ज्वालामूखी गाउँपालिकाको २ वटा गाउँ सफा र स्वच्छ गाउँ घोषणा

  वास खबर सम्वाददाता  865 पटक हेरिएको


धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका वडा नं. ४ को २ वटा टोललाई सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । वडा नं. ४ को आयोजनामा मिलनचोक बजार सुधार समिति र गणेशस्थान टोल विकास संस्था अन्तर्गतको ढोला टोललाई संयुक्त रुपमा सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको हो ।

ज्वालामूखी गाउँपालिकाको आर्थिक सहयोग र शान्ति नेपालको प्राविधिक सहयोग तथा साझेदारीमा संचालित कार्यक्रम मार्फत २ वटा टोलका ७८ घरधुरीलाइ सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मी (छत्कुली) ले जानकारी दिनुभयो ।

पूर्ण सरसफाइ २०७३ अनुसार सूचकहरु मापन गरी सफा र स्वच्छ गाउँ घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुजन श्रेष्ठले वताउनुभयो । यस्तै ढोला स्वास्थ्य चौकीका प्रमुख रविन थापाले भने नमुना स्वास्थ्य समुदाय भन्नाले खानेपानी, सरसफाइ र स्वच्छताको आधारभूत संरचना तथा व्यवहारहरु पूर्ण रुपले पालना गरी टोल भित्रका सवै घरधुरीले खानेपानी सरसफाइका लक्षित सबै सूचक पुरा भएपछि गाउँपालिका तथा वडावाट अनुगमन र मुल्यांकन गरी प्रमाणित भएपछि सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिएको बताउनुभयो ।

यस्तै शान्ति नेपाल परियोजना संयोजक इन्द्रमान शाक्यले सहजीकरण गर्दै टोल वासीहरुलाइ सवै सूचक पूरा गरेर मात्रै नहुने भएकाले सरसफाइलाई सधैं निरन्तरता दिनुपर्ने बताउनुभयो ।

घोषणा समारोहमा सम्पर्ण टोल वासीहरुलाई सरसफाइका सूचकहरु सतप्रतिशत पूरा भए नभएको भन्दै खुल्ला छलफल गराउँदै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष यामनाथ दनैले घोषणा पछि पनि निरन्तरताको लागि टोल, वडा र गाउँपालिका सवैले आ आफ्नो पक्षवाट निरन्तरता दिने प्रतिबद्धता सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभयो। उहाँले अघिल्लो स्थानीय सरकारले ल्याएको नीति अवधारणाको आधारमा यस अभियानलाइ महत्वका साथ कार्यान्वयनमा ल्याइएको वताउनुभयो ।

अध्यक्ष दनैले गाउँपालिकावासीलाई सरसफाइ र स्वच्छतासँगै सुरक्षित खानेपानीको सहज आपूर्तिलाई पनि समानान्तर रुपमा लैजानकै लागि खानेपानी बोर्ड स्थापना गरी कार्यान्वयन गरिएको जानाकारी गराउनुभयो ।


घोषणा सभामा विभिन्न पार्टीका प्रतिनिधिहरुले सरसफाइको अभियान सवैको साझा, अपरिहार्य र व्यक्तिको स्वास्थ्य सँग प्रत्यक्ष सम्बन्धित भएकाले सवैको साथ सहयोगवाट गाउँपालिकालाइ अव्वल वनाउने वताएका थिए ।

वडा नं. ४ का अध्यक्ष कृष्ण व गुरुङले आगामी वर्ष भित्रमा सिंगो वडा नै सफा तथा स्वच्छ वडा घोषणा गर्ने गरी अभियान सञ्चालन गर्ने र घोषणा भएका टोलहरुमा निरन्तरताको लागि सवै टोलहरुमा टोल विकास संस्था गठन गरिसकेकोले टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धि गरी निरन्तरताको लागि परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डकी कार्यकारी निर्देशक सबिना रेग्मीका अनुसार ज्वालामूखी गाउँपालिकामा विभिन्न वडामा गरी हाल सम्म १ हजार ३ सय ६५ घरधुरी सफा र स्वच्छ क्षेत्र घोषणा भएका छन् ।

यस अभियानमा ज्वालामूखी गाउँपालिका, वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, शान्ति नेपाल लगायत अन्य संघसंस्था, खानेपानी व्यवस्थापन बोर्ड, स्वास्थ्य संस्था, टोल विकास संस्था, विद्यालय, आमा समूह, वडा स्वास्थ्य सहजकर्ता, महिला स्वास्थ्य स्वयं सेविका र समुदायको सक्रियतामा सवै वडाका सवै टोल घोषणा गर्दै आगामी २०८१ भित्रमा पूरै गाउँपालिका घोषणा गर्ने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार