
काठमाडौं : सप्तरीको खडक नगरपालिकाले सेप्टिक ट्याङ्क खाली गर्ने क्रममा सफाइ कर्मचारीले मास्क, पञ्जा बुटजस्ता सुरक्षा सामग्री प्रयोग नगरेमा सेवा प्रदायक संस्थालाई एक हजार देखि दुई हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। नगरपालिकाद्वारा जारी गरिएको मानव मलमूत्रजन्य फोहर व्यवस्थापन ऐन, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
ऐनले नगरपालिका क्षेत्रभित्र मानव मलमूत्रजन्य फोहर व्यवस्थापन सम्बन्धी सेवा दिन चाहने व्यक्ति वा संगठित संस्थाले नगरपालिकाले तोके बमोजिम अनुमति लिनुपर्ने र त्यस्तो अनुमति नलिई अदक्ष व्यक्ति लगाएको पाईएमा समेत सजाय गर्ने व्यवस्था गरेको छ ।
कुन कुन अवस्थामा हुन सक्छ सजाय ?
मानव मलमूत्रजन्य फोहर व्यवस्थापन ऐन, २०७८ को दफा २५ मा जरिवाना तथा सजाय सम्बन्धी व्यवस्था गरेको छ । देहायको अवस्थामा मानव मलमूत्रजन्य फोहर व्यवस्थापन ऐनका व्यवस्था उल्लंघन गरेको मानिने उल्लेख छ ।
(क) मानव मलमूत्रजन्य फोहर सफा गर्नका लागि इजाजत नपाएका अदक्ष व्यक्ति लगाएको अवस्थामा,
(ख) मानव मलमूत्रजन्य फोहरलाई ढल, खहरे, खोलानाला, नदी, खुला क्षेत्र वा सार्वजनिक स्थलमा निष्काशन वा बिसर्जन गरेमा,
(ग) खुल्ला रुपमा दिसापिसाबको अभ्यास गरेमा,
(घ) सेवाप्रदायकले सेप्टिक ट्यांकको फोहर/लेदो पदार्थलाई यो ऐन विपरीत बिसर्जन गरेमा,
(ङ) सेवाप्रदायकको तर्फबाट सरसफाइ सेवा दिने काममा संलग्न जनशक्तिले मास्क, पञ्जा, बुटजस्ता सुरक्षा सामग्री प्रयोग नगरेमा ।
(च) सेप्टिक ट्यांक सफा गर्ने क्रममा आंशिक रुपमा मात्र गरेमा वा पर्याप्त मात्रामा सफा नगरेमा वा उचित तवरले नगरेमा वा ढुवानीका क्रममा पर्याप्त सावधानी एवम्
सुरक्षा प्रबन्ध नगरेमा,
(छ) यो ऐन बमोजिम तोकिएको अवधिभित्र सेप्टिक ट्यांक/संरचना सफा नगराएमा,
(ज) यो ऐन अन्तर्गतको सेवा सञ्चालनलाई रोक्ने गरी बाधा व्यवधान अवरोध खडा गरे गराएमा ।

उल्लेखित कार्यहरु गरे गराईएको पाएमा देहाय बमोजिम जरिवाना हुने ऐनमा उल्लेख छ ।
(क) उपदफा (१) (क) बमोजिमको कार्य गरेमा त्यस्तो घरधुरी, व्यक्ति वा संस्था त्यसरी लगाउनेलाई रु. एकहजार रुपैयाँसम्म जरिवाना,
(ख) उपदफा (१)(ख) बमोजिमको कार्य गरेमा त्यस्तो कार्य गर्ने गराउनेलाई देहायको जरिवाना हुने छः
(अ) घरधुरीको हकमा ५०० देखि १ हजार रुपैयाँसम्म,
(आ) व्यापारिक संघसंस्था वा निकायको हकमा २५०० देखि ५ हजार रुपैयाँसम्म,
(इ) सेवाप्रदायक हकमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म वा इजाजत लिँदाको सर्तअनुसार ।
(ग) उपदफा (१)(ग) बमोजिमको कार्य गरेमा त्यस्तो कार्य गर्ने गराउनेलाई देहायको
जरिवाना हुने छः
(अ) व्यक्तिको हकमा १०० देखि ५०० रुपैयाँसम्म,
(आ) घरधुरीको हकमा १ हजारदेखि २ हजार रुपैयाँसम्म,
(इ) व्यापारिक संस्थान वा निकायको हकमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म ।
(घ) उपदफा (१) (घ) बमोजिमको कार्य गरेमा सेवाप्रदायकलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना र सफा गर्न लाग्ने खर्च,
(ङ) उपदफा (१) (ङ) बमोजिमको कार्य गरेमा सेवाप्रदायकलाई १ हजारदेखि २ हजार रुपैयाँसम्म,
(च) उपदफा (१) (च) बमोजिमको कार्य गरेमा सेवाप्रदायकलाई ५ हजारदेखि ७ हजार रुपैयाँसम्म,
(छ) उपदफा (१) (छ) बमोजिमको काम नगरेमा ५ हजार रुपैयाँसम्म जरिवाना,
(ज) उपदफा (१) (ज) बमोजिमका काम गरेमा ३ देखि ५ हजार रुपैयाँसम्म जरिवाना,
(झ) एउटै कसुर पटकपटक दोहोराएमा पटकै पिच्छै दोब्बर जरिवाना हुनेछ ।


657 पटक हेरिएको 

