दिसाजन्य लेदो व्यवस्थापन प्रति प्रदेश सांसद थारुको चासो (भिडियो)

  वास खबर सम्बादाता  467 पटक हेरिएको

बाँके : लुम्बिनी प्रदेशका सांसद सन्जु कुमारी थारुले खुला रुपमा विसर्जन भैरहेका दिसाजन्य लेदोको सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

सांसद थारुले सेप्टिक ट्याङ्की भरिए पछि ट्याङ्करको सहायताले खाली गरे पनि अन्ततः कसैको खेत वा खाली ठाउँमा लगेर विसर्जन भैरहेको र यसले जनस्वास्थ्यमा ठूलो खतरा निम्त्याउन सक्ने भएकाले दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।


खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजनाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थारुले भन्नुभयो ‘बाहिरी मुलुकमा दिसाजन्य लेदोको प्रशोधन गर्ने कामलाई धेरै नै प्राथमिकता दिईँदो रहेछ, तर हाम्रोमा खुला रुपमै फ्याँकिरहेको छ, जसले वातावरणमा प्रतिकुल असर पार्नुका साथै जनस्वास्थ्यमा गम्भीर स्थिति निम्त्याउन सक्छ ।’

उहाँले आफू कोहलपुर नगरपालिकामा उपप्रमुख भएकै बेला दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि वडा नं. १३ मा जग्गा प्राप्ति गरी डिपीआर समेत तयार भैसकेको र यसलाई तुरुन्त कार्यान्वयनमा लैजान नगरपालिकालाई निर्देशन दिनुभयो । ‘प्रशोधन केन्द्र निर्माणको प्रक्रिया नगरपालिकाले तुरुन्त थाल्नुपर्छ । प्राविधिक सहयोग त संघसंस्थाहरुकै चाहिन्छ ।’ उहाँले भन्नुभयो ।

दिसाजन्य लेदो व्यवस्थापनको काम धेरै चुनौतीपूर्ण भएपनि यो अपरिहार्य रहेको उहाँको भनाइ छ । ‘प्रशोधन नगरी सीधै मलको रुपमा प्रयोग गर्दा यसले वातावरणीय र मानवीय स्वास्थ्यमा धेरै हानी पुर्‍याउँछ । त्यसैले यसको नियमन र नियन्त्रणका लागि स्थानीय सरकारले कदम चाल्नै पर्छ’ उहाँले भन्नुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

उहाँले खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य परियोजनाले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पुर्‍याएको योगदान प्रति प्रसंशा गर्नुभयो ।

नगरपालिकामा ऐन, कानुन निर्माण देखि अवरुद्ध खानेपानी आयोजनाहरुको सुचारुपनामा परियोजनाले धेरै काम गरेको र सुरक्षित खानेपानीको महत्वबारे सचेतना अभिवृद्धि गराएको उहाँले बताउनुभयो ।

प्रदेश सांसद थारुले अबका दिनमा सचेतना अभिवृद्धिका काम मात्र नभई पूर्वाधार निर्माणमा समेत सहकार्य हुनुपर्ने बताउनुभयो । ‘हामीले नीति नियम, ऐन कानुनहरु धेरै बनाईसक्यौं, अब यसको कार्यान्वयन सँगै पूर्वाधार निर्माणमा पनि सहकार्य हुने मैले अपेक्षा लिएको छुु’ उहाँले भन्नुभयो ।

समापन कार्यक्रममा वास एसडिजी परियोजनाका कन्ट्री को-अर्डिनेटर डा.मिङमा ग्याल्जेन शेर्पाले परियोजनाको रणनीतिक उद्देश्य र लक्ष्य, परियोजनाले उद्देश्य हासिल गर्नका लागि अपनाईएका पद्धति, सञ्चालित क्रियाकलाप र उपलब्धीहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा गरेका कामहरु, अपनाईएका रणनीति तथा कार्यनीति, कार्यान्वयन पद्धति तथा लाभान्वित समुदाय, चुनौती, सिकाई तथा अवसरहरु समेटेर तयार पारेको प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

खानेपानी तथा सरसफाइ दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजना नेदरल्याण्ड सरकारको सहयोगमा सन् २०१८ जुन देखि बाँकैको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका तथा सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकामा सञ्चालन भएको थियो ।

बाँकेमा लुमन्ती, विरूवा, एकिकृत शहरी विकास केन्द्र, गेरुवा ग्रामिण जागरण संघ र सहकर्मी समाजले परियोजना कार्यान्वयन गरेका थिए ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार