिलो स्थानमा कम्बोडिया रहेको छ ।
डब्लु.एच.ओ. र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) ले प्रकाशित गरेको घरेलु खानेपानी, सरसफाइ र स्वच्छता प्रतिवेदन अनुसार भारत नेपाल भन्दा एक अंक तल छ ।
WHO/UNICEF को संयुक्त अनुगमन कार्यक्रम (JMP) ले दिगो विकास लक्ष्य (SDG) र खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी सूचकहरूको विश्वव्यापी प्रगतिको अनुगमन गर्दछ । व्ःए ले घरपरिवार, विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा भएको प्रगतिको राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी आँकडाहरु प्रस्तुत गर्दछ ।


797 पटक हेरिएको 

