पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने

अध्ययन गर्न प्रहरी उपरीक्षकको संयोजकत्वमा ७ सदस्यीय समिति गठन

  वास खबर सम्बादाता  576 पटक हेरिएको
🔗
30
Shares

काठमाडौ :  काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूमा डेढ महिनाभित्र शौचालय सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बल सहित महानगरपालिकामा बसेको बैठकले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ ले गरेको व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

विनियमावलीको परिच्छेद–३ को विक्रेता बिक्री स्थलको मापदण्ड सम्बन्धी व्यवस्था अन्तर्गत बुँदा नं. १५ को (छ) मा ‘बिक्री स्थलमा पुरुषको हकमा न्यूनतम दुईवटा ट्वाइलेट सहितको ६ वटा युरिनल, महिलाको हकमा न्यूनतम दुईवटा ट्वाइलेट र अपांगमैत्री एक ट्वाइलेटको व्यवस्था हुनुपर्ने’भनिएको छ ।

त्यस्तै बुँदा नं. १५ (झ) मा बिक्री स्थलमा कार्यालय, बिक्री कक्ष, स्वस्थ्यकर पिउने पानी हुनुपर्ने व्यवस्था गरिनु पर्ने भनिएको छ ।

बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि छन् ।

समितिलाई पेट्रोल पम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

महानगरपालिकाले गएको वैशाखमा पेट्रोलियम पदार्थ विक्री मापदण्ड पूरा नगरेको वडा नं। १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो । नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधन सहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने महानगरपालिका भित्रका १६ वटा पम्पको सूचीमा यो पनि थियो ।

सहरभित्र भएका पेट्रोल पम्पहरू आगलागीजन्य विपद्को जोखिम रहेको, सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको गुनासो आउने गरेका छन् ।

‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधन सहित)’ अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ ।

भौतिक पूर्वाधार सहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । विक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेबलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार