काठमाडौ : बल्खु खोलामा थुप्रिएको फोहोर जेट मेसिन र बोटको सहायताबाट सफाइ गरिएको छ । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरी फोहोर निकालिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।
खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह तह भएकाले त्यसलाई निकाल्न निकाल्न ४ वटा जेट मेसिन प्रयोग गरी पानीको प्रेसर दिइएको उहाँले बताउनुभयो। गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न कठिन भएकाले सफाइका लागि बोटको प्रयोग गरिएको थियो।
नदी सफाइ स्वर्णिम योजना अन्तर्गत नदी सफाइको काम भएको कार्यक्रमका फोकल पर्सन सानुमैयाँ महर्जनले बताउनुभयो । ‘नदी सफाइ गर्ने र नदी सभ्यता जोगाउन स्थानीयलाई जागरुक बनाउने कार्यक्रमका क्रियाकलाप हुन् । सफाइ भएका ठाउँमा फेरि फोहोर नगर्न स्थानीयमा सचेतनात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ’ उहाँले भन्नुभयो ।
१ सय मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको काठमाडौ महानगरपालिकाले जनाएको छ ।