नेपालगन्ज : नेपालगन्ज उपमहानगरले जथाभावी फोहोर फालेको अभियोगमा ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बार लाई जरिवाना तिराएको छ।
सबै व्यापारिक प्रतिष्ठानले सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम पाँच पाँच हजार जरिवाना तिराईएको हो । पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई भने सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेर सडक अवरुद्ध गरे बापत पाँच हजार रुपियाँ जरिवाना गरिएको उपमहानगरका मेयर प्रशान्त विष्टले बताउनुभयो।
पटक–पटकको आग्रह र सूचनाको बेवास्ता गर्दै सडकमा जथाभाबी फोहोर फाल्ने र निर्माण सामग्री राखेर सडक अवरुद्ध गर्ने क्रम नरोकिएपछि जनही पाँच हजार रुपियाँ नगद जरिवाना गरिएको मेयर विष्टले बताउनुभयो ।
यसअघि उपमहानगरका विभिन्न स्थानका पसल–पसलमा पुगेर मेयर विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, होटल व्यवसायी सङ्घ लगायतको सर्वपक्षीय टोलीले पटक–पटक सडकमा जथाभाबी फोहोर नफाल्न आग्रह गर्दै त्यसो गरिएको पाइएमा जरिवाना गर्ने जानकारी गराएको थियो ।
हाल आएर सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गर्न सुरु गरिएको जनाइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सर्वसाधारणमा चेतना जगाउन विभिन्न प्रकारका सचेतनासम्बन्धी अभियान समेत सञ्चालन गरेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ मा पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।
नेपालगन्जका उपमेयर कमरुद्दीन राईले जथाभाबी फोहोर नफाल्न र सडकमा निर्माण सामग्री नथुपार्न पुनः आग्रह गर्दै त्यस्तो गरिएको पाइएमा जोसुकै भए पनि जरिवाना गरिने बताउनुभयो ।