अनि स्कुलको खानेपानी र सरसफाइले काँचुली फेर्न थाल्यो…..

  वास खबर सम्बाददाता  613 पटक हेरिएको
🔗
56
Shares


सिरहा : भत्किएको विद्यालयको पर्खाल, साढे ५ सय विद्यार्थीका लागि ३ वटा मात्र शौचालय, त्यसमध्ये एउटा मात्र सञ्चालनमा । त्यसमा पनि न पानीको सुविधा ? नजिकैको कलबाट बाल्टिनमा बोकेर लैजानुपर्थ्यो रे । सिरहाको लहान नगरपालिका वडा नं. २० स्थित हनुमाननगर ब्राम्हण गोर्छाडी मा.वि. मा प्रधानाध्यापकको जिम्मेवारी बोकेर प्रवेश गर्दै गर्दा विद्यालयको हालत देखेर प्रधानाध्यापक राजेन्द्र प्रसाद यादवलाई सुरुमा चक्करै चलेको रहेछ ।

प्रधानाध्यापक यादव त्यसबेलाका दिनहरु सम्झिनुहुन्छ ‘विद्यालय भन्नु मात्र, न खानेपानीको सुविधा, ह्याण्ड पम्पको आईरनयुक्त पानी पिउँदा रहेछन् बालबालिकाहरु । भन्दा दोष लगाए जस्तो होला, पूर्व प्र.अ.को पालामा विद्यालय अस्तव्यस्तै भएको रहेछ ।’

उहाँकै भनाइमा कक्षाकोठाको सरसफाइ, प्याड व्यवस्थापन, विद्यालय संख्याको अनुपातमा छात्र छात्राका लागि छुट्टै शौचालय, शुद्ध पिउने पानीको व्यवस्था त कल्पना भन्दा पनि परको कुरा थियो ।

विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या धेरै देखिए पनि विद्यार्थीहरु नियमित स्कुल नआउने, आएपनि टिफिन टाईममा भागेर जाने समस्या थियो। यी सबै हुनुमा विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता असुविधा मुख्य कारण थियो ।


‘पानी पिउन र दिसा पिसाव गर्नलाई पढाई छोडेर घरतिर दगुर्नुपर्छ भने विद्यालयको कक्षाकोठामा विद्यार्थी अडिने त कुरै भएन’ प्रधानाध्यापक यादवको तर्क छ । जस्तो पायो त्यस्तै पानी पिउनाले विद्यार्थीहरु झाडापखाला लागेर विद्यालय नआउने समस्या त छँदै थियो ।

विद्यालयलाई यो अवस्थाबाट सुधार गर्न चाहनुहुन्थ्यो प्रधानाध्यापक यादव । तर कसरी सुधार गर्ने ? उहाँसँग न योजना थियो, न बजेट नै ।

रणभुल्लमा परेका प्रधानाध्यापक यादवको ठिक त्यही समय अर्थात २०७६ सालमा वाटर एड नेपाल, दलित जनकल्याण युवा क्लव र लहान नगरपालिकाको संयुक्त साझेदारीमा सञ्चालित विकन परियोजनासँग सम्पर्क भयो। त्यसपछि परियोजना मार्फत विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन भएको प्रधानाध्यापक यादवले बताउनुभयो ।

परियोजनाले विद्यालयमा खानेपानी धारा जडान, शौचालय मर्मत, हात धुने स्थान निर्माण गरिएको दलित जन कल्याण युवा क्लवका सोसल मोबिलाईजर नम्रता भट्टले बताउनुभयो । ‘विद्यालयमा पर्याप्त शौचालय, खानेपानीको सुविधा तथा हात धुने स्थानको व्यवस्था भएपछि विद्यार्थी नियमित विद्यालय आउन थालेको शिक्षकहरुले बताएका छन्’ उहाँले भन्नुभयो ।

सोसल मोबिलाईजर नम्रता भट्टका अनुसार बालक्लबको नियमित बैठक र सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखिकरण कार्यले गर्दा विद्यार्थीहरुमा बोल्ने क्षमताको समेत विकास भएको छ। ‘हामीले विद्यालयमा स्वस्थकर व्यवहार कक्षा सञ्चालन गर्‍यौं, अहिले उनीहरुको आनीबानीमा पनि परिवर्तन भएको छ’ उहाँले भन्नुभयो ।

प्रधानाध्यापक भएर सुरुमा पाइला टेक्दै गर्दा विद्यालयको व्यवस्थापकीय पक्ष अस्तव्यस्त देखेर अत्तालिनु भएका राजेन्द्र प्रसाद यादव अहिले खानेपानी सरसफाइ र स्वच्छता अन्तर्गत विद्यालयलाई तीन तारामा पुर्‍याउने योजना बुन्दै हुनुहुन्छ ।

परियोजना सञ्चालन हुनु अघि र अहिलेको विद्यालयको वातावरण तुलना गरी साध्य छैन । ‘परियोजनाले विद्यालयमा भएका पुराना शौचालयहरुको मर्मत तथा नयाँ निर्माण गरी अपाङ्गतामैत्री शौचालय बनाएको छ । सबै शौचालयहरुमा पानीको आपूर्ति भएको छ’ प्रधानाध्यापक यादवले भन्नुभयो ।

शौचालय, हातधुने स्थान, युरिनल सेक्सनमा टायल्स लाउने कार्यहरु भएकाले हेर्दा पनि सफा र सरसफाइ गर्न पनि सजिलो भएको विद्यार्थीहरु बताउँछन् ।

महिनावारी भएको समयमा छात्राहरुको लागि आराम कक्ष बनेपछि छात्राहरुलाई निकै सहज भएको छ । ‘पहिले महिनावारी भएको समयमा छात्राहरुलाई धेरै गाह्रो थियो । किनभने महिनावारी हुँदा प्याड फेर्न घर जानुपर्ने अवस्था थियो’ सोसल मोबिलाईजर नम्रता भट्ट भन्नुहुन्छ ‘४/५ दिन सम्म विद्यालय नै छोड्नुपर्ने अवस्था रहेछ पहिला ।’

छात्राहरु भन्छन् ‘महिनावारी हुँदा कहिलेकाहीं ड्रेसमै रगत लाग्ने र पुरुष सहपाठीहरुले जिस्काउने निहुँ पाउँथ्यो । कहिले झाडीतिर प्याड फेर्न जाँदा अन्य मान्छेले देखेपछि विद्यालय आउन पनि लाज लाग्थ्यो, धेरै दिन सम्म विद्यालय नआउँदा पढाई छुट्ने र पढाईमा कमजोर हुने अवस्था पनि थियो ।’

तर अहिले अवस्था बदलिएको छ । विद्यालयमा महिनावारी सम्बन्धी धेरै अभिमुखीकरणहरु भए पछि छात्राहरुले स्पस्ट रुपमा महिनावारीका बिषयमा बोल्न सक्ने भएका छन् । विद्यालयमा महिनावारी व्यवस्थापनका लागि पूर्वाधार निर्माण भएका छन् । अहिले सम्पुर्ण कुरामा सुधार भएको छ । विद्यालयमा हाल २६ जना छात्राहरुको संख्या बढेको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक भएर सुरुमा पाइला टेक्दै गर्दा विद्यालयको व्यवस्थापकीय पक्ष अस्तव्यस्त देखेर अत्तालिनु भएका राजेन्द्र प्रसाद यादव अहिले खानेपानी सरसफाइ र स्वच्छता अन्तर्गत विद्यालयलाई तीन तारामा पुर्‍याउने योजना बुन्दै हुनुहुन्छ ।

सिरहाको दुई वटा सामुदायिक विद्यालयबाट सुरु भएको विकन परियोजना अहिले १० वटा सामुदायिक विद्यालयमा सञ्चालित छ । हनुमाननगर ब्राम्हण गोर्छाडी मा.वि.मा जस्तै परियोजना सञ्चालन भएका सबै विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुधारको काम भैरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार