धादिङ : काठमाडौबाट पोखरा तर्फ जाँदा त्रिभुवन राजपथमा पर्ने नौबीसे पार गरेपछि आउँछ धुनिबेसी नगरपालिकाको खानीखोला । त्यहीनेर सडकको बायाँपट्टि देखिन्छ ‘आकाश भैरव फ्युल सेन्टर ।’
प्रायः जसो पेट्रोल पम्पको शौचालय त्यत्ति प्रयोगमैत्री हुँदैनन् । एक त पम्पमा शौचालय नै पर्याप्त हुँदैनन् । अर्को तिर भएका शौचालयमा पनि ढोका बन्द गरिएको हुन्छ ।
तर धुनिबेसी ६ खानीखोलामा रहेको आकाश भैरव फ्युल सेन्टरको शौचालय यो भन्दा भिन्न थियो ।
फ्युल सेन्टरमा महिलाका लागि तीन वटा र पुरुषका लागि तीन वटा शौचालय निर्माण गरेको पाईयो । पुरुषहरुका लागि ६ वटा युरिनल र त्यसमा पनि अग्लो व्यक्तिका लागि अग्लै र होचाका लागि होचै युनिरलको व्यवस्था गरेको भेटियो ।
यस्तै अपाङ्गता एवं असक्त व्यक्तिको लागि समेत छुट्टै शौचालयको व्यवस्था गरिएको पाइयो ।
वाटर एड नेपालले आयोजना गरेको #TalkToilet टुरका सहभागी सोमबार पेट्रोल पम्पको शौचालय अवलोकनका लागि पुग्दा भर्खरै सफा गरेको अवस्थामा भेटियो । शौचालयमा साबुन सहितको हात धुने बेसिन पनि बनाएको पाईयो ।
यस्तो सुविधायुक्त शौचालय भएको पेट्रोल पम्पको सञ्चालक भने धुनिबेसी नगरपालिकाको उपमेयर सुरज उप्रेती हुनु हुँदो रहेछ । शौचालयका प्रयोगकर्ताहरु पेट्रोल भर्न आउने ग्राहक मात्र नभई गाडीका यात्रु, वरपरका होटलका ग्राहक समेत रहेको उहाँले बताउनुभयो ।
‘गाडीमा बुढाबुढी अशक्त मानिसहरु समेत आवातजावत गर्नुहुन्छ, पेट्रोल भर्ने क्रममा शौचालय खोज्नुहुन्छ, तर आम प्रयोगकर्ताले प्रयोग गर्ने शौचालयमा उहाँहरु जान सक्नु हुन्न, त्यसैले असक्तमैत्री शौचालय निर्माण गरेको हुँ’ उप प्रमुख उप्रेतीले भन्नुभयो ।
असक्तहरुका लागि निर्माण गरिएको उक्त शौचालय सम्म जानका लागि रेलिङको व्यवस्था भने थिएन । उहाँले #TalkToilet टुरको टोलीसँग रेलिङ समेत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

के पेट्रोल पम्पमा शौचालय हुनैपर्छ ?
पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने स्थानमा महिला र पुरुष तथा अपाङ्गता भएका व्यक्तिका लागि शौचालय अनिवार्य हुनैपर्छ । पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ ले यो प्रावधान ल्याएको हो ।
विनियमावलीको परिच्छेद–३ को विक्रेता बिक्री स्थलको मापदण्ड सम्बन्धी व्यवस्था अन्तर्गत बुँदा नं. १५ को (छ) मा ‘बिक्री स्थलमा पुरुषको हकमा न्यूनतम दुईवटा ट्वाइलेट सहितको ६ वटा युरिनल, महिलाको हकमा न्यूनतम दुईवटा ट्वाइलेट र अपांगमैत्री एक ट्वाइलेटको व्यवस्था हुनुपर्ने’भनिएको छ ।
त्यस्तैस बुँदा नं. १५ (झ ) मा बिक्री स्थलमा कार्यालय, बिक्री कक्ष, स्वस्थ्यकर पिउने पानी हुनुपर्ने व्यवस्था गरिनु पर्ने भनिएको छ । र पनि अधिकांश पेट्रोल पम्पहरुले भने यो मापदण्ड पूरा गरेको पाईदैन ।
राजमार्गको सबै होटेलमा शौचालय
सो अवसरमा धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले पछिल्लो समय सडकको दायाँ बायाँ रहेका होटल, लजहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने लहर नै चलेको जानकारी गराउनुभयो । सार्वजनिक शौचालयको आवश्यकताबारे नगरपालिका बेला बखत अभिमुखीकरण पनि गर्दै आएको, राजमार्गका हरेक होटेलमा व्यवस्थित शौचालय हुनुपर्छ भनेर अभियान नै सञ्चालन गर्दै आएको, खानेकुराको स्वच्छता कायम राख्न नियमित अनुगमन गर्दै आएको उहाँले बताउनुभयो ।
नगरपालिकाले भने सार्वजनिक शौचालयको क्षेत्रमा लगानी गर्न प्रयास गर्दा गर्दै पनि कानुनी जटिलताका कारण सम्भव नभएको बताउनुभयो । ‘यो राजमार्ग राष्ट्रिय राजमार्ग हो, यसमा हाम्रो क्षेत्राधिकारले दिदैन । सडकको जग्गामा स्थानीय तहले शौचालय बनाए बेरुजु आउँछ । बाहिर बनाउँ भने जग्गा उपलब्ध हुँदैन’ आचार्यले भन्नुभयो । यसैका कारण सार्वजनिक शौचालय निर्माण गर्न अघिल्ला बर्षहरुमा छुट्याएको रकम पनि खर्च हुन नसकेको उहाँले बताउनुभयो ।
#TalkToilet अभियानको टोलीले नयाँ बसमा रहेको सार्वजनिक शौचालय, स्थानीय सरकारको मातहतमा रहेको नागढुंगामा रहेको सार्वजनिक शौचालय, नौबीसेमा खाजा पसलले निर्माण गरी सञ्चालन गर्दै आएको शौचालय र खानीखोलामा निजी लगानीमा निर्माण भएको शौचालयको समेत अवलोकन गरेको थियो ।
लैङ्गिक अल्पसंख्यकका लागि संकेत चिन्ह हुनुपर्ने
टोलीमा सहभागी ब्लु डायमण्ड सोसाईटीका भूमिका श्रेष्ठले सार्वजनिक शौचालयमा महिला र पुरुषका लागि भनेर संकेत चिन्ह राखिएको भए पनि लैङ्गिक अल्पसंख्यकहरुका लागि कुनै पनि शौचालयमा यस्तो व्यवस्था नभएको बताउनुभयो । ‘लैङ्गिक अल्पसंख्यकहरुका लागि छुट्टै शौचालय निर्माण गर्न त परेन, तर लैङ्गिक हिसाबले ‘तटस्थ’ भनेर संकेत चिन्हको व्यवस्था गर्न सकेमा राम्रो हुने थियो ।’
सार्वजनिक शौचालयहरुको अवलोकन गरेपछि ३त्बपित्यष्भित अभियानका सहभागीहरुले सार्वजनिक शौचालयको क्षेत्रमा क्रमशः सुधार हुँदै गएको आभाष मिलेको बताउनुभयो ।
क्रमशः सुधार हुँदै सार्वजनिक शौचालय
सार्वजनिक शौचालय फोहोर हुने भएकाले टाढाको दुरीमा यात्रा गर्दा पिसाब थामेर हिडेको, पानी कम पिएर हिडेको र बाहिर पिसाब गर्न सजिलोको लागि पाईन्टको सट्टा कुर्ता सुरुवाल लगाएको जस्ता अनुभव समेत सहभागीले बताएका थिएँ ।
‘तर अहिले पिसाब नै च्यापेर यात्रा गर्नुपर्ने, पानी समेत नपिईकन हिड्नुपर्ने अवस्था रहेनछ, सार्वजनिक शौचालयहरुको अवलोकन गरेपछि त्यो बोध भयो, सबै कुराले सुविधा सम्पन्न बनाउन त धेरै बाँकी छ, तर पहिले भन्दा धेरै सुधार हुँदै गएको पाएँ’ अभियानमा सहभागी भिन्तुना श्रेष्ठले भन्नुभयो ।
वाटर एड नेपालकी नीति तथा पैरवी प्रमुख सीमा रजौरियाले राजमार्गमा रहेका विभिन्न खालका शौचालयहरु अवलोकन गर्दा पहिलेको तुलनामा धेरै परिवर्तन हुँदै गएको पाएको बताउनुभयो । उहाँले सरकारको मातहतमा सञ्चालित शौचालय भन्दा तुलनात्मक रुपमा निजी क्षेत्रद्वारा सञ्चालित सार्वजनिक शौचालयमा स्वच्छता कायम गर्न प्रयासरत भएको भेटिएको बताउनुभयो ।
कतिपय साना साना किराना पसल सञ्चालकले समेत सार्वजनिक शौचालय निर्माण गरी सेवा दिईरहेको र त्यसमा पनि महिलालाई केन्द्रित गरेर शौचालय निर्माण गर्न खोजिएको देखिएको बताउनुभयो । ‘सार्वजनिक शौचालय निर्माण तथा यसमा हुनुपर्ने न्यूनतम मापदण्डहरु पूरा गर्न प्रयत्नरत देखिन्छ, यो एकदमै सकारात्मक कुरा हो’ उहाँले भन्नुभयो ।
सार्वजनिक शौचालयमा हुनैपर्ने ६ कुरा
वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द श्रेष्ठले सार्वजनिक शौचालयमा न्यूनतम ६ वटा मापदण्ड हुनैपर्ने बताउनुभयो । यी हुन् :
१. सुरक्षित र गोपनियता कायम हुनुपर्ने ।
२. सबैका लागि पहुँचयोग्य हुनुपर्ने ।
३. स्वच्छ र सफा (महिनावारी स्वच्छता समेत कायम गर्न सकिने) हुनुपर्ने ।
४. सुलभ र किफायती हुनुपर्ने ।
५. चाहिएको बेला उपलब्ध हुनुपर्ने ।
६. नियमित सञ्चालन र मर्मत सम्भार हुनुपर्ने ।
#TalkToilet टुरमा खानेपानी मन्त्रालय एवं खानेपानी विभागका सिनियर डिभिज्नल इन्जिनियरहरु, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, खानेपानी र सरसफाइ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सरसफाइ अभियन्ता, पत्रकार लगायतको सहभागिता थियो ।
#TalkToilet एक अभियान हो । जसले सार्वजनिक शौचालयको अध्ययन अवलोकन गरी त्यसमा हुनुपर्ने न्यूनतम सुविधाहरुको वकालत गर्छ । अभियानले सार्वजनिक शौचालयमा हुनुपर्ने मापदण्डहरुको बिषयमा पैरवी तथा सरकारलाई नीतिगत सुधारका लागि सुझाव प्रदान गर्ने वाटर एडका कार्यक्रम प्रमुख सर्वज्ञ श्रेष्ठले बताउनुभयो ।