
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा फोहोरपानी प्रशोधन सहितको ढल निर्माण सुरु भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड रूपैयाँ लागतमा बेलौरीको बजार क्षेत्रमा प्रशोधन सहितको ढल निर्माण कार्य सुरु भएको हो।
बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो। ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको उहाँले बताउनुभयो। ‘ढल निर्माण पछि त्यसमा पाइप राख्छौँ, ढलको पानी पाइप मार्फत प्रशोधन केन्द्र सम्म पुर्याउछौं’ उहाँले भन्नुभयो। बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उहाँले बताउनुभयो।
प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उहाँको भनाइ छ। ‘ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ’ उहाँले भन्नुभयो।


548 पटक हेरिएको 

