दिगो विकास लक्ष्य हासिल गर्न बर्षातको पानी संकलन र व्यवस्थापन आवश्यक : मन्त्री बस्नेत

  वास खबर सम्वाददाता  255 पटक हेरिएको

काठमाडौं : ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी संकलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनु भएको छ ।

आजदेखि ललितपुरमा सुरु ‘वर्षातको पानी संकलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो “जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी संकलन र व्यवस्थापन आवश्यक छ ।” उहाँले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताउनुभयो।

बढ्दै गएको पानीको अभाव र अधिक बर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्ट वास सोलुसन्स प्रा।लि।र र एसएनभी नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहयोग र समन्वयमा सम्मेलनको आयोजना गरेको हो।

सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरुबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । ती कार्यपत्रहरु बर्षातको पानी संकलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा बर्षातको पानीको उपयोगिता लगायत बिषयमा केन्द्रित हुनेछन्। यस्तै बर्षाको पानी संकलनका क्षेत्रमा विकसित नयाँ प्रविधि र समाधानहरु, पानीको गुणस्तर र जनस्वास्थ्य, अनुसन्धान र विकास, साझेदारी समन्वय निर्माण बर्षाको पानी संकलन र कृषिका साथै बर्षाको पानी र पानीजन्य प्रकोपका सेरोफेरोमा रही विषय विज्ञहरुद्धारा अनुसन्धानमा आधारित कार्यपत्रहरु पेश गरिनेछ ।

सम्मेलनमा बर्षातको पानी संकलन तथा आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विज्ञ र वैज्ञानिकहरु, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थीहरु, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगीहरु, आम नागरिकलाई खानेपानी र सिंचाईका लागि पानी आपूर्ति गर्न अग्रसर जनप्रतिनिधिहरु, खानेपानी तथा सिंचाई उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार