
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नं. ६ स्थित श्री जनता माध्यमिक बिद्यालयमा विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण गरिएको छ । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, बाल स्वच्छता क्लब, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिलाई यसबारे अभिमुखीकरण गरिएको सोसेक नेपालका सामाजिक सहजकर्ता निर्मला नेपालीले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयलाई तारा पद्धति अनुसार तीन तारे विद्यालय बनाउन पूरा गर्नुपर्ने मापदण्ड र सूचकका बिषयमा छलफल गरिएको र तीन ताराको स्तरमा पुर्याउन कार्ययोजना समेत बनाएको सहजकर्ता नेपालीले बताउनुभयो । विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधि २०७४ संशोधित २०७६ ले विद्यालयलाई खानेपानी, सरसफाइ र स्वच्छतामा तारा पद्धतिमा लैजानुपर्ने व्यवस्था गरेको छ ।

तारा पद्धति भन्नाले विद्यालयमा विद्यमान खानेपानी र सरसफाइका सुविधा, स्वच्छता अभ्यासको अवस्था, संस्थागत सुदृढीकरण र दिगोपनासँग सम्बन्धित तोकिएको सूचकहरूको आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिशमा गाउँपालिका वा नगरपालिकाबाट तोकिएको समितिले प्रमाणीकरण गरे अनुसार एक, दुई वा तीन तारामा वर्गीकरण गर्री खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वनलाई स्तरीकृत गर्दै लैजाने पद्धतिलाई जनाउँछ ।
हेर्नुहोस् कार्यविधि :
https://washkhabar.com/np/wp-content/uploads/2024/03/School-WASH.pdf
हेल्भेटास नेपालले स्थानीय साझेदार संघसंस्था मार्फत दैलेख, सुर्खेत, अछाम, जाजरकोट लगायत जिल्लाहरुमा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत सुरक्षित खानेपानी र सरसफाइमा स्थानीय बासिन्दाको पहुँच अभिवृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।


1334 पटक हेरिएको 

