माल पाएर पनि चाल नपाउँदा नेपालगन्जको स्मार्ट शौचालय भत्काईयो

  वास खबर सम्वाददाता  605 पटक हेरिएको
🔗
86
Shares


नेपालगन्ज : नेपाली उखानै छ ‘माल पाएर पनि चाल पाएन भने दुःख पाईन्छ ।’ नेपालगन्ज उपमहानगरपालिकाको सवालमा पनि ठिक यस्तै भएको छ । दाताले लाखौं रकम खर्च गरेर बनाईदिएको शौचालयको प्रविधिलाई अंगीकार गर्न नसक्दा शौचालय नै भत्काएर निमिट्यान्न पारिएको छ ।

नेदरल्याण्ड विकास नियोग (एसएनभी) नेपालले ४६ लाख ३६ हजार रुपैयाँ खर्चेर चार वर्ष अघि नेपालगन्जको धम्बोझी चोकमा स्मार्ट शौचालय बनाएर उपमहा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । उक्त शौचालय हस्तान्तरण भएको केही समयपछि नै शौचालय बन्द भयो । करिब ४ बर्षसम्म बन्द गरेर अन्तमा उपमहानगरपालिकाले शौचालय भत्काएको छ ।

आफैले बनाएर सञ्चालन गर्नुपर्नेमा दाताले बनाईदिएको अत्याधुनिक शौचालय समेत सञ्चालन गर्न नसकेर भत्काउनु लज्जाको बिषय त हो नै, नगरपालिकामा भएको प्राविधिक जनशक्तिको सक्षमतालाई पनि यसले मापन गरेको छ ।

२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो । दक्ष जनशक्ति राखेर संचालन गर्नुभन्दा भत्काउन सहज हुने भएपछि उपमहानगर भत्काउने निर्णयमा पुगेको बताईएको छ ।

शौचालयमा स्वचालित डिजिटल प्रविधि जडान गरिएको थियो । लामो समय संचालन नहुँदा सामानमा खिया लागेको थियो ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालय भित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने सेन्सर जडान गरिएको थियो। शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो भने शौच गर्दा स्वचालित रूपमा सङ्गीत बज्ने र जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न सक्ने बताइएको थियो ।
स्वचालित प्रबिधिबाट हात थाप्न साथ तरल साबुन र पानी झर्ने ब्यवस्था गरिएको थियो भने संगीत सुन्दै शौच गर्न पाइने भन्दै भन्दै यसको व्यापक प्रचार प्रसार भएको थियो ।

नेपालगन्जको केन्द्र धम्बोझी चोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा राखिएको डिजिटल शौचालय बनाइएको थियो । एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि सहितको यो शौचालय प्रयोगमा नआई भत्काइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले डिजिटल शौचालय भत्काएर अब सामान्य शौचालय बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले प्रबिधियुक्त शौचालय प्रयोगमा जटिलता उत्पन्न भएको र डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शौचालयमा परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार