विद्यालयको खानेपानी तथा सरसफाइ सुधारका लागि शिक्षा कचहरी

  राम प्रसाद चौहान  330 पटक हेरिएको


बर्दिया : गुलरिया नगरपालिकाको १० वटा सामुदायिक विद्यालयहरु बीच ‘शिक्षा कचहरि’ गरिएको छ । विद्यालयको खानेपानी सरसफाइ तथा स्वच्छता र शिक्षाको गुणस्तर सुधारका लागि सेवा प्रदायक तथा लाभग्राही बीचमा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले नगर स्तरीय शिक्षा कचहरी कार्यक्रम गरिएको हो।

गुलरिया नगरपालिका भित्रका १० वटै माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लव, किशोरी क्लव, वाश गेन्स परियोजना र गुलरिया नगरपालिकाका पदाधिकारीहरुको उपस्थितिमा विद्यालय सरसफाइ तथा स्वच्छताका बिषयमा शिक्षा कचहरीमा व्यापक छलफल गरिएको हो ।

शिक्षा कचहरिमा गुणस्तरीय शिक्षा र बालबालिकाको चौतर्फी विकासको लागि सहभागीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाको गुलरिया नगरपालिकाका पदाधिकारीहरुले सम्बधोन गर्नु भएको थियो । नगर उप प्रमुख साबित्रा गौतमले यस प्रकारको कचहरी कार्यक्रमले सेवाग्राही र सेवा प्रदायकहरु बीचमा आ–आफनो उत्तरदायित्व बोध गर्न सचेत तुल्याएको बताउनुभयो ।


नगरपालिकाले समाबेशी खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा पुर्‍याई गुणस्तरीय शिक्षा प्रदान गर्न सधै अगुवाइ गरिरहेको उहाँले बताउनुभयो । विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता वातावरणलाई सकारात्मक बनाएर विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन परियोजनाले काम गरिरहेको छ ।

गुणस्तरीय शिक्षाको लागि कक्षाकोठाको व्यवस्थापन, विद्यालयमा किशोरीहरुले प्रयोग गरेको प्याडको व्यवस्थापन र समाबेशी खानेपानी, सरसफाइ तथा स्वच्छताको व्यवस्था हुनुपर्ने विषय बाल क्लवका पदाधिकारीले उठाएका थिए ।

प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न राखिएको डस्टबिनमा फाल्न र खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापनका लागि विद्यार्थी स्वयमं जिम्मेवार हुनुपर्ने प्रधानाध्यापकहरुले सुझाएका थिए ।

गुलरियाको शिक्षा सरसफाइ तथा स्वच्छताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबै मिलेर लाग्नुपर्ने गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले बताउनुभयो।

गुलरिया नगरपालिकाका विद्यालयहरुको खानेपानी सरसफाइ तथा स्वच्छताको सुधार गरी तीन तारा घोषणा गर्न र राम्रो रिजल्ट ल्याउन वास गेन्स परियोजनाले महत्वपूर्ण योग्दान पुर्‍याई रहेको शिक्षा अधिकृत शतिस यादवले बताउनुभयो । विद्यालयहरुको राम्रो रिजल्ट ल्याउनको लागि योजना बनाएर ल्याउन आग्रह गर्दै उहाँले बजेटको लागि सम्बन्धित निकायसँग पहल गर्ने बताउनुभयो ।


शिक्षा कचहरिमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले सामुहिक प्रयासले विद्यालयलाई राम्रो बनाउन सकिने बताउनुभयो । विद्यालयमा देखिएका समस्या समाधान गर्न नगरपालिका हातेमालो गर्न तयार रहेको प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो ।

कचहरिको खुल्ला छलफलमा विद्यालयका पदाधिकारीले वाश गेन्स परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गरेको काम प्रभावकारी रहेको बताएका छन् । परियोजना सञ्चालन भएदेखि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतामा अमूल परिर्वतन भएको विद्यालयका पदाधिकारीहरुले बताएका छन् ।

परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि निर्माण गरेको पहुँचयुक्त खानेपानी, शौचालय र हात धुने संरचनाको प्रयोग, संरक्षण र व्यवस्थापन गर्ने नेपाल राष्ट्रिय मावि प्रयागपुरका प्रधानाध्यापक यादव रेग्मीले प्रतिवद्धता जनाउनुभयो।

वाटर एड नेपालको आर्थिक सहयोग, बेस संस्था, राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा गुलरिया नगरपालिकाका १० वटा माविमा वास गेन्स परियोजना सञ्चालन भईरहेको छ ।

ती मध्ये यो बर्षमा पाँच वटा माविमा वाश गेन्स परियोजनाले किशोर किशोरी पहुँचयुक्त खानेपानी, शौचालय र हात धुने संंरचनाको निर्माण तथा पुराना संरचनाको मर्मत सम्भार गरिरहेको छ ।

कचहरी कार्यक्रमको उदेश्यको बारेमा वाश गेन्स परियोजनाका कार्यक्रम संयोजक जगदिश चौधरीले प्रकाश पार्नुभएको थियो । महिनावारी स्वच्छता कार्यक्रम संयोजक मन्जु भट्टले भने परियोजनाले गरिरहेको कामहरुको बारेमा जानकारी गराउनुभयो ।

कचहरी कार्यक्रममा गुलरिया नगरपालिकाका १० वटा माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लव, किशोरी क्लवका अध्यक्ष र गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका प्रमुख सतिस यादव र वास गेन्स परियोजनाका प्रतिनिधिहरुको उपस्थिती थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार