पेटको खेतमा र खेतको पेटमा अर्थात सरसफाइमा पुनः प्राप्ति पद्धति के हो ?

  वास खबर सम्वाददाता  598 पटक हेरिएको


काठमाडौ : ‘पेटको खेत, खेतको पेट’ कुरा प्रष्ट छ, मानव मलमूत्रको प्रयोग गरेर अनाज उब्जाउने र उत्पादित बालीनाली पुनः मानिसले उपभोग गर्ने । यसरी पेटको खेत र खेतको पेटको चक्र निरन्तर चलाउन सक्यौं भने मानव मलमूत्रका कारण नदीनाला प्रदुषण भई जनस्वास्थ्य खतरामा पर्दैन । बरु पर्यावरणीय सन्तुलन कायम राख्न ठूलो सघाउ पुग्छ ।

मानव दिसाजन्य लेदोलाई मलको रुपमा प्रयोग गर्ने कुरालाई कतिपयलेअसभ्य र घिनसँग पनि जोडेर हेरिन्छ । कतिपय मानिसहरु दिसाको मल भन्ना साथ नाक खुम्च्याउँछन् पनि। दिसालाई मल बनाउने काम जनस्वास्थ्यको दृष्टिकोणले असुरक्षित काम हो कि भन्ने आशंका पनि गरिन्छ । तर त्यसो होइन।


दिसाजन्य लेदोलाई मलको रुपमा प्रयोग गर्ने काम सेप्टिक ट्याङ्कबाट निकालेर सीधै बालीनालीमा हाल्ने काम भने पटक्कै होइन । यसलाई विभिन्न चरणमा प्रशोधन गरी जनस्वास्थ्यमा कुनै हानी नपुग्ने गरेर मात्र मलको रुपमा प्रयोग गरिन्छ । जसको उदाहरण ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा निर्माण भएको दिसाजन्य लेदो प्रशोधन केन्द्रमा अवलोकन गर्न सकिन्छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

लुभुमा भएको दिसाजन्य लेदो प्रशोधन केन्द्र पुनःलाभ हासिल गर्ने पद्धतिमा आधारित प्रशोधन केन्द्र हो । यो प्रशोधन केन्द्रमा हप्ताको दुई ट्रक अर्थात ६ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्न सकिन्छ। यसबाट बार्षिक सिँचाई गर्न २ लाख लिटर पानी, प्रति महिना १ देखि २ सिलिण्डर ग्यास र बार्षिक २० देखि २५ घनमिटर कम्पोष्ट मल उत्पादन हुने गर्दछ।


हेल्प फर चिल्ड्रेन बाइलेनग्रीस काठमाडौले जग्गा उपलब्ध गराएपछि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को आर्थिक तथा प्राविधिक सहयोगमा प्रशोधन केन्द्र निर्माण गरिएको हो।

सन् २०१६ मा निर्माण भएको यो प्रशोधन केन्द्र पुनःनिर्माणका कारण केही समय बन्द भएको थियो। पुनः निर्माण गरी सञ्चालनमा आएपछि सिबिसान सदस्यहरुले शुक्रबार मात्र अवलोकन गरेका छन् ।

प्रशोधन केन्द्र सञ्चालनका लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), हेल्प फर चिल्ड्रेन बाइलेनग्रीस काठमाडौ र महालक्ष्मी नगरपालिका बीचको त्रिपक्षीय समझदारी भएको छ । समझदारी अनुसार हेल्प फर चिल्ड्रेन बाइलेनग्रीस जग्गा उपभोग गर्न दिइने र प्राविधिक सहयोग एन्फोले उपलब्ध गराउनु पर्नेछ । मर्मत सम्भारको जिम्मेवारी भने महालक्ष्मी नगरपालिकाको दायित्व भित्र पर्दछ ।

अवलोकनका थप फोटाहरु :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार