खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य परियोजनाको औपचारिक समापन

परियोजनाले कोरेको कार्यदिशा अवलम्बन गर्ने स्थानीय सरकारको प्रतिबद्धता

  वास खबर सम्वाददाता  605 पटक हेरिएको

सुर्खेत : खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य (वास एस डि जी) परियोजना औपचारिक रुपमा समापन गरिएको छ । सन् २०१८ को जुन देखि सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिका तथा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालित वास एसडिजी परियोजना बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकाको लागि संयुक्त कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

दुवै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अघिल्लो कार्यकालका जनप्रतिनिधीहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधी, परियोजना कार्यान्वयन संस्थाका पदाधिकारीहरुको उपस्थितिमा भएको समापन कार्यक्रममा वास एसडिजी परियोजनाका कन्ट्री को-अर्डिनेटर डा.मिङमा ग्याल्जेन शेर्पाले परियोजनाको रणनीतिक उद्देश्यहरु, परियोजनाको लक्ष्य, परियोजनाको रणनीतिक दृष्टिकोण, गतिविधि र उपलब्धीहरुका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।


प्रस्तुतीकरणका क्रममा उहाँले वास एसडिजी परियोजनाको रणनीति अनुरूप स्थानीय तहहरूमा दिगो विकास लक्ष्य प्राप्तिका लागि सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा पहुँच वृद्धि गर्दै लैङ्गिक समानता र समावेशीको आधारमा नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गरी क्षमता अभिवृद्धि गर्ने, खानेपानी तथा सरसफाइ सम्बन्धी नीति, नियम, निर्देशिका निर्माण र खानेपानी तथा सरसफाइ योजना तर्जुमा, बजेट विनियोजन, खानेपानी तथा सरसफाइ शाखा, उप–शाखा स्थापना गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।


परियोजनाका रणनीतिक उद्देश्य

वास दिगो विकास लक्ष्य परियोजनाले लिएका रणनीतिक उद्देश्यहरुबारे प्रकाश पार्दै परियोजनाका कन्ट्री को-अर्डिनेटर शेर्पाले भन्नुभयो

√ सुधारिएको खानेपानी तथा सरसफाइ सुविधाहरू र अभ्यासहरूको माग बढाउन व्यवहार परिवर्तनमा सुधार ल्याउने कार्यहरू गर्ने

√ खानेपानी तथा सरसफाइको दिगो र समतामूलक प्रयोगको लागि खानेपानी तथा सरसफाइ सेवा प्रावधानमा सुधार गरी खानेपानी तथा सरसफाइ उत्पादन र सेवाहरूको उपलब्धता र किफायतीमा वृद्धि गर्ने

√ स्थानीय सरकारहरूलाई समावेशी र दिगो खानेपानी तथा सरसफाइ सुविधाहरूको कुशल र प्रभावकारी वितरण गर्न सक्षम बनाउँदै खानेपानी तथा सरसफाइजन्य प्रशासन र संस्थागत ढाँचाहरूलाई सुदृढ गर्दै दिगो र समतामूलक खानेपानी तथा सरसफाइमा योगदान पुर्‍याउने वास दिगो विकास लक्ष्य परियोजनाको उद्देश्य निर्धारण गरिएको थियो ।


उहाँले उल्लेखित उद्देश्यहरु हासिल गर्न परियोजना सफल भएको र परियोजनाले निर्माण गरेको जगमा टेकेर खानेपानी, सरसफाइ र स्वच्छताको दिगो विकास लक्ष्य हासिल गर्न बाँकी काम स्थानीयले सरकारले गर्नुपर्ने बताउनुभयो ।

उद्देश्य प्राप्तिका लागि परियोजनाले लिएको रणनीतिक ढाँचा

समुदायसँग सहकार्य

समुदाय स्तरमा खानेपानी तथा सरसफाइ महिला समूहहरू गठन गरी उक्त समूह मार्फत खानेपानी सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक मुद्दाहरूमा सम्बन्धित निकायहरूसँग पैरवी गर्न सक्षम बनाउने काम गरिएको उहाँले बताउनुभयो । ‘निजी व्यवसायीहरूसँग समन्वय गरी समुदायको माग पूर्ति गर्न सहजीकरण गर्ने लगायतका कार्यहरू गरिएको थियो । यसको लागि सहकर्मी समाजको नेतृत्वमा फेष्ट अवधारणा मार्फत समुदायस्तरमा कोड सहजीकरणको प्रयोग गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिएको थियो’ उहाँले भन्नुभयो ।

यस्तो महिला समूहहरु बराहताल गाउँपालिकामा २८ वटा र भेरीगंगा नगरपालिकामा १८ वटा गठन गरी सशक्तिकरण गरिएको थियो ।

यी हुन् खास उपलब्धी

परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरु मार्फत हासिल भएको उपलब्धीको अन्तिम सर्वेक्षण गरेको छ । परियोजनाले सुरूमा सन् २०१७ मा आधाररेखा सर्वेक्षण गरी परियोजनाको सुरूवात् गरेको थियो । सन् २०२० मा मध्यरेखा सर्वेक्षण गरेको परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको उपलब्धीलाई अलग अलग रुपमा प्रस्तुत गरेको छ ।

सर्वेक्षणमा विश्व स्वास्थ्य संगठन र युनिसेफले दिगो विकास लक्ष्यको उपलब्धी मापन गर्न संयुक्त्त रूपमा प्रतिपादित गरेको जे एम् पी सूचाङ्क र सिँढीको प्रयोग गरिएको परियोजनाले जनाएको छ ।


भेरीगंगा नगरपालिकामा हासिल भएको उपलब्धी

खानेपानी :

भेरीगंगा नगरपालिकामा दूषित पानीको सेवनले झाडापखाला लाग्ने, शुद्धिकरण विधिबारे चेतनाको अभाव तथा शुद्धिकरण बिनै सिधै पानी पिउने चलन सर्भेक्षणको क्रममा पाईएको थियो । त्यसैलाई मध्यनजर गरी पानीको प्रदुषणमा कोड सहजीकरण पछि फिल्टरको माग सिर्जना भएको, त्यसपछि ४ सय भन्दा बढी घरधुरीले फिल्टर (कैण्डल फिल्टर, बायो स्यान्ड फिल्टर, माटोको फिल्टर) खरिद गरी शुद्ध पानी उपभोग गरेका थिए। उपभोक्ताले वडा स्तरबाट ५० प्रतिशत अनुदान पनि पाएका थिए ।

आधाररेखा सर्वेक्षण अनुसार सुरुमा ९ प्रतिशत जनसंख्याको पहुँचमा रहेको सुरक्षित खानेपानी अहिले ३३ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । यस्तै ८ प्रतिशत जनसंख्याले सीमित स्रोतको उपयोग गर्दै आएकोमा त्यस्तो स्रोतको उपयोग गर्ने जनसंख्या अहिले १ प्रतिशतमा झरेको छ ।

सरसफाइ

आधार सर्वेक्षणको क्रममा भेरीगंगा नगरपालिकाको कतिपय घरमा शौचालय थिएन । उनीहरु छिमेकीको शौचालयमा जाने गर्थे र शौच गर्न बाहिर निस्कन रुचाउँथे । तर, कोड सञ्चालन गरेपछि समूहका सदस्यहरूले शौचालयको महत्त्व बुझेर १७ वटा चर्पी निर्माण गरिएको, बायो ग्यास सपोर्ट प्रोग्रामको सहयोगमा १ वटा बायो ग्यास जडित शौचालय निर्माण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फलस्वरुप सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ सुविधा १० प्रतिशतले बृद्धि भएको देखिएको छ ।

स्वच्छता :

भेरीगंगा नगरपालिकाको महिला र किशोरीहरुले प्रयोग गरेको प्याडलाइ जलाउने भन्दा पनि फोहोरलाई सुरक्षित विधिबाट व्यवस्थापन गाड्ने अभ्यास गर्न थालेका छन् । हातको स्वच्छताको स्तर पनि बढेको छ । आधार रेखा सर्वेक्षणमा ६४ प्रतिशतमा मात्र सीमित रहेको स्वच्छताको अवस्था अहिले ९२ प्रतिशत पुगेको अन्तिम सर्वेक्षणले देखाएको छ ।


परियोजनाले विद्यालय तथा स्वास्थ्य संस्थाको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरु र प्राप्त उपलब्धीहरुलाई पनि फरक फरक तथ्याङ्कमा देखाएको छ ।


परियोजनाले पाँच बर्षको दौरानमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा गरेका कामहरु, अपनाईएका रणनीति तथा कार्यनीति, कार्यान्वयन पद्धति तथा लाभान्वित समुदाय, चुनौती, सिकाई तथा अवसरहरु समेटेर प्रतिवेदन तयार पारी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ । परियोजनाका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पा र अनुगमन तथा मूल्याङ्कन अधिकृत कर्मठ सुवेदीले दुवै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रतिदन तथा मायाको चिनो हस्तान्तरण गर्नुभयो।

सम्बन्धित स्थानीय तहरुले वास एसडिजी परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा अभूतपूर्व सफलता हासिल भएको र आगामी दिनमा यसैको जगमा टेकेर थप कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।


खानेपानी तथा सरसफाइ दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजना सन् २०१८ जुन देखि बाँकैको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका र सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकामा सञ्चालन भएको थियो ।

बाँकेमा लुमन्ती, विरूवा, एकिकृत शहरी विकास केन्द्र, गेरुवा ग्रामिण जागरण संघ र सहकर्मी समाज तथा सुर्खेतमा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र सहकर्मी समाजले परियोजना कार्यान्वयन गरेका थिए ।


कार्यक्रमको सुरुको दुई वर्षमा खानेपानी तथा सरसफाइ उपभोक्त्ता महासंघ, फ्रेण्डस् सर्भिस काउन्सिल नेपाल र बायो ग्यास सहयोग कार्यक्रम लगायतका संस्थाहरु समेत संलग्न थिए । अन्तर्राष्ट्रिय रूपमा सिमाभी, वेष्ट, एक्भो, रेन फाउण्डेसन, रुवाफ र राष्ट्रिय रूपमा नेपाल प्रजनन स्याहर केन्द्र जस्ता संस्थाहरुले पनि परियोजना कार्यान्वयनका दौरानमा आ–आफ्नो विधागत विषयगत दक्षता उपलब्ध गराएको परियोजनाले जनाएके छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार