
सुनसरी : सुनसरीको गढी गाउँपालिका वडा नं. ४ स्थित महेता टोललाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको छ । ६५ घरको मेहता टोलले स्वच्छ र सफा क्षेत्र घोषणाका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि कोशी प्रदेश सांसद रामदेव यादवले मेहता टोललाई स्वच्छ र सफा क्षेत्र घोषणा गर्नुभयो ।
घोषणा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद रामदेव यादवले २०५४ सालतिर गाउँमा चर्पी निर्माणका लागि आफू समेत खटेको स्मरण गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन कति पनि सजिलो नहुने बताउनुभयो ।
विभिन्न चुनौतीका बाबजुद पनि गढी गाउँपालिका अन्तर्गतका विभिन्न टोलमा सकारात्मक बानी व्यहोरा परिवर्तन र सफा र स्वच्छ समुदाय घोषणा गर्न सफल भएकोमा सि.एस.डी.सी. र प्लान इन्टरनेशनल नेपाललाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले आफू प्रदेश सभा सदस्य भएको नाताले खानेपानी र सरसफाइको प्रादेशिक ऐन पास गर्न गराउन सहयोग गर्ने र खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकासको लागि व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घोषणा कार्यक्रममा सि.एस.डि.सि.का कार्यक्रम संयोजक हरि बुढाथोकीले सरसफाइका सबै सूचकहरु पूरा गरी सफा र स्वच्छ क्षेत्र गर्ने काम नागरिकको जीवन रक्षाको काम भएको बताउनुभयो । उहाँले खुला दिसामुक्त अभियान सुरु हुनु भन्दा पहिले झाडापखाला र पानीजन्य रोगहरुबाट कैयन बालबालिका पाँच बर्ष पूरा गर्न नपाई मृत्यु हुने गरेको दृष्टान्त सुनाउँदै अहिले यो अवस्था निक्कै न्यून भएको बताउनुभयो ।
गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले वास दिगो विकास लक्ष्य परियोजनाले गाउँपालिकाको खानेपानी, सरसफाइ र स्वच्छतामा धेरै योगदान पु¥याएको बताउनुभयो । उहाँले परियोजना मार्फत हालसम्मको प्राप्त उपलब्धीको रक्षा गर्न र कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाकै लगानीमा वास च्याम्पियनहरु परिचालन गरिने बताउनुभयो ।

कार्यक्रमको दिगोपनाको लागि आवश्यक वास कानुनहरु निर्माण भएको र ती कानुनहरुलाई चाँडै पारित गरी कार्यान्वयनमा लैजाने गाउँपालिकाको योजना रहेको उहाँले सुनाउनुभयो ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी साहले स्वच्छ र सफा क्षेत्र घोषणा हुनु भनेको टोलको ठूलो इज्जत भएको बताउनुभयो । उहाँले यो इज्जतलाई जोगाईराख्न आग्रह गर्दै यसका लागि सबैले आफ्नो घरआँगनको सरसफाइ, चर्पीको समुचित प्रयोग, सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत तथा घरायसी र वातावरणीय सरसफाइ राख्न आग्रह गर्नुभयो ।

मेहता टोल स्वच्छ र सफा समुदाय घोषणा कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वनका लागि क्रियाशील वास च्याम्पियनहरु अर्जुन कुमार मेहता र विमला साहलाई एक/एक थान साइकल र प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो ।
घोषणा सभाको सभापति समेत रहेका वडा नं. ४ का अध्यक्ष अध्यक्ष राम सेवक साहु तेलीले सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले सरसफाइका सबै सूचकहरु पूरा गर्न क्रियाशील समुदायका सबै घरपरिवारलाई धन्यबाद व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । ‘सबैले साथ दिएको खण्डमा अन्य टोलहरुमा समेत यो कार्यक्रमलाई विस्तार गर्नेछु’ उहाँले भन्नुभयो ।

घोषणा कार्यक्रमका थप फोटाहरु :






520 पटक हेरिएको 

