
काठमाडौ : सुरक्षित रुपमा व्यवस्थापन गरिएको स्थलगत सरसफाइ प्रणाली (अनसाईट स्यानिटेसन सिस्टम) बारे नयाँ बहस सुरु भएको छ । सेप्टिक ट्याङ्क भरिएर खाली नगर्दासम्म सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ मानिदै आएको बिषयमा वहस सुरु भएको हो ।
‘सुरक्षित रुपमा व्यवस्थापन गरिएको स्थलगत सरसफाइ’ बारे राजधानीमा आयोजित गोष्ठीका सहभागीहरुले यस बिषयमा प्रश्न गरेका हुन् । नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक सावित्री त्रिपाठीले सेप्टिक ट्याङ्की खाली नगर्दैमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ भन्न नमिल्ने तर्क पेश गर्नुभयो । ‘सेप्टिक ट्याङ्क भित्र जम्मा भएको मानव मलमूत्रले भूमिगत पानी प्रदुषण भईरहेको छ, यो अध्ययनले समेत देखाएको छ, अनि सेप्टिक ट्याङ्की भरिएको छैन, खाली गरिएको छैन भनेर सुरक्षित भन्न मिल्छ र ?’ उहाँको तर्क थियो ।

‘दिसाजन्य लेदोले बर्षौसम्म सेप्टिक ट्याङ्क भरिएन, त्यस भित्रको लेदो कहाँ गयो त ? पक्कै भित्रै कतै रसाएर गएको छ, सेप्टिक ट्याङ्कको पिंँध ढलान नगरेपछि त्यो अन्ततः पानीकै स्रोतमा मिसिएको छ। अनि कसरी सुरक्षित हुन्छ ? उहाँले प्रति प्रश्न गर्नुभयो ।
प्राध्यापक सावित्री त्रिपाठीले सेप्टिक ट्याङ्कको मापदण्ड पूरा गरेर निर्माण गरिएको भए मात्र खाली नगर्दासम्म सुरक्षित मान्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले स्थलगत सरसफाइको उपयुक्त तरिकाले व्यवस्थापन हुन नसक्दा भूमिगत खानेपानीका स्रोतहरु कसरी प्रदुषण हुन्छ सक्छ भन्ने बारेमा बर्दियाको गुलरियामा गरिएको एक अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै खानेपानीको ह्याण्ड पम्प र शौचालयको सेप्टिक ट्याङ्कको दुरी व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभयो ।
‘विश्व स्वास्थ्य संगठनले सेप्टिक ट्याङ्क र ह्याण्ड पम्पको दुरी कम्तीमा ३० मिटर हुनुपर्ने भन्ने प्रावधान राखेको छ, तर यहाँ जग्गाको अभाव लगायत कारणले सेप्टिक ट्याङ्क र पानीको स्रोत बीचको दुरीको खासै ख्याल गरिएको पाईएन‘ उहाँले भन्नुभयो ‘जसले गर्दा खानेपानीमा इकोली जस्ता जैविक प्रदुषण भेटियो ।
गुलरियामा दिसाजन्य लेदो प्रशोधन केन्द्र भएपनि ८ प्रतिशत जनसंख्याको दिसाजन्य लेदो मात्र त्यहाँ लगेर प्रशोधन गर्ने गरिएको र बाँकी ९२ प्रतिशतले असुरक्षित तरिकाले विसर्जन गर्दै आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त शौचालय नभएको (एक घर परिवारका लागि एउटा), फ्लस हुने अर्थात पानीले पखाल्ने सुविधा भएको, सेप्टिक ट्याङ्क नभरिएको (खाली नगरेको), दुई खाल्डे शौचालय भएको र खाली गरे पनि ट्रिटमेन्ट प्लाण्टसम्म पुर्याईदै आएको छ भने सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ मान्न सकिने खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा.रजित ओझाले बताउनुभयो ।

उक्त परिभाषा अनुसार नेपालमा स्थलगत सरसफाइ अपनाउँदै आएका मध्ये ६८ प्रतिशत जनसंख्याले सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ सुविधा पाएका छन् । नेपालमा स्थलगत सरसफाइको अवस्थाबारे प्रस्तुतीकरण गर्दै यु.एन.ह्याबिट्याटका नेसनल प्रोफेश्नल अफिसर (वास) सुधा श्रेष्ठले ८५ प्रतिशत जनसंख्याले स्थलगत (अनसाईट) सरसफाइ अपनाउँदै आएको र ती मध्ये १० प्रतिशत असुरक्षित तरिकाले विसर्जन हुँदै आएको बताउनुभयो ।

जनगणना २०७८ को तथ्याङ्क अनुसार ५५ प्रतिशत जनसंख्याको घरमा सेप्टिक ट्याङ्क सहितको फ्लस शौचालय उपलब्ध छ । तथ्याङ्कले करिब १० प्रतिशत नागरिकको शौचालय सार्वजनिक ढल प्रणालीमा जोडिएको देखाएको छ । अझै ३० प्रतिशत नागकिको घरमा खाल्डे चर्पी रहेको, ०.५ प्रतिशतले सार्वजनिक शौचालयको भर पर्नुपरेको र ४.५ प्रतिशतले खुल्ला ठाउँमै दिसापिसाब गर्दै आएको जनगणनाको तथ्याङ्कले देखाएको छ ।
प्रोफेस्नल अफिसर श्रेष्ठले नेपालमा २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु निर्माण भएपनि २ वटा मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका सहभागीले हिमाल, पहाड र तराईमा एउटै प्रविधि प्रयोगमा आउन नसक्ने र यसका लागि बेग्ला बेग्लै प्रविधिको विकल्प दिनुपर्ने बताएका छन् । हिमाली भेगको शौचालयमा सेप्टिक ट्याङ्क भनेर छुट्टै भण्डारण गर्ने संरचना नबनाईने भएकाले त्यसलाई खाली गरेर ढुवानी गरी प्रशोधन गर्नुपर्ने मात्रा एकदमै न्यून हुने कार्यक्रममा सहभागी 500B सोलुसन्सका डा. मिङमा शेर्पाले बताउनुभयो । उहाँले हिमाली भेगका वस्तीहरु छरिएर रहने, भूमिको समस्या नहुने र सोतर पत्करको प्रयोग गरी मल बनाईने भएकाले पनि दिसाजन्य लेदोलाई अफसाईटमा लगेर ट्रिटमेन्ट गरिहनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

कार्यक्रमको समापन सत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले स्थलगत सरसफाइको वर्तमान अभ्यास उपयुक्त रहे/नरहेको भन्ने बारे अध्ययन हुनुपर्ने बताउनुभयो। ‘वर्तमान अभ्यासले भूमिगत पानीका स्रोतलाई प्रदुषण गराएको छ कि छैन ? हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्रमा अध्ययन हुनुपर्छ’ उहाँले भन्नुभयो ।
सुरक्षित रुपमा व्यवस्थापन गरिएको स्थलगत सरसफाइ बारेमा यस्ता छलफल, गोष्ठीबाट नै उपयुक्त प्रविधिका बारेमा दिशा निर्देश हुने र यसमा युनिसेफ लगायत संस्थाहरुको पहलकदमीका लागि धन्यबाद व्यक्त गर्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग र युनिसेफले संयुक्त रुपमा आयोजना गरेको गोष्ठीमा युनिसेफ हेडक्वार्टरका सिनियर एडभाइजर टम स्लामकरले विश्वमा स्थलगत सरसफाइको अभ्यास र सिकाईहरुबारे प्रस्तुतीकरण गर्नुभयो । युनिसेफ नेपालका वास प्रमुख महम्मद इरफान साईद अल्राईले नेपालमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको अनसाईट स्यानिटेस सिस्टम प्रोजेक्टको बारेमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभभयो।

युनिसेफको तर्फबाट SMOSS का नेसनल कन्सल्टेण्ट प्रज्वल श्रेष्ठले गोष्ठीमा उठेका छलफलको निष्कर्ष प्रस्तुत गर्दै यस प्रति समान धारणा र समान बुझाइको आवश्यकता रहेको बताउनुभयो । बहसबाटै निर्क्यौल निस्कने र यस प्रकारका कार्यक्रमहरुमा खुलेर छलफल हुनु सकारात्मक बिषय भएको उहाँको भनाइ थियो।

उहाँले एनवासमा खानेपानीको तुलनामा सरसफाइका तथ्याङ्कहरु कम रहेको र सरसफाइका सुक्ष्म डाटाहरु संकलन गर्नका लागि प्रश्नावलीहरु कसरी थप गर्न सकिन्छ भन्ने बारेमा भावी दिनमा छलफलहरु हुन आवश्यक रहेको बताउनुभयो ।


1147 पटक हेरिएको 

