सरसफाइ सम्पर्क शिक्षकहरुका लागि क्षमता विकास तथा योजना निर्माण सम्बन्धी अभिमुखीकरण

विद्यालयको अनुगमनमा मेयर आफै सरिक हुने

  वास खबर सम्वाददाता  551 पटक हेरिएको

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका भित्र रहेका विद्यालयहरुको सरसफाइ सम्पर्क शिक्षकहरुलाई क्षमता विकास तथा योजना निर्माण सम्बन्धी अभिमुखीकरण गराईएको छ । चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था पत्ता लगाउने, तारा पद्धतिमा विद्यालयको अवस्थाबारे वास सम्पर्क शिक्षकहरुलाई अवगत गराउने र तारे पद्धति तथा प्राप्तिको प्रक्रियाबारे जानकारी गराई विद्यालय वास योजना निर्माण गर्न तयारी गराउने उद्देश्यले अभिमुखीकरण गरिएको चाँगुनारायण नगरपालिकाको वास शाखा संयोजक सुरेन्द्र लामिछानेले बताउनुभयो ।


विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थालाई तारे पद्धति मापन गर्न विभिन्न १० वटा मापदण्ड तिनका सूचकहरु तोकिएका छन् । विद्यालयमा उपलब्ध भएको खानेपानी, सरसफाइ र स्वच्छताको हिसाबले एक तारा, दुई तारा वा तीन तारा मध्ये कुन स्तरमा छ भनी विद्यालय आफैले पनि स्वमूल्याङ्कन गर्न सक्छन् ।

विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थाबारे ट्रियाङ्गल सोलुसन प्रा.लि.ले गरेको अध्ययनले माध्यमिक तहमा भन्दा आधारभूत तहको विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता सुविधा कम रहेको देखाएको छ ।


ट्रियाङ्गल सोलुसन प्रा.लि.ले गरेको अध्ययन प्रतिवेदन प्रस्तुतीकरण गर्दै प्रा.लि.की कार्यकारी निर्देशक यशोदा श्रेष्ठले सरसफाइमा मात्र हेर्ने हो भने १५ प्रतिशत विद्यालयमा तीन तारा घोषणाका लागि आवश्यक सूचक पूरा भएको पाईएको बताउनुभयो । उहाँले ९४ प्रतिशत विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था भए पनि ९१ प्रतिशत शौचालय मात्र सुचारु रहेको पाईएको बताउनुभयो ।


अध्ययनले ९४ प्रतिशत विद्यालयको शौचालयमा पानीको व्यवस्था भएको र बाँकी ६ प्रतिशत विद्यालयको शौचालय आवश्यक पानीको प्रबन्ध नभएको देखाएको छ ।
यस्तै ६२ प्रतिशत विद्यालयमा अपाङ्गतामैत्री शौचालयको व्यवस्था भएपनि कतिपय शौचालय अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयोग्य हुने गरी निर्माण नभएको पाईएको छ ।

१३ प्रतिशत विद्यालयले स्यानिटरी प्याड जलाउने गरेको अध्ययनले देखाएको छ ।

ट्रियाङ्गल सोलुसन प्रा.लि.ले सन् २०२२ को जुनमा चाँगुनारायण नगरपालिका भित्रका २० वटा आधारभूत विद्यालय र १४ वटा माध्यमिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थाबारे वृहत अध्ययन गरेको थियो ।

विद्यालयको अनुगमनमा मेयर आफै सरिक हुने

अभिमुखीकरण कार्यक्रमको उदघाटन सत्रमा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले एक महिना भित्र विद्यालयहरुको अनुगमन गरिने र त्यसमा आफू पनि सरिक हुने बताउनुभयो । उहाँले वास सम्पर्क शिक्षकहरुले सिकेको ज्ञान आफूमा मात्र सीमित नराखी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको समेत सहयोग लिएर स्कुल वास योजना निर्माण गर्न आग्रह गर्नुभयो । ‘अबको एक महिनाभित्र सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन हुनेछ, त्यो अनुगमन तर्साउन वा कालोसूचीमा राख्न होइन’ उहाँले भन्नुभयो ।


उहाँले सबै विद्यालयलाई समान तरिकाले विकास गराउने लक्ष्य भएपनि कतै केही न केही अपुग भएको बताउनुभयो । सबै विद्यालयलाई तीन तारामा पुग्न सफलता मिलोस भन्ने कामना गर्दै उहाँले भन्नुभयो ‘विद्यालयलाई नीत तारा बनाउने कार्यका लागि के आवश्यक पर्छ, सहयोगका लागि नगरपालिका तत्पर छ, यसका लागि नगरपालिकामा आउनुस्’ उहाँले भन्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा वास शाखा संयोजक सुरेन्द्र लामिछानेले खानेपानी, सरसफाइ र स्वच्छतामा तीन तारा प्राप्त विद्यालय बनाउन आवश्यक वास योजना निर्माण गर्ने बारेमा सहजीकरण गर्नुभयो । उहाँले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता स्तर सुधार गरी एक तारामा मात्र सीमित भएको विद्यालयलाई दुई तारामा र दुई तारा प्राप्त गरेको विद्यालयलाई तीन तारामा पु¥याउने नगरपालिकाको लक्ष्य अनुसार विद्यालयलाई पनि सोही अनुसार योजना बनाएर काम गर्न आग्रह गर्नुभयो ।


विद्यालयले पेश गर्ने विद्यालय सुधार योजना (SIP) मा समेत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलापलाई समेट्न पनि उहाँले आग्रह गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा विश्वास इनोभेसन सेन्टरका अभियन्ता हिम्मत सिंह लेकालीले विद्यालय स्वास्थ्य सचेतना अभियानका बारेमा प्रकाश पार्दै विद्यालयमा स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छतामा सुधार ल्याउनुपर्ने निचोड प्रस्तुत गर्नुभयो ।


अभिमुखीकरण कार्यक्रमको समापन गर्दै चाँगुनारायण नगरपालिकाको वन, वातावरण तथा विपद समितिका संयोजक समेत रहेका वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानले देशको भविश्यका कर्णधार बालबालिकाहरुलाई अहिले देखि खानेपानी, सरसफाइ र स्वच्छताको महत्व दर्शाउनुपर्ने बताउनुभयो ।

उहाँले हरेक शुक्रबार वडा नं. २ को विभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम हुँदै आएको र यसले मानिसहरुमा सरसफाइ प्रतिको धारणा परिवर्तन र सचेतना अभिवृद्धि गर्न सघाउ पुगेको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाले सबै वडामा एक एक जना वास सहजकर्ता नियुक्त गरी पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । यस अभियान अन्तर्गत नै विद्यालय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन तथा पुनर्गठन गरी क्षमता अभिवृद्धि समेत गर्दै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार