
काठमाडौ : सहरी जनसंख्याको उक्लिँदो ग्राफले सहरी सरसफाइमा पनि चुनौती थपिदै गएको छ । पछिल्लो एक दशकमा नेपालको सघन सहरी जनसंख्या २७.०७ पुगेको छ । सहरी क्षेत्रमा बढ्दो जनसंख्याले सहरमा बसोबास गर्ने सबै तहको जनसंख्या सम्म समानुपातिक र समावेशी सरसफाइ सेवा पुर्याउन निक्कै चुनौती थपिएको सरसफाइ विज्ञ बताउँछन्।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले सघन सहरी क्षेत्रको जनसंख्या २२ प्रतिशतबाट बढेर २७.०७ प्रतिशत पुगेको देखाएको हो । जब कि ०६८ मा यस्तो जनसंख्या २२.३१ प्रतिशत थियो ।
प्रतिवेदनले पछिल्लो एक दशकमा सहरोन्मुख जनसंख्या ३९.१९ बाट बढेर ३९.७५ प्रतिशत पुगेको देखाएको छ । सोही अवधिमा ग्रामीण क्षेत्रको जनसंख्या ३८.५ बाट घटेर ३३.१९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि ‘सहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको प्रतिवेदनले औंल्याएको छ ।
‘ग्रामीण जनसंख्या अझै पनि एकतिहाइ छ, जब कि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख (अर्धसहरी) र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय जनगणना–०७८ ले नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको देखाएको थियो ।
नेपालमा ६६.१७ प्रतिशत सहरी क्षेत्र छ भन्ने आधार अर्धसहरी वा सहरोन्मुख नगरपालिकाले नदिने हुँदा यस्तो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरी त्यसलाई पुनः परिभाषित गरिएको थियो । सोही प्रतिवेदनले पनि सघन सहरी क्षेत्रको जनसंख्या केही बढेको देखिएको तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बताउनुभयो ।
‘जनगणनामा पूरै नगरपालिकालाई सहर र गाउँपालिकालाई गाउँ भनिएको थियो, त्यसलाई थप परिभाषित गर्दा यसअघि सहरी क्षेत्र भनिएको नगरपालिकामा पनि केही गाउँ र गाउँ भनिएका केही गाउँपालिकामा पनि सहर भेटिएको रेग्मीले बताउनुभयो । यद्यपि अहिलेको प्रतिवेदनमा सहरोन्मुख भनेर नयाँ वर्गीकरण थपिएको छ । यसमा ३३ प्रतिशत गाउँ ग्रामीण भेग नै देखिएको छ भने ६६ प्रतिशत सहरमध्ये करिब ३९ प्रतिशत सहरोन्मुख र २७ प्रतिशत सघन सहरी जनसंख्या भनेर वर्गीकरण गरिएको हो ।
यो बर्गीकरणले नगरव्यापी समावेशी सरसफाइको अवधारणा अनुरुप सरसफाइ सुविधाको पहुँच विस्तार गर्न सजिलो हुने सरसफाइ विज्ञ बताउँछन् ।
भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसंख्या पहाडमा ६६ र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखिएको छ । सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ तथा पोखरा महानगरपालिका र काठमाडौं उपत्यकाका कारण असन्तुलित हुँदै सहरी जनसंख्या पहाडमा ५३ प्रतिशत एवं तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखाएको छ ।


494 पटक हेरिएको 

