घरघरै खानेपानीको धारा जोडिएपछि पञ्चेबाजा सहित भोज भतेर

  वास खबर सम्वाददाता  658 पटक हेरिएको

पर्वत : सदियौंदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी झर्न थालेपछि यहाँको एक दलित बस्तीमा खुसीको सीमा छैन । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कको रयाले बस्तीका दलित समुदाय पानीको धारासँगै धित मरुन्जेल पानी पिउन पाएपछि औधी खुसी भएका हुन् ।

घरघरै खानेपानी आउन थालेपछि हर्षित भएका गाउँलेले पञ्चेबाजा बजाएर भोज समेत खाए । सयौं वर्षदेखिको खानेपानीको समस्या भोग्दै आएका नागरिकले आइतबारदेखि घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन् । जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय माया विकले घरमा चौबिसै घण्टा पानी आउँदा निकै खुसी लागेको बताउनुभयो।

खानेपानीकै लागि गरेको दुःख संर्घषका दिन सम्झिँदै उहाँले भन्नुभयो, ‘गाउँमा खानेपानी नहुँदा कुवाको पानी खान बाध्य थियौं, बर्खामा हिलाम्मे र हिउँदमा सुक्खा हुन्थ्यो, त्यही समस्या सदिऔंदेखि भोग्दै आएका थियौं, अहिले अन्त्य भएको छ ।’ उहाँले खानेपानीको समस्या समाधानका लागि पहल गर्नेप्रति धन्यवाद दिँदै पानीले जीवनमा नयाँ आयाम थपेको बताउनुभयो। महिला स्वाथ्य स्वयम्सेविका समेत रहेकी विकले दूषित र दुर्गन्धित पानीका कारण समुदायमा विभिन्न प्रकोपका रोग फैलिएको बताउँदै अब दूषित पानीका कारण कोही पनि रोगी हुनुपर्ने अवस्था नआउने बताउनुभयो ।

पानी अभावले पिउनेमात्र हैन नुहाउने र लुगा धुने समस्या समाधान भएको स्थानीय धनबहादुर विकले बताउनुभयो। ‘मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौं, यतिमात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैनथे, विवाह जस्ता कार्य गर्दा खोला धाउनुपर्ने अवस्था थियो विकले भन्नुभयो अहिले स्वर्ग जस्तै भएको छ ।’ पानीको जोहो गर्न दैनिक घण्टौं समय बिताउनु पर्दथ्यो, अहिले दिनचर्या नै फेरिएको छ,’ विकले भन्नुभयो।

घरघरमा शुद्ध खानेपानी पुगेपछि रयाले गाउँको सिंगो बस्ती अहिले निकै हर्षित बनेको छ । रयाले बस्तीमा ३६ घरधुरी छन् । दलित समुदायको बाक्लो बस्ती रहेको उक्त ठाउँमा स्थानीयले पुर्खौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थर डाँडाखर्कबासीलाई स्वच्छ र गुणस्तरीय खानेपानी सहज रूपमा उपलब्ध गराउन आर्थिक वर्ष २०७४/०७५ मा विस्तृत सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा २९५ घरधुरीलाई खानेपानीको सेवा पुर्‍याउने उद्देश्य लिइएको थियो । ६ करोड ५५ लाख रुपैयाँको लागत स्टिमेट स्वीकृत गरी १३ वटा स्किममा आर्थरबासीलाई शुद्ध खानेपानी पुर्‍याउन लागिएको खानेपानी कार्यालय बागलुङका शाखा अधिकृत टेकनारायण सुवेदीले जानकारी दिनुभयो। तेह्र स्किममध्ये यो दोस्रो स्किमको रूपमा रायालेडाँडा खानेपानी आयोजनाले ३६ घरधुरीलाई शुद्ध खानेपानी उपलव्ध गराइएको हो ।

विसं २०७९ साल पुस १४ गते आर्थर खानेपानी उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङ बीच ३२ लाख ३५ हजारको लागतमा योजना सम्झौता भएको सुवेदीले बताउनुभयो । गाउँमा सम्झौता बमोजिम खानेपानी धारा निर्माण भएर धारामा पानी झरेपछि आर्थरबासीमा सहज भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले विविध कारणले खानेपानी कार्यालयबाट कुनै पनि रकम भुक्तानी नहुँदा पनि सबैको साथ र सहयोगले समयमै योजना सम्पन्न गरेको बताउनुभयो। एक घर एक धारा कार्यक्रमको संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो। सो अवसरमा जोशीले लामो समयको मेहनत र पहलका कारण आर्थरबासीले शुद्ध खानेपानी पाएकोमा खुसी व्यक्त गर्नुभयो। यो खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।

सोही वडाका वडाध्यक्ष रुद्रमोहन रिमालले आफू निर्वाचित भए लगत्तै गाउँको मुख्य समस्याको विषयमा बढी केन्द्रित भएको बताउँदै पहिलो प्रयास स्वरुप खानेपानी उपलब्ध गराउन सफल भएको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार