वास दिगो विकास लक्ष्य परियोजनाको विधिवत समापन, कार्यक्रमहरु सम्बन्धित पालिकालाई हस्तान्तरण

  वास खबर सम्वाददाता  633 पटक हेरिएको
🔗
39
Shares


सुनसरी : लैङ्गिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजनाको विधिवत समापन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) सुनसरीले परियोजना सञ्चालित पालिकाहरुमा समापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा बाहिरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा विभिन्न स्थानीय साझेदारको सहजीकरणमा सिन्धुली र सुनसरी जिल्लामा वास दिगो विकास लक्ष्य परियोजना सञ्चालनमा रहेको थियो ।

सिन्धुली जिल्लामा केही दिन अघि नै औपचारिक रुपमा कार्यक्रमको समापन गरिए पनि सुनसरीमा भने हरेक पालिकामा समापन कार्यक्रमको आयोजना गरी परियोजनाले विदाइ लिएको वास एस.डि.जी.परियोजना सुनसरीका संयोजक हरि बुढाथोकीले जानकारी दिनुभयो ।


सम्बन्धित पालिकाहरुको समन्वय र अगुवाईमा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) को साझेदारीमा सुनसरीमा दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिकामा परियोजना सञ्चालन गरिएको थियो ।

परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल, वास एसडिजी परियोजना प्रवन्धक दुर्गा उप्रेतीले स्थानीय तहको अगुवाइ र अपनत्वमा मात्र कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले खानेपानी, सरसफाइ र स्वच्छताको दिगो विकास लक्ष्य हासिल गर्न स्थानीय तहमा आवश्यक नीति, पालिकास्तरीय वास प्लान निर्माण गरेको बताउनुभयो ।

‘वास प्लान कार्यान्वयनका लागि आवश्यक खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी स्थानीय ऐन र आवश्यक ६ वटा कानुन निर्माण गर्न प्राविधिक सहयोग ग¥यौं, वास प्लान निर्माणमा पालिकाहरुले ४० प्रतिशत लगानी साझेदारी गर्नुभयो, जसले गर्दा यो कार्यक्रमको निरन्तरता र दिगोपनमा हामी विश्वास गछौं’ उहाँले भन्नुभयो ।

यस्तै परियोजनाले पाँच बर्षको दौरानमा खानेपानी, सरसफाइ र स्वच्छताको आधार स्तम्भ खडा गरेको छ । सोही जगमा टेकेर अब भावी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने दायित्व स्थानीय सरकारमा आएको परियोजना संयोजक बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार परियोजनाद्वारा सञ्चालित कार्यक्रमहरु खानेपानी, सरसफाइ र स्वच्छता बानी व्यवहार परिवर्तन, खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारहरुको मर्मत सम्भार तथा स्तरोन्नति र वासका नीति, निर्देशिका निर्माण र संस्थागत संरचनाको प्रवलीकरणमा विशेष केन्द्रित थियो ।

परियोजना समापन तथा हस्तान्तरण कार्यक्रम आयोजना गर्नु अघि परियोजनाले कार्यक्रम सञ्चालित हरेक पालिकामा सामाजिक लेखाजोखा समेत गरिएको थियो ।

यी हुन् परियोजनाको परिणाम

परियोजनाको आधाररेखा सर्वेक्षण र अन्तिम सर्वेक्षणलाई तुलनात्मक रुपमा विश्लेषण गर्दा खानेपानी, सरसफाइ र स्वच्छताका विभिन्न सूचकहरुमा ठूलो सुधार भएको देखिएको छ ।

परियोजनाले सन् २०१८ मा आधार सर्वेक्षण गरेको सुरक्षित खानेपानी, सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ, आधारभूत स्वच्छता स्तर, पछाडि परेका वर्गको निर्णय प्रक्रियामा सहभागिता स्तर, विद्यार्थी अनुपातमा शौचालयको संख्या र वास प्लान, नीति निर्देशिका निर्माणको स्थितिबारे अन्तिम सर्वेक्षण गरी विश्लेषण गरेको हो ।

 

कार्यक्रमलाई निरन्तरता दिन्छौं : पालिकाहरु

परियोजना कार्यान्वयन गरिरहेका स्थानीय तहकाहरुले वास दिगो विकास लक्ष्य परियोजनाद्वारा सञ्चालित कार्यक्रमको दिगोपन र निरन्तरतामा जोड दिने बताएका छन् ।

नगरपालिकामा बाहिरबाट ज्ञान सीप र प्रविधि भित्राएर विभिन्न पद्धतिहरुको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थालाई यो स्तरमा पुर्‍याउन परियोजनाले सहयोग पुर्‍याएकोमा धन्यबाद व्यक्त गर्दै सम्बन्धित नगरपालिकाले यसलाई आफ्नो कार्यक्रम भित्र समाहित गरेर लैजाने र भोलिका दिनमा समेत निरन्तर जारी राख्ने पालिकाहरुको प्रतिबद्धता छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार