
सुनसरी : ‘हरेक घरमा शौचालय, शौचालयको ढोकैनेर एक जोर चप्पल, शौचालय नजिकै साबुन सहितको हात धुने स्थान ।’
सुनसरीको गढी गाउँपालिका वडा नं. २ स्थित मुसहरी टोलको अनुगमन गर्न पुगेको अनुगमन टोली यो दृश्य देखेपछि आश्चर्यमा परे ।
‘मुश्हरी बस्तीको सरसफाइको अवस्था यस्तो होला भनेर सोचेकै थिएनौं’ अनुगमन टोलीका सदस्य गढी गाउँपालिकाका प्रशासन शाखा अधिकृत उमेश कोइरालाले भन्नुभयो । वास फोकल पर्सन सरिता राईले पनि मुश्हरी बस्तीको सरसफाइ देखेर आश्चर्य प्रकट गर्नुभयो । ‘मैले यत्ति सफा टोल होला भनेर कल्पना पनि गरेकी थिइन, उहाँहरुको टोल सफा र स्वच्छ क्षेत्र घोषणाको संघारमा पुगिसकेको रहेछ ।’

सफा र स्वच्छ टोल घोषणाको प्रक्रियामा रहेको मुश्हरी टोलको वडास्तरीय अनुगमन गरिएको हो । वडा नं. २ का अध्यक्ष प्रभाकर माझीको नेतृत्वमा गरिएको अनुगमनमा सफा र स्वच्छ चरण अन्तर्गतका सूचकहरुको चेक लिष्टको आधारमा अनुगमन गरिएको थियो । मुश्हरी बस्तीमा ३३ घरपरिवारको बसोबास छ ।
अनुगमन गर्दै वडाध्यक्ष माझीले वास एस.डि.जी. परियोजनाद्वारा स्वच्छता बानी व्यवहार परिवर्तन कक्ष सञ्चालन गरेपछि मुश्हरी वस्तीको सरसफाइ आजको अवस्थामा आईपुगेको बताउनुभयो । उहाँले सबै घरमा शौचालय भएपनि कतिपय घरको शौचालय सँग हात धुने स्टेशन व्यवस्थित नभएकाले तत्काल सुधार गर्न आग्रह गर्नुभयो ।

‘धेरै सकारात्मक परिवर्तनहरु आईसकेको भेटियो, सफा घर आँगन र व्यक्तिगत सरसफाइमा पनि सचेत रहेको पाईयो’ उहाँले भन्नुभयो ‘यो उदाहरणीय वस्तीका बासिन्दालाई धेरै धेरै धन्यबाद ।’
टोलबासीहरुले सकारात्मक काममा निरन्तरता दिएमा थप योजनाहरु प्राथमिकतामा राखी विनियोजन गर्ने वडाध्यक्ष माझीको प्रतिबद्धता थियो ।

वडास्तरीय अनुगमनमा वडा समितिका सदस्यहरु, पालिकाको वास फोकल पर्सन, प्रशासन शाखा प्रमुख र वास एस.डि.जी.परियोजनाका कार्यक्रम संयोजक, सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) का कर्मचारीहरुको सहभागिता थियो ।
सफा र स्वच्छ क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचकहरु पूरा भएपछि वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (वडा वास सीसी) ले प्रमाणीकरण गर्नेछ । त्यसपछि मुश्हरि टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिने वास एस.डि.जी. परियोजनाकी वास सुपरभाइजर रक्षा सिंहले बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) ले सन् २०१९ देखि वास एस.डि.जी. कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
अनुगमनका थप फोटाहरु :








777 पटक हेरिएको 

