
भक्तपुर : चाँगुनारयण नगरपालिकामा निर्माण गर्न लागेको दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिपीआर माथि प्रारम्भिक छलफल गरिएको छ । परामर्शदाताको रुपमा काम गरिरहेको संस्था ईको कन्सर्न प्रा. लि. ले पेश गरेको प्रारम्भिक डिपीआर माथि छलफल गरिएको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो।
नगरपालिकाले गौरबको आयोजना मानेको यस आयोजनाको प्रारम्भिक प्रतिवेदनमा नगर कार्यपालिकाका सदस्यहरुले सल्लाह, सुझाब तथा धारणा व्यक्त गर्नुभएको छ।
‘नगरपालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले यो आयोजना गौरबको आयोजना भएकाले सबैले यसमा ध्यान केन्द्रित गरेर पहल गर्ने धारणा व्यक्त गर्नुभयो’ वास संयोजक लामिछानेले भन्नुभयो ।
छलफल कार्यक्रममा 500B सोलुसन्स प्रा. लि.का कार्यकारी निर्देशक मिङ्मा शेर्पाले आयोजनालाई कार्यान्वयन गर्न सहयोगी र साझेदार संस्थाहरुको बीचमा छिट्टै बैठक बसी अगाडि बढ्नुपर्ने पर्ने धारणा राख्नुभयो।
500B सोलुसन्सको सहकार्यमा विभिन्न संघसंस्था र नगरपालिका समेतको लगानीमा वडा नं. ७ र ८ को सिमानामा अवस्थित घट्टे खोलामा रहेको सार्वजनिक जग्गामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिन लागेको हो । प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि दिगो विकास लक्ष्य ६ प्राप्तिमा सघाउ पुग्नेछ ।

दिगो बिकास लक्ष्य ६.२ मा सन् २०३० सम्ममा सबैका लागि प्रर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने उल्लेख छ । यस क्रममा, महिला, बालबालिका, किशोरी तथा अन्य संकटासन्न अवस्थामा रहेकाहरुको आवश्यकतालाई बिशेष ध्यान दिने भनिएको छ ।
उक्त लक्ष्य हासिल गर्न चाँगुनारायण नगरपालिकामा नगरव्यापी समाबेशी सरसफाइ योजना (Citywide Inclusive Sanitation-Plan) समेत तयार भई सकेको छ । यसको कार्यान्वयनको लागि चाँगुनारायण नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी कार्यबिधी–२०८० समेत स्वीकृत भई सकेको छ ।
डिपीआर माथिको प्रारम्भिक छलफल पछि सरोकारवालाले नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न लागेको स्थलको अवलोकन समेत गरेका छन् ।



770 पटक हेरिएको 

