वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

  वास खबर सम्वाददाता  601 पटक हेरिएको
🔗
44
Shares

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्र रहेको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको लागि एक दिने वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

USAID स्वच्छ हावा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिकाको नेतृत्व, FHI360 र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) सँगको सहकार्यमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यशाला आयोजना गरिएको हो।

वन डढेलो नियन्त्रण र व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समितिहरुको भूमिका र जिम्मेवारीको विषयमा कार्यशालामा वृहत छलफल भएको चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाइ र स्वच्छता शाखाका प्रमुख सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो।

कार्यशालामा FHI360 को प्राविधिक सल्लाहकार भोला भट्टराईले सहजीकरण गर्दै वन डढेलो नियन्त्रणको लागि सुरक्षात्मक तथा प्रतिकारात्मक उपायहरु अबलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रणको लागि प्रयोगात्मक तालिम समेत लिनुपर्ने बिषयमा जोड दिनुभयो ।

वनबाट प्राप्त हुने घाँस, पात पतिङ्गर, झाडी आदि वस्तुहरुलाई बिकेट, प्यालेट लगायतको वस्तु निर्माणमा पठाउन सकिने र यसबाट सामुदायिक वनलाई आय आर्जन समेत हुने बिषयमा समेत प्रकाश पार्नुभयो। भक्तपुरको साँगामा रहेको हिमालयन नेचुरल नामक संस्थाले उक्त काम गदै आईरहेको समेत उहाँले जानकारी दिनु भयो ।

कार्यशाला शुभारम्भको क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सामुदायिक वन र नगरपालिकाको सम्बन्ध भनेको नङ्ग र मासुको जस्तै भएकाले सामुदायिक वन उपभोक्ता समितिहरु नगरपालिकाको सरोकारवाला निकाय भएको बताउनुभयो। सामुदायिक वन उपभोक्ता समितिहरुले नियमित गर्नुपर्ने प्रक्रियााहरु बार्षिक साधारण सभा, नियमित बैठक बस्ने साथै आवश्यक कामको लागि कार्ययोजना सहित आएमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्नको लागि तयार रहेको उहाँले बताउनुभयो ।

‘नगरपालिका सिङ्गो शरिर हो भने नगरपालिकाको मन, मुटु, मष्तिस्क र महत्वपूर्ण अङ्गहरु नगर क्षेत्रभित्र क्रियाशील सम्पूर्ण सरोकारवाला संघ संस्था र निकायहरु हुन’ उहाँले भन्नुभयो।

सामुदायिक वनको संस्थागत क्षमता विकासको लागि गर्न सकिने कार्यहरुको बिषयमा कार्य योजना निर्माणको लागि एन्फोका परियोजना संयोजक सृजना शाक्यले कार्यशालामा सहजीकरण गर्नु भएको थियो । सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारीहरुले कार्य योजना निर्माणको क्रममा केही महत्वपूर्ण विषयमा जोड दिनु भएको थियो ।

जसमा वडा, नगरपालिका र डिभिजन वन कार्यालयको सहयोगमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न सकिने, बार्षिक रुपमा योजना तयार गरी पेश गर्ने, वन भित्र अग्नि रेखाङ्कन गर्ने, वन डढेलो सम्बन्धी आधारभूत र प्राविधिक तालिमहरु सञ्चालन गर्ने, वन सफाइ अभियान सञ्चालन गर्ने, स्वयंसेवक समिति निर्माण गर्ने, वनमा आय आर्जनको लागि नर्सरी स्थापना गर्ने, वन भित्र रहेको सिमसार क्षेत्रको संरक्षण गर्ने, सुरक्षालाई पहिलो प्राथमिकतामा राखी वन डढेलो नियन्त्रकहरुको लागि बीमाको व्यवस्था गर्नुपर्ने, नगर क्षेत्र भित्र रहेको वनहरुको नगरस्तरीय प्रोफाइल तयार गर्ने, वडा र समुदाय स्तरमा वन डढेलो नियन्त्रणको लागि आवश्यक उपकरणहरुको व्यवस्थापन गर्ने लगायत वन डढेलोबाट क्षति पु¥याउने संभावित क्षेत्र समेतको पहिचान गर्न सहभागीहरुबाट सामुदायिक वन क्षेत्रको सामाजिक नक्शा समेत तयार गरिएको थियो । साथै सहभागिहरुको तर्फबाट सल्लाह सुझाबहरु समेत प्रदान गर्नु भएको थियो ।

कार्यक्रम समापनको क्रममा नगर कार्यपालिका सदस्य कमला भारती गिरीले वन सफाइ अभियानमा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार अन्तर्गत कार्यरत व्यक्तिहरुलाई समेत वन सफाइ अभियानमा परिचालन गर्न सकिने बताउनुभयो। औपचारिक रुपमा नगरपालिकाले सामुदायिक वन उपभोक्ता समितिहरुको लागि आयोजना गरेको यो पहिलो कार्यक्रम हो ।

देशभरमा सामुदायिक वन उपभोक्ता समितिहरु २२ हजार ६ सय वटा रहेकोमा चाँगुनारायण नगरपालिकामा मात्र २७ वटा सामुदायिक वन उपभोक्ता समितिहरु रहेका छन् । वन ऐन २०७६ अनुसार वनमा क्षति पु¥याउनेलाई ३ वर्ष कैद तथा ६० हजार रुपैयाँ जरिवाना लगाउन सक्ने प्रावधान समेत रहेको छ ।

काठमाडौं उपत्यकामा विद्यमान वायु प्रदुषण सम्बन्धी विविध पक्षमा सुधार गर्ने उद्देश्य लिएर काठमाडौंका विभिन्न नगरपालिकामा स्वच्छ हावा परियोजना सञ्चालन भैरहेको छ। विगत केही वर्ष यता बढ्न थालेको काठमाण्डौं उपत्यकाको वायु प्रदुषणले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार काठमाण्डौं उपत्यकामा धुलोका कणहरुको बार्षिक औसत घनत्व विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिकामा उल्लेख भएको भन्दा दश गुणा उच्च रहेको देखिन्छ ।

मूलत: यातायातको साधन, फोहोर तथा खेतको सुकेको बोट जलाउने, ईट्टा भट्टा, कालकारखानाबाट निश्किएको धुवा, बाटो र निर्माण सामग्रीहरुबाट निस्किएको धुलो, वन डढेलो, कृषिमा विषादीहरुको प्रयोग आदिलाई वायु प्रदुषण कारणको रुपमा लिईन्छ ।

नेपालको तथ्याङ्क अनुसार वायु प्रदुषणले जनस्वास्थ्यमा अत्यधिक असर पारिरहेको छ जस अन्तर्गत बढ्दो फोक्सोको क्यान्सर र दीर्घकालीन स्वास प्रस्वास सम्बन्धी रोगहरु मुख्य रुपमा रहेका छन् । द स्टेट अफ ग्लोबल एअर २०२० ले सन् २०१९ मा वायु प्रदुषणका कारण अनुमानित ४२,१०० जनाको ज्यान गएको छ । जुन सन् २०१५ (वि.स. २०७२) को महाभुकम्प भन्दा बढी छ । यसका साथै वायु प्रदुषण धेरै भएको क्षेत्रहरुमा बसोबास गर्ने कोभिड–१९ का विरामीहरुको मृत्यु हुने सम्भावना पनि उच्च रहेको प्रारम्भिक अध्ययनहरुले देखाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार