
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रमलाई निरन्तरता दिएको छ । लैङ्गिक रुपान्तरित वास दिगो विकास लक्ष्य परियोजनाको समाप्ति भएपनि परियोजनाद्वारा सञ्चालित कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिँदै वडा नं. ८ को दुई वटा टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो।
नगरपालिकाको वडा नं. ८ को आयोजनामा आइतबार मात्र ४१ घरको बाह्रघरे लाइनटोल र ३२ घरको मोरङ्ग लाइन टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको नगरपालिकाका वास फोकल पर्सन मोतिलाल चौधरीले जानकारी दिनुभयो ।

वास दिगो विकास लक्ष्य परियोजना अवधिमा सञ्चालित कार्यक्रमहरुलाई नगरपालिकाले आफ्नो कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो ।
प्लान इन्टरनेसनल नेपाल र सिएसडिसी सुनसरीको साझेदारीमा सञ्चालित ‘वास दिगो विकास लक्ष्य परियोजना’ यही डिसेम्बर सँगै समाप्त भएको छ । सन् २०१९ देखि सञ्चालित कार्यक्रमहरु नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
स्वच्छ र सफा क्षेत्र घोषणा कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले परियोजनाले देखाएको बाटो पहिल्याउँदै नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गरिरहेको र यसैबाट मात्र दिगो विकास लक्ष्य ६ हासिल गर्न सम्भव हुने बताउनुभयो । उहाँले टोल टोल गरी वडा र वडा वडा घोषणा गर्दै २०८४ साल भित्र नगरपालिकालाई नै सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने बताउनुभयो ।

यस्तै नगरपालिकाका उप प्रमुख नन्द कुमारी सुनुवारले टोललाई सफा र स्वच्छ समुदाय घोषणा गर्ने कार्यमा सबै लागिपर्न उहाँले आग्रह गर्नुभयो । उहाँले यस कार्यमा सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।
घोषणा कार्यक्रमका सभापति समेत रहेका वडा नं. ८ का अध्यक्ष रोशन खड्काले वडामा सफा र स्वच्छ क्षेत्र घोषणाको थालनी भएको बताउनुभयो । उहाँले अन्य टोलहरुमा समेत कार्यक्रमहरु सञ्चालन भईरहेको र आवश्यक सूचक पूरा भएपछि सफा र स्वच्छ क्षेत्र घोषणा गरिने बताउनुभयो ।
घोषणा कार्यक्रममा वन उपभोक्ता समिति, विभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानीय क्लव,कार्यपालिका सदस्य, विद्यालयका प्रतिनिधी, स्वास्थ्य केन्द्र, वास बिज्ञ हरि बुढाथोकी, रेखा धामी, सम्पूर्ण घरधुरीका व्यक्तिहरु, वास च्याम्पियनहरु र स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति थियोे ।



518 पटक हेरिएको 

