ग्यास प्लाण्टका लागि पशुपालन गर्न जग्गा दिन उपमहानगरपालिका सकारात्मक

  वास खबर सम्बादाता  364 पटक हेरिएको

दाङ : ग्यास उत्पादनको लागि पशुपालन गर्न ग्यास प्लाण्ट कम्पनीलाई आवश्यक जग्गा उपलब्ध गराउन घोराही उपमहानगरपालिका सकारात्मक रहेको जनाएको छ । ग्यास उत्पादनका लागि फोहोर अपुग भएपछि पशुपालनका लागि जग्गा माग गरेपछि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले यस बिषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

‘फोहोर कम भएको र गोबरका लागि पशुपालन गर्न भनेर जग्गा माग गर्नु भएको छ अहिलेसम्म जग्गाको बारेमा कुनै पनि निर्णय गरिएको छैन,’ नगर प्रमुख चौधरीले भन्नुभयो। कार्यपालिकाको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । ‘पशुपालन गर्नका लागि जग्गा दिने विषयमा धेरै जना सकारात्मक रहनु भएको छ,’ नगर प्रमुख चौधरीले भन्नुभयो ।

पशुपालन गरेर गोबर थप भएपछि पूर्ण क्षमतामा ग्यास उत्पादन हुने र नगरका छाडा पशुलाई समेत व्यवस्थापन गर्न सहयोग पुग्ने प्रमुख चौधरीले बताउनुभयो। पशुपालनका लागि एक बिघा जग्गा माग गरिएको छ ।

ग्यासका लागि दैनिक ३० टन आवश्यक पर्ने भए पनि हाल आठ देखि १० टन मात्र फोहोर उत्सर्जन हुने गर्दछ । घोराहीमा हाल दैनिक १५ देखि १६ टन फोहोर उत्पादन हुने गरेको छ । बंगुरपालन गर्नेले दाना घर घरबाट उठाउने गरेकाले पनि ग्यासका लागि फोहोर कम भएको घोराही उप महानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

उप महानगरपालिकाले गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै उठाउने गरेको छ । ग्यासका लागि आवश्यक फोहोर ग्यासले लैजाने गरेको छ भने नगल्ने फोहोर बिक्री हुने जस्ता बिक्री गर्ने गरिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो । ग्यास प्लान्टका लागि आवश्यक पर्ने फोहोर पाउन नसकेपछि पशुपालनको तयारी थालिएको हो।

यसका लागि घोराही उप महानगरपालिकासंग ग्यास प्लान्ट क्षेत्रमा जग्गा माग गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । ‘आवश्यक मात्रामा फोहोर नपाएपछि पशुपालनको योजनामा रहेका छौं,’ प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो । जग्गाको लागि उप महानगरपालिकासँग कुरा भएको तर फाइनल भइ नसकेको उहाँले बताउनुभयो । जग्गा उपलब्ध भएमा बजारी क्षेत्रमा छाडा रहेका पशु तथा उन्नत जातका भैसीपालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

‘यसका लागि जग्गाको पर्खाइमा छौं,’ उहाँले भन्नुभयो । पशुपालन गरेमा गोवर हुने र त्यसबाट ग्यास उत्पादन गर्न सकिने उहाँको अपेक्षा छ । फोहोरका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेर कुरा गरे पनि पाउन नसकेको उहाँले बताउनुभयो । ‘स्थानीय पालिकासँग पटकपटक कुरा गर्दा पनि फोहोर पाउन सकिएन,’ प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो।

फोहोर नपाउँदा ग्यास कम उत्पादन भएपछि अहिले गरुवा गाउँका ३४ घरमा मात्र ग्यास निशुल्क रुपमा वितरण गरिएको छ । ग्यास प्रयोग गरे वापतको मूल्य निर्धारणका लागि त्रिपक्षीय रूपमा बसेर निर्णय गरिनुपर्ने उहाँलेले बताउनुभयो ।

२०७५ मंसिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिका बीच त्रिपक्षीय सम्झौता भई घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । दुई हजार घनमिटरको ग्यास प्लान्टबाट फोहोर अभावमा कारण पूर्ण क्षमतामा ग्यास उत्पादन हुन नसकेको प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार