काठमाडौ : सहरमा पैदल मार्गको चौडाइ कम नै छ । भएका मार्गमा पनि बिचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । यी पैदल मार्गका अवरोध हुन् । सहरी सुन्दरता र व्यवस्थापनका बाधक हुन् ।
खण्डीकृत योजनाले पूर्वाधार विकासमा पारेको नकारात्मक प्रभावका बारेमा कुरा गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘परम्परागत रुपमा हुने गरेका पूर्वाधार निर्माणमा रुपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन सक्दैन । यसका लागि तत्काल कन्ट्रोल रुम सञ्चालन हुनेछ ।’
वडा नं. ४ वालुवाटार क्षेत्रमा निर्माण भइरहेको पैदल मार्ग सुधारको अनुगमनका क्रममा उहाँले, विकास समन्वयका लागि माघ २५ गते साझेदार कार्यालयका प्रमुख र प्रतिनिधि बीच सम्पन्न बैठक, त्यहाँ भएको छलफल र गरिएका निर्णयका बारेमा कुरा गर्दै भन्नुभयो, ‘सहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारीहरु भएको कन्ट्रोल रुम हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’

अहिले कन्ट्रोल रुम कार्यान्वयनमा आइनसकेकोले, बालुवाटार क्षेत्रका पैदल मार्गमा दृष्टिविहिन हिँड्दा सोझै ठोकिने विजुलीका पोल, यात्रामा अल्झिने गरी राखिएका खानेपानीका पाइपको संख्या र स्थान एकिन गरी पोललाई स्थानान्तरण गर्न र पाइपलाई तत्काल व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई पत्र पठाउनू । उहाँले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई निर्देशन दिनुभयो । पैदल मार्गलाई अपाङ्गता भएका व्यक्तिले सजिलै उपयोग गर्न सक्ने बनाउन अझै काम गर्नु पर्ने उहाँको भनाइ थियो ।
पोल हटाउन यस अघि पनि वडाबाट पत्राचार भएको हो । तर प्राधिकरणले वडाको कुरा सुनेन । वडा ४ का अध्यक्ष दिनेश महर्जनले भन्नुभयो, ‘पूर्वाधारमा भएका अवरोधले धेरै दुर्घटना भएका छन् । जनधनको क्षति भएको छ । सुविधाका लागि बनाइने पूर्वाधार जनधन क्षतिको कारण बन्नु हुँदैन । यसमा सबै मिलेर काम गर्न जरुरी छ ।’
अनुगमनका क्रममा बालुवाटार चोकदेखि सुवर्ण शम्शेर मार्ग (वालुवाटारदेखि गैरीधारातर्फ) र थिरबम सडक -शितल निबास – बालुवाटार – नक्साल सडक) को पैदल मार्ग अनुगमन गरिएको थियो । ६ करोड २२ लाख रुपैयाँ करसहित लागत रहेको यस योजनामा सडकको दुवैतर्फ गरी ५ दशमलव ७ किलोमिटर पैदल मार्ग निर्माण हुँदैछ ।
यस सडक खण्डको पैदल मार्ग औसतमा १ मिटरका छन् । यसमा पनि बीचमै बिजुलीका पोल छन् । सुविधा वितरण गर्दाका अन्य संरचना पनि छन् । यसकारण सडकमा अपाङ्गतामैत्री निर्माण सामग्रीको प्रयोगले मात्र पूर्णता दिन सक्ने देखिँदैन ।
यसमा गर्न सकिने प्रयास र सुधारका गर्दै जानुपर्छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर बाबुराम भट्टराईले भन्नुभयो, ‘१२ सेन्टिमिटर र्याममा १ सेन्टिमिटर भिरालो हुनुपर्नेमा यसको प्राविधिक अवस्था मिलेको देखिएन । अहिले देखिएका कमजोरीलाई आगामी योजना कार्यान्वयनका लागि सिकाइ बनाउनुपर्छ । पैदल मार्गको न्युनतम चौडाइ कायम हुन सकेको भए अझ राम्रो हुन्थ्यो ।’ उहाँले भन्नुभयो, ‘यसपछिका योजना कार्यान्वयनमा लैजाँदा साइट क्लियर गर्ने काममा ध्यान दिन्छौँ ।’
अनुगमनका क्रममा निर्माण स्थलको व्यवस्थापन, निर्माण सामाग्रीको गुणस्तर, निर्माण विधि अबलम्बन जस्ता सूचकका आधारमा सामाग्री तथा निर्माण स्थल सतहको परीक्षण गरिएको थियो । यस क्रममा ब्लक बिछ्याउने काम सुरु गरिएको, काम हुँदै गरेको र ब्लक बिछ्याइ सकिएको ठाउँमा खनिएको थियो । मेट्रो न्यूजमा यो खबर प्रकाशन भएको छ।
पैदल मार्गको सुधार गर्दा जमिन सतह (सबग्रेड) भन्दा माथि ८ सेन्टिमिटर गिटी र ढुङ्गाको धुलो भएको कम्प्याक्टेड बेस कोर्ष राख्नुपर्छ । कामको प्राविधिक विषयमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले भन्नुभयो, बेस कोर्षमाथि लेवल मिलाउन ५ सेन्टिमिटरको स्टोन डस्ट राख्नुपर्छ । यो ब्लकको सतह मिलाउनका लागि हो । यसमाथि ६ सेन्टिमिटरको रङ्गीन ब्लक राखिनेछन् । यी ब्लकको भारवहन क्षमता ३५ मेट्रिक टन प्रति बर्ग मिटर हो ।
अनुगमनबाट र्यामको भिरालो मिलाउनु पर्ने, कर्भ स्टोन ग्रुमीङ् गर्नुपर्ने, जस्ता सुधार गर्नु पर्ने देखिएको छ । अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजना लगायत विकास साझेदारहरुको संरचना सुधारका लागि तत्काल पत्राचार गरिनेछ ।’ यस अघि गरिएको कामको प्रगतिका विषयमा जानकारी दिँदै उहाँले, गुणस्तर परीक्षणका लागि संकलन गरिएको नमूना परीक्षणको रिपोर्ट आएपछि थप काम हुनेछ ।


453 पटक हेरिएको 

