संघीय खानेपानीको अनुदानमा घर–घरमै खानेपानी

  वास खबर सम्बादाता  437 पटक हेरिएको

स्याङ्जा : लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भीरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ ।

जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा योजना सम्पन्न भएसँगै यहाँका नागरिक लाभान्वित भएका हुन् ।

बयघारी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना मार्फत सगरमाथा डिलिङ एण्ड कन्स्ट्रक्सन प्रालि मण्डिकाटार काठमाडौँले बनाएको हो । २०७६ असार २९ गते निर्माण कम्पनीले सम्झौता गरेर काम सुरुवात गरेको थियो । दुई वर्षमा काम सक्नु पर्नेमा कोभिडका कारण डेढ वर्ष ढिलाइ गरेर काम सकिएको छ ।

बयरघारी बजारबाट पाँचसय मिटर उचाइमा रहेको करुङमा चार लाख लिटरको रिजर्भ ट्याङकी निर्माण गरी सबै उपभोक्ता खानेपानीको व्यवस्था गरिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले खानेपानी कार्यालयले एक हजार ७७ घरधुरी र नौ हजार ७९५ जनालाई पुग्नेगरी योजना निर्माण गरेको बताउनुभयो ।

उहाँले अहिले यहाँ एक ट्याङ्कीबाट ८४४ घरधुरीका आठ हजार १८ जनालाई खानेपानी उपलब्ध भएको बताउनुभयो । खानेपानी योजना सात करोड २१ लख ८४ हजार ८४ रुपियाँमा खानेपानी निर्माण गरिएको हो ।

खानेपानी योजना सम्पन्न भए पनि उपभोक्तालाई हस्तान्तरण गर्न भने बाँकी रहेको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार