रेसुङ्गा नगरपालिकाद्वारा सेप्टिक ट्याङ्की निकासमाथि कडाइ

  वास खबर सम्बाददाता  186 पटक हेरिएको

गुल्मी, रेसुङ्गा : रेसुङ्गा नगरपालिकाले शौचालयको सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोर सिधै ढलमा मिसाउने कार्यविरुद्ध कडाइ सुरु गरेको छ। सेप्टिक ट्याङ्कीबाट निस्किएको मानव मलमूत्र सिधै ढलमा मिसाउँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको भन्दै व्यापक जनगुनासो आएपछि नगरपालिकाले यस्तो अभियान अघि बढाएको हो।

नगर प्रमुख खिलध्वज पन्थीका अनुसार जनगुनासोका आधारमा तम्घास बजारको सरसफाइ र सौन्दर्यीकरणका लागि थप निगरानी तथा कारबाही अभियान सुरु गरिएको हो। नगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन नागरिकलाई समेत जिम्मेवार बनाउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

नगर क्षेत्रका केही नागरिकले घर तथा पसल अगाडि, सडक क्षेत्रमा जथाभावी फोहोर फाल्ने, साथै घर पछाडिका खोला तथा सार्वजनिक स्थलमा फोहोर विसर्जन गर्ने गरेको पाइएपछि नगरपालिका सचेत बनेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, वातावरण संरक्षण ऐन, २०७६ तथा प्रचलित सरसफाइ मापदण्ड अनुसार यस्ता गतिविधि कानुनविपरीत रहेको नगरपालिकाको ठहर छ। यस्ता कार्यले सार्वजनिक स्वास्थ्य, वातावरणीय सन्तुलन तथा नगरको सौन्दर्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार सार्वजनिक सूचना जारी गर्दै नगरवासीलाई सडक, सार्वजनिक स्थल, खोला तथा नालामा फोहोर नफाल्न तथा घर तथा व्यवसायबाट निस्कने फोहोर निर्धारित विधिअनुसार व्यवस्थापन गर्न आग्रह गरिएको छ। साथै नगर विकास तथा वातावरण संरक्षणसँग सम्बन्धित संस्थासँग समन्वय गरी ‘सरसफाइ कार्ड’ अनिवार्य गर्न पनि अनुरोध गरिएको छ।

त्यस्तै, शौचालयको सेफ्टी ट्याङ्कीको निकास सिधै ढलमा नजोड्न र मापदण्डअनुसार व्यवस्थापन गर्न, साथै घर वरपरको सरसफाइ तथा सौन्दर्यीकरणमा सक्रिय सहभागिता जनाउन नगरपालिकाले अपिल गरेको छ। सूचनाको उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार जरिवाना तथा आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ।

यसैबीच, घरको छतबाट निस्कने वर्षाको पानी सिधै पिच सडकमा झार्दा सडकको दीर्घकालीन क्षति हुनुका साथै पैदलयात्री र सवारी आवागमनमा असुविधा तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो कार्य नगर्न पनि आग्रह गरिएको छ। वर्षाको पानीलाई सुरक्षित रूपमा ड्रेनेज प्रणालीमार्फत व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

नगरपालिकाले सूचनाको अवज्ञा गरी छतको पानी सिधै सडकमा झारेको पाइएमा सम्बन्धित घरधनीको पाइप काट्ने र प्रचलित कानुन अनुसार जरिवाना तथा अन्य कारबाही गर्ने जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार