वास दिगो विकास लक्ष्य परियोजनाको सामाजिक लेखाजोखा

  वास खबर सम्वाददाता  605 पटक हेरिएको

सुनसरी : सुनसरीको रामधुनी नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी) परियोजनाको सामाजिक लेखाजोखा गरिएको छ ।

वास एस.डि.जी. कार्यक्रम मार्फत रामधुनी नगरपालिकामा सञ्चालित कार्यक्रमहरु, ती कार्यक्रमले समुदायमा पुर्‍याएको योगदान, कार्यक्रम सञ्चालन अवधिमा भएका लगानी र परिणाम लगायत बिषयको लेखाजोखा गरिएको हो ।

नगरपालिकाका मेयर, उपमेयर, नगरपालिकाका विभिन्न विषयगत समितिका प्रमुख तथा सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी, कार्यपालिका सदस्यहरु, नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा गरिएको सामाजिक लेखाजोखा कार्यक्रममा प्रारम्भिक अवधि र अन्तिम अवधि सम्मको परिणाम प्रस्तुत गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) ले सन् २०१८ देखि वास एस.डि.जी. कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सन् २०१८ मा ७९ प्रतिशत जनसंख्याको खानेपानीमा पहुँच रहेकोमा सन् २०२३ मा ८८ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको सि.एस.डि.सी.द्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रारम्भिक अवधिमा ५ प्रतिशतमा सीमित रहेको सुरक्षित सरसफाइ अभ्यास अहिले २६ प्रतिशतमा पुगेको उल्लेख छ ।

आधारभूत स्वच्छता स्तर ६.२ प्रतिशतबाट बढेर ८५.५ प्रतिशत जनसंख्यामा पुगेको छ । यस्तै पछाडि पारिएका वर्गको निर्णय प्रक्रियामा सहभागिता स्तर प्रारम्भिक अवधिमा ६ प्रतिशत रहेकोमा अहिले ९ प्रतिशत पुगेको छ । विद्यार्थी अनुपातमा शौचालय संख्या पनि बढेको छ । प्रारम्भिक अवस्थामा २१४ जना छात्राको लागि एउटा शौचालय रहँदै आएकोमा अहिले १०५ जना छात्रा बराबर एउटा शौचालय भएको छ ।

यस्तै १०५ जना छात्र बराबर एउटा शौचालय रहँदै आएकोमा अहिले उक्त संख्या ६७ जना छात्र बराबर एउटा शौचालय हुन आएको देखिएको छ ।

कार्यक्रम अन्तर्गत समुदाय स्तरमा १३२ जनालाई स्वच्छता सामग्री वितरण गरिएको, अपाङ्गता भएका महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम तथा व्यवसाय प्रबर्द्वनमा स्वच्छता सामग्री सहयोग गरेको, स्वच्छ पिउने पानीमा मर्मत सम्भार गरेको सि.एस.डि.सी.का कार्यक्रम संयोजक हरि बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रम सञ्चालनको दौरानमा ४ वटा विद्यालयमा बालमैत्री हात धुने स्थान निर्माण र ३ वटा विद्यालयमा महिनावारी स्वच्छता कक्ष निर्माण भएका छन् ।

२ वटा स्वास्थ्य चौकीमा पोषण बृद्धि मापन यन्त्र सहयोग गरिएको, ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरुलाई प्लम्बिङ तालिम दिएको, २०५ घरायसी स्तरमा ट्युबेल प्लेटफर्म निर्माण गरिएको र २ वटा विद्यालयमा आर.ओ जडान गरिएको उहाँले बताउनुभयो ।

यस्तै वासको सुशासन सवलीकरणका लागि वास प्लान निर्माण गरिएको, वास च्याम्पियन र प्रतिनिधीहरुलाई एन वास तालिम दिईएको कार्यक्रम संयोजक बुढाथोकीले बताउनुभयो ।

यस्तै पालिकाको अनुगमन समितिलाई अनुगमन चेकलिष्ट विकास सम्बन्धी तालिम दिईएको, वास प्लान निर्माणमा सहजीकरण र सहयोग गरिएको र वास ऐन, नीति नियम र कार्यविधि निर्माणमा सहजीकरण गरिएको बताउनुभयो ।

उक्त कार्यक्रमहरु सञ्चालन गर्न वास एस.डि.जी.परियोजना मार्फत करिब ८६ लाख रुपैयाँ खर्च भएको विवरण संस्थाले सार्वजनिक गरेको छ ।

सामाजिक लेखाजोखा कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरीले सि.एस.डि.सीले समुदायका मानिसहरुको स्वच्छता सम्बन्धी बानी व्यहोरा परिवर्तनका लागि ठूलो योगदान पुर्‍याएको बताउनुभयो । उहाँले संस्थाले रामधुनी नगरपालिकामा लामो समयदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सेवा पुर्‍याउदै आएको र भावी दिनमा समेत कुनै न कुनै कार्यक्रमको माध्यमबाट सहकार्य हुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) का अध्यक्ष इन्द्र कर्णले सि.एस.डि.सी. ले लामो समयदेखि सुनसरी, मोरङ जिल्लाका विभिन्न क्षेत्र, वर्ग तथा समुदायको स्वास्थ्य, सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन, प्रकोप न्यूनीकरण तथा विपद व्यवस्थापनको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको उल्लेख गर्दै अरु कुनै न कुनै कार्यक्रमको माध्यमबाट रामधुनीमा सहभागिता जनाउने बताउनुभयो ।

सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) २०५६/०५७ सालमा जिल्ला प्रशासन कार्यालय तथा समाज कल्याण परिषदमा दर्ता भएको सामाजिक संस्था हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार