खानेपानी तथा ढल व्यवस्थापन विभागको अर्ध बार्षिक खर्च १९ प्रतिशत

  वास खबर सम्वाददाता  407 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक बर्षको ६ महिनामा १९ प्रतिशत पूँजीगत खर्च गरेको छ । विभागले गत आर्थिक बर्ष २०७९/०८० को सोही अवधिमा १७ प्रतिशत मात्र खर्च गरेको थियो ।

यद्यपि यो प्रगति सन्तोषजनक नभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.रामकुमार श्रेष्ठले बताउनुभयो । ‘चालु आर्थिक बर्षको ६ महिना बित्दा १९ प्रतिशत पूँजीगत खर्च गरिसकेका छौं, यही स्थितिमा गत बर्ष करिब १७ प्रतिशत मात्र खर्च भएको थियो’ उहाँले भन्नुभयो ‘त्यो अवस्थालाई हेर्ने हो भने हामी सन्तोषजनक अवस्थामा छौं । तर समग्र ६ महिनाको अवधिमा जत्ति प्रगति हुनुपर्थ्यो, सोचेजत्ति प्रगति हासिल गर्न पाएका छैनौं ।’

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

विभागले गत बर्षको ६ महिनामा १७ प्रतिशत पूँजीगत खर्च गरे पनि आर्थिक बर्षको अन्त्यमा ८० प्रतिशत प्रगति हासिल गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा २३ प्रतिशत सम्म खर्च गर्ने लक्ष्य राखेको विभागले त्यत्ति नै खर्च गर्न नसके पनि बार्षिक लक्ष्य भने पूरा गर्ने उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो ।

‘आर्थिक बर्षको पहिलो चरणमा तयारीका कुराहरु नै बढी हुन्छन् । योजनाहरुको अध्ययन गर्नुपर्‍यो, सर्भेक्षण गर्नुपर्‍यो, लागत अनुमान तयार गर्नुपर्‍यो, स्वीकृति गर्नुपर्‍यो’ उहाँले भन्नुभयो ‘त्यसको लागि प्रक्रियागत रुपमा नै समय लाग्ने भएकाले २३ प्रतिशत लक्ष्य राखेका थियौं, हामी लक्ष्यको झण्डै झण्डै नजिक पुगेका छौं।’

लक्ष्य अनुसारको खर्च हुन नसक्नुमा प्रक्रियागत कारणहरु रहेको उहाँले बताउनुभयो । आर्थिक बर्ष सुरु भए देखि योजनाहरु तयारी गर्नुपर्ने, त्यसलाई स्वीकृति गर्नुपर्ने र स्रोत सुनिश्चितताका लागि खानेपानी मन्त्रालय हुँदै अर्थ मन्त्रालय सम्म पुग्नुपर्ने कारणले पनि योजना कार्यान्वयनमा ढिला हुने गरेको उहाँको भनाइ छ ।

‘कतिपय योजनाहरु राष्ट्रिय योजना आयोगबाट समेत बहुबर्षीय सहमति लिनुपर्छ । यी प्रक्रियागत कारणले गर्दा सोचे अनुरुप प्रगति गर्न नसकेको हो’ उहाँले भन्नुभयो।

उपमहानिर्देशक श्रेष्ठले आर्थिक बर्षको अन्त्य सम्ममा विनियोजित बजेटको लगभग सत प्रतिशत नै खर्च गर्ने गरी काम भैरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार