
ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं ४ स्थित जावलाखेलमा बन्ने अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास गरिएको छ । ललितपुर महानगरपालिका र एरोसान सस्टेनेवल स्यानिटेशनको साझेदारीमा बन्न लागेको वातावरणमैत्री शौचालयको मेयर चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो ।
जावलाखेलमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय प्रविधियुक्त, महिलामैत्री, अपाङ्गमैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री हुने एरोसान सस्टेनेवल स्यानिटेशका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शौचालयमा महिलाहरुका लागि ३ वटा शौच गर्ने, पुरुषका लागि ५ वटा युरिनल र २ वटा शौच गर्ने, अपाङ्गता भएकाहरुका लागि १ वटा शौच कक्ष तथा महिला पुरुषहरुका लागि १/१ वटा स्नान कक्ष रहनेछन् ।
शौचालयमा रोग संक्रमण न्यूनिकरणका लागि स्वचालित उपकरणहरु जडान गरिनेछ । शौचालयमा स्वचालित फ्लस, स्वचालित बत्तिहरु, स्वचालित सावुनको मेसिन, स्वचालित धाराहरुको प्रयोग गरिने कार्यक्रम अधिकृत श्रेष्ठले बताउनुभयो । ‘शौचालयमा महिलाहरुको लागि स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिनेछ’ उहाँले भन्नुभयो ।
एरोसानसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले सन् २०२० देखि अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको थालनी गरेको हो । हालसम्म ललितपुर महानगरसँगको समन्वयमा एरोसानले २ वटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरी सञ्चालन तथा व्यवस्थापन गर्दै आईरहेको छ ।
दुर्गन्धित भए महानगरपालिकामा अलार्म बज्छ : नगर प्रमुख महर्जन
सार्वजनिक शौचालय शिलान्यास कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिका भित्र अब बन्ने बन्ने सार्वजनिक शौचालयहरु फोहोर भएको अवस्थामा सोझै नगरपालिकाको कार्यालयमा अलार्म बज्ने प्रणालीको सुरुवात गरिने बताउनुभयो ।
उहाँले नगरको सार्वजनिक बिकास कार्यमा नगर व्यवस्थित तबरले लागि रहेको र सार्वजनिक शौचालयको बिकासमा पनि नगरले योजना बनाई अगाडि बढिसकेको जानकारी गराउनुभयो । उहाँले महानगरको प्रत्येक वडामा एक शौचालय निर्माण गर्ने अवधारणा अनुरुप हाल ११ वटा शौचालय निर्माण कार्यको थालनी भैसकेको बताउनुभयो ।

‘‘स्व. प्रकाश चन्द्र अमात्यसँगको सहकार्यमा अत्याधुनिक सार्वजनिक शौचालयको पाईलट परियोजना मंगलबजार र पाटनढोकामा गरी व्यवस्थित रुपमा सञ्चालनमा ल्याइसकिएको छ भने आगामी दिनमा पनि एरोसानसँगको सहकार्यमा महानगरले नगरभित्र विभिन्न स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।’ उहाँले भन्नुभयो ‘जावलाखेलमा निर्माण हुने शौचालयको सरसफाइ पाटन र मंगलबजारको शौचालय जस्तै सफा र दुर्गन्ध रहित हुने अपेक्षा गरेका छौ ।’’
कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले चिडियाखानामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सार्वजनिक शौचालयको आवश्यकता भईरहेको अवस्थामा एरोसान नेपालको सहकार्यमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण कार्यको सुरुवात हुँदा खुसी लागेको बताउनुभयो ।
८४१ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिने यस सार्वजनिक शौचालयलाई वातावरण मैत्री बनाउन शौचालयबाट निस्कने ठोस तथा तरल फोहोरलाई श्रोतमै व्यवस्थापन गर्न शौचालयमा ८ घन मिटरको वायोग्याँस प्लाण्ट र ५०० वर्ग फिट क्षेत्रफलबाट संकलन गर्न आकाशेपानी संकलन प्रविधि जडान गरिने अधिकृत श्रेष्ठले बताउनुभयो ।


792 पटक हेरिएको 

