
जनकपुरधाम : मधेश प्रदेशमा पानीको गुणस्तर अनुगमनका लागि सञ्चालनमा रहेका मिनी ल्याबहरूको कार्यसम्पादन मूल्याङ्कन तथा सप्तरी र सिरहाका पाँच/पाँच वटा स्थानीय तहमा गरिएको सरसफाइ अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। डब्लुएचओ/Welthungerhilfe (WHH) र खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) को सहकार्यमा मधेश प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
प्रदेश स्तरीय कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागितामा “तराई क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणाली सुदृढीकरण” परियोजना सञ्चालित सप्तरीको अग्नीसाइर कृष्नसवरन गाउँपालिका, बिष्णुपुर गाउँपालिका, सप्तकोशी गाउँपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
यस्तै सिरहाको गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, बिष्णुपुर गाउँपालिका, सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाको प्रतिवेदन सार्वजनिक गरिएको छ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा मिनी ल्याबमार्फत पानीको गुणस्तर परीक्षणको अवस्था, सेवा प्रवाहको प्रभावकारिता तथा सुधार गर्नुपर्ने पक्षहरूको विश्लेषण गरिएको छ। साथै, सरसफाइसम्बन्धी अध्ययनले स्थानीय तहमा शौचालयको प्रयोग, फोहोर व्यवस्थापन, र सरसफाइ व्यवहारमा देखिएका चुनौती तथा उपलब्धिहरू उजागर गरेको छ।

कार्यक्रममा Welthungerhilfe (WHH) का वास विज्ञ बिजु डंगोलले पानीको गुणस्तर अनुगमन र सरसफाइ दुवै क्षेत्र एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताउनुभयो। “स्थानीय स्तरमै पानी परीक्षणको पहुँच विस्तार गर्न मिनी ल्याब प्रभावकारी माध्यमका रूपमा देखिएको छ, तर यसको दिगोपन र गुणस्तर सुनिश्चित गर्न क्षमता अभिवृद्धि र नियमित अनुगमन आवश्यक छ” उहाँले भन्नुभयो।

उहाँले सरसफाइ अवस्थासम्बन्धी अध्ययनले स्थानीय तहलाई प्रमाणमा आधारित योजना निर्माण गर्न सहयोग पुग्ने उल्लेख गर्दै, प्राप्त निष्कर्षहरूलाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवाला पक्षबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरू कार्यान्वयन गर्दै सुरक्षित खानेपानी र दिगो सरसफाइ सेवाको पहुँच विस्तार गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
फोटोहरु : सन्तोष चौधरी


274 पटक हेरिएको 

