
धनुषा : ‘शौचालयको छानोमा रगत लागेका प्याडहरु सिउरेका हुन्थे, किशोरीले शौचालयको प्यानमै प्याडहरु फ्याँक्दा शौचालय जाम हुने गर्थ्यो । धारा र शौचालयमा लाइन लाग्नु पर्दा मे आइ कम इन् सर ? र मे आइ गो आउट सर भन्ने शब्द सुन्दा सुन्दा शिक्षकहरु हैरान हुन्थे।’
धनुषाको मिथिला नगरपालिका ६ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था कस्तो थियो भन्ने कुरा त्यहाँका वास फोकल शिक्षक भेष बहादुर परियारको यी भनाइबाट पनि प्रष्ट हुन्छ ।
विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शौचालय र धारा नहुँदा जसको शक्ति उसकै भक्ति भने जस्तै सक्नेले मात्र शौचालय प्रयोग गर्न सक्ने अवस्था थियो । भएको शौचालय पनि फोहोरले भरिएपछि विद्यालय वरपरको वातावरण नै दुर्गन्धित हुन्थ्यो । बालबालिकाहरु शौचालय वरपर खुला ठाउँमै दिसापिसाब गर्थे ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
तर अहिले अवस्था बदलिएको छ । पहिले जस्तो शौचालयको छानोमा रगत लागेका प्याडहरु कतै पनि देखिदैनन्, प्याड फालेकै कारण शौचालय जाम भएको रेकर्ड अहिले दोहोरिएको छैन । विद्यालयका वास फोकल शिक्षक भेष बहादुर परियार भन्नुहुन्छ ‘किशोरीहरुको लागि प्याड फेर्ने गोप्य स्थान, एकै ठाउँमा विसर्जन गर्ने ठाउँ र जम्मा भएपछि आगो लगाउने इन्सिनेरेटर निर्माण भएको छ । प्याडकै कारण शौचालय जाम हुने, दुर्गन्धित हुने समस्या अहिले पूर्ण रुपमा हटेको छ ।’

महेन्द्र माध्यमिक विद्यालयमा महिनावारी स्वच्छताका साथै बालबालिकाको लागि पिउने पानीको पनि व्यवस्थापन गरिएको छ । पिउने पानी सहजै उपलब्ध होस् भन्ने अभिप्रायले कक्षा कोठा अगाडि नै धारा निर्माण गरिएको छ । वास फोकल शिक्षक परियारका अनुसार यस्ता धारा तीन वटा निर्माण गरिएको छ । पानी पिउन धारामा लाइन बस्नुपर्ने समस्या हटाउनका लागि बालबालिकाले अनिवार्य बोतलमा पानी भरेर पिउनुपर्ने नियम समेत बनाएको छ ।

शौचालय अपुग भएपछि छात्र र छात्राको शौचालय संख्या पनि बढाईएको छ । अहिले एक पटकमा २१ जना छात्र र २१ जना छात्राले प्रयोग गर्न मिल्ने गरी शौचालय संख्या निर्माण गरिएको उहाँले बताउनुभयो।
‘विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छताका विभिन्न संरचनाहरु निर्माण भएपछि महेन्द्र माध्यमिक विद्यालयको पहिलेको अवस्थामा आमूल परिवर्तन आएको हो ।
युनिसेफ नेपालको आर्थिक सहयोग र सप्तरीको कन्चनरुप नगरपालिका, सिरहाको धनगढीमाई नगरपालिका, धनुषाको मिथिला नगरपालिका र महोत्तरीको मनरा सिसवा नगरपालिकाको लागत साझेदारीमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) र रतौली युवा क्लव (आरवाईसी) द्धारा २३ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालत गरिएको थियो ।
कार्यक्रमबाट २३ वटा विद्यालय मध्ये ११ वटा विद्यालय तीन तारा स्तरीकरण गरिएका थिए । केही समय अघि तीन तारामा स्तरीकरण भएका विद्यालयहरु मध्येको एक हो ‘श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केबर।’

कार्यक्रम सञ्चालित विद्यालयमा पुराना शौचालयको मर्मत सम्भार तथा नयाँ निर्माण गरी पर्याप्त शौचालय र मूत्रालयको व्यवस्था गरिएको एनसीभीका कार्यक्रम व्यवस्थापक सागर शाही ठकुरीले बताउनुभयो । सबै शौचालयमा सरसफाइका लागि चौबिसै घण्टा नियमित पानीको व्यवस्था गरिएको र यसले गर्दा विद्यार्थीहरुलाई शौचालय प्रयोग गर्न र हात धुन धेरै बेर कुर्ने नपर्ने उहाँले बताउनुभयो ।‘शौचालय र खानेपानीमा विद्यार्थीको सहज पहुँच स्थापित भएपछि विद्यार्थीहरुले पढाईमा अझ धेरै समय दिन सक्ने भएका छन्’ उहाँले भन्नुभयो ।



1312 पटक हेरिएको 

